NRNA पोल्याण्डको सूचना: कानुनी कागजात बिना काम नगर्नुहोस्

पोल्याण्डमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि पछिल्लो समय चिन्ताजनक अवस्था सिर्जना भएको छ। कागजात अपूर्ण, Work Permit उल्लङ्घन तथा गैरकानुनी रूपमा रोजगारीमा संलग्न भएको कारण नेपालीहरू डिपोर्ट हुने घटनाहरू उल्लेख्य रूपमा बढ्दै गएको गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, पोल्याण्डले जनाएको छ।

यस गम्भीर अवस्थालाई मध्यनजर गर्दै संघले पोल्याण्डमा रहेका सम्पूर्ण नेपाली समुदायलाई आफ्नो बसाइ र रोजगारी पूर्ण रूपमा कानुनी दायराभित्र सुरक्षित राख्न आवश्यक जानकारीसहित महत्वपूर्ण सूचना सार्वजनिक गरेको हो।

संघका अनुसार पोल्याण्डमा रोजगारीका आधारमा प्रदान गरिने Temporary Residence Card (TRC) कुनै एक निश्चित कम्पनी (Employer) को Work Permit को आधारमा जारी हुने गर्दछ। यस्तो अवस्थामा उक्त TRC ले सोही कम्पनीमा मात्र काम गर्न कानुनी अनुमति दिन्छ। TRC प्रयोग गरी अनुमति नदिइएको अन्य कम्पनीमा काम गर्नु पोल्याण्डको कानुनअनुसार अवैध ठहरिन्छ।

यदि कुनै कारणवश काम गर्ने कम्पनी परिवर्तन गर्नुपर्ने अवस्था आयो भने नयाँ कम्पनीको नाममा नयाँ Work Permit लिनु अनिवार्य हुन्छ वा हालको TRC/Work Permit मा उल्लेख गरिएको Employer सम्बन्धी निर्णय (Decision) आधिकारिक रूपमा संशोधन तथा अद्यावधिक गर्नुपर्छ। यो प्रक्रिया पूरा नगरी अन्यत्र काम सुरु गर्नु गैरकानुनी रोजगारी मानिने र यसले डिपोर्टेशन, आर्थिक जरिवाना तथा भविष्यमा भिसा वा बसाइ अनुमति अस्वीकृत हुने गम्भीर जोखिम निम्त्याउने संघले स्पष्ट पारेको छ।

त्यसैगरी, लिखित Work Contract बिना काम गर्नु पूर्ण रूपमा गैरकानुनी भएको संघले दोहोर्‍याएर स्मरण गराएको छ।
“काम छ, कागज पछि बन्छ” भन्ने मौखिक आश्वासनको भरमा काम सुरु गर्नु अत्यन्त जोखिमपूर्ण हुने भन्दै संघले नेपालीहरूलाई सजग रहन आग्रह गरेको छ। Work Contract, Work Permit र TRC तीनै आपसमा मेल खानु अनिवार्य छ। यीमध्ये कुनै एक कागजात अपूर्ण भएमा रोजगारी गैरकानुनी ठहरिन्छ।

संघले पोल्याण्डमा काम गर्न Work Permit अनिवार्य कागजात भएको र यो प्रायः Employer ले आवेदन गरी तयार गर्ने जानकारी दिएको छ। Work Permit मा उल्लेख गरिएको कामको पद, तलब, कार्य समय, स्थान तथा कम्पनीभन्दा फरक शर्तमा काम गर्नु पनि कानुनी उल्लङ्घन मानिन्छ। त्यसैले अनुमति प्राप्त भएपछि मात्र काम सुरु गर्न र Permit मा उल्लेखित सबै शर्तहरूको कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ।

यदि कामको पद, तलब, समय वा Employer परिवर्तन गर्नुपर्ने अवस्था आयो भने नयाँ Work Permit लिनु वा सम्बन्धित Voivodeship (Immigration Office) मा अनिवार्य रूपमा दर्ता गरी कागजात अद्यावधिक गर्नुपर्ने कानुनी व्यवस्था रहेको संघले जनाएको छ। Permit अद्यावधिक नगरी काम जारी राख्नु वा नयाँ काम सुरु गर्नु गैरकानुनी कार्यको दायरामा पर्छ।

संघका अनुसार २०२६ का लागि लागू भएका नयाँ कानुनी व्यवस्थाअनुसार Work Permit सम्बन्धी सम्पूर्ण प्रक्रिया अब पूर्ण रूपमा Online प्रणालीमार्फत गरिनेछ। Labour Market Test हटाइएको छ भने Employer र Employee दुवैको कानुनी जिम्मेवारी अझ कडा बनाइएको छ। साथै, काम छुटेको अवस्थामा सम्बन्धित निकायलाई १५ कार्य दिनभित्र जानकारी दिनु अनिवार्य गरिएको छ, अन्यथा बसाइको कानुनी हैसियत नै जोखिममा पर्न सक्ने चेतावनी दिइएको छ।

यस सन्दर्भमा संघले कुनै पनि व्यक्ति वा एजेन्टको भरमा कागजात नहेरी काम सुरु नगर्न, सबै आवश्यक कागजातको प्रतिलिपि सुरक्षित राख्न, Permit को म्याद समयमै जाँच गर्न तथा कुनै अन्योल वा समस्या उत्पन्न भएमा आधिकारिक निकाय वा जानकार व्यक्तिसँग परामर्श लिन सम्पूर्ण नेपाली समुदायलाई हार्दिक अनुरोध गरेको छ।

अन्त्यमा संघले TRC + Work Permit + Work Contract नै पोल्याण्डमा सुरक्षित बसाइ र कानुनी रोजगारीको आधार भएको स्मरण गराउँदै आफ्नो भविष्य, परिवार र सम्पूर्ण नेपाली समुदायको सुरक्षाका लागि सधैँ कानुनी बाटोमै अघि बढ्न आह्वान गरेको छ।

साथै, पोल्याण्डमा बसाइ, रोजगारी, Work Permit, Temporary Residence Card (TRC) वा अन्य आप्रवासनसम्बन्धी विषयमा समस्या परेका वा कानुनी सहयोग आवश्यक पर्ने नेपालीहरूलाई गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, पोल्याण्ड मार्फत कानुनी प्रक्रिया अनुसार आवश्यक सहयोग उपलब्ध गराइने जानकारी दिइएको छ। सहयोग चाहने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य राखिने संघले स्पष्ट पारेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *