एनआरएनएले काठमाडौँ र धुलिखेलमा पहिलो दोस्रो पुस्ता विश्व सम्मेलन आयोजना गर्ने

एनआरएनएले काठमाडौँ र धुलिखेलमा पहिलो दोस्रो पुस्ता विश्व सम्मेलन आयोजना गर्ने

विदेशमा जन्मिएका र हुर्किएका नेपाली युवाको ज्ञान, सीप, पुँजी र अन्तर्राष्ट्रिय सञ्जाल नेपालको विकासमा जोड्ने लक्ष्य

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आगामी सन् २०२७ जनवरी २ देखि ७ तारिखसम्म (पुस १८ देखि २३, २०८३) काठमाडौँ र धुलिखेलमा ‘प्रथम एनआरएनए दोस्रो पुस्ता विश्व सम्मेलन–२०२७’ आयोजना गर्ने भएको छ।

विदेशमा जन्मिएका, हुर्किएका र शिक्षा हासिल गरेका दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवालाई नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक तथा संस्थागत विकाससँग जोड्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो।

आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष डा. हेमराज शर्माले दोस्रो पुस्ताका नेपाली युवामा रहेको ज्ञान, सीप, अनुभव, पुँजी र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको विकासमा उपयोग गर्ने सम्मेलनको प्रमुख लक्ष्य रहेको जानकारी दिए।

‘कनेक्ट, एक्सप्लोर, शेप’ (जोडिने, अन्वेषण गर्ने र भविष्य निर्माण गर्ने) मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलनले शिक्षा, व्यापार, प्रविधि, अनुसन्धान तथा उद्यमशीलताका क्षेत्रमा स्थापित युवा पुस्तालाई मातृभूमिसँग जोड्ने लक्ष्य राखेको छ।

अध्यक्ष शर्माका अनुसार दोस्रो पुस्तामा नेपाली भाषा, संस्कृति, पहिचान र अपनत्वको भावना प्रवर्द्धन गर्नुका साथै एनआरएनए अभियानमा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सम्मेलनले विशेष प्राथमिकता दिनेछ।

सम्मेलनकी संयोजक तथा एनआरएनए आईसीसीकी उपमहासचिव अनुजा प्रधानले विश्वभर छरिएर रहेका दोस्रो पुस्ताका नेपाली युवाबीच अन्तर्राष्ट्रिय सञ्जाल विस्तार, अनुभव आदानप्रदान र मातृभूमिप्रतिको भावनात्मक तथा व्यावसायिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताइन्।

पाँच विषयगत सत्रमा केन्द्रित हुनेछ मुख्य सम्मेलन

सन् २०२७ जनवरी ३ मा काठमाडौँमा आयोजना हुने मुख्य सम्मेलनमा विज्ञ, युवा नेतृत्व तथा विभिन्न व्यावसायिक क्षेत्रमा स्थापित व्यक्तित्वहरूको सहभागितामा पाँचवटा विषयगत सत्र सञ्चालन गरिनेछ।

१. संस्कृति र पहिचान : नेपाली भाषा, संस्कृति, सम्पदा र पुस्तान्तरणमार्फत दोस्रो पुस्तामा नेपाली पहिचान तथा अपनत्वको भावना प्रवर्द्धन गर्ने विषयमा छलफल हुनेछ।

२. सीप र ज्ञान हस्तान्तरण : विदेशमा हासिल गरेको ज्ञान, सीप र अनुभवलाई नेपालको शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन तथा परोपकारी क्षेत्रमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा विमर्श हुनेछ।

३. नीतिगत तथा कानुनी संरचना : गैरआवासीय नेपाली नागरिकता, व्यावसायिक अनुमतिपत्र, नेपालमा व्यवसाय सञ्चालनका चुनौती तथा संस्थागत सहभागितासम्बन्धी विषयमा छलफल गरिनेछ।

४. उद्यमशीलता र लगानी : सीमापार व्यावसायिक सहकार्य, लगानीका सम्भावना र अन्तर्राष्ट्रिय बजारमा नेपाली युवाको सहभागिता विस्तार गर्ने अवसरबारे छलफल हुनेछ।

५. युवा नेतृत्व र संस्थागत सुधार : दोस्रो पुस्ताको विश्वव्यापी सञ्जाल निर्माण, एनआरएनएमा युवाको सहभागिता तथा उनीहरूको अपेक्षाअनुसार आवश्यक नीतिगत र विधानगत सुधारका विषयमा बहस हुनेछ।

छ दिनको ‘डिस्कभर नेपाल’ कार्यक्रम

मुख्य सम्मेलनसँगै सहभागीहरूलाई नेपालको ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक तथा संस्थागत पहिचानसँग प्रत्यक्ष परिचित गराउने उद्देश्यले छ दिने ‘डिस्कभर नेपाल’ कार्यक्रमसमेत तय गरिएको छ। यसका लागि नेपाल पर्यटन बोर्डसँग सम्भावित रणनीतिक सहकार्यको योजना रहेको आयोजकले जनाएको छ।

कार्यक्रमअनुसार जनवरी २ मा काठमाडौँमा स्वागत तथा उद्घाटन समारोह र अन्तर्राष्ट्रिय सञ्जाल विस्तारका लागि नेटवर्किङ कार्यक्रम आयोजना गरिनेछ।

जनवरी ३ मा मुख्य विश्व सम्मेलन तथा भावी सहकार्यका लागि कार्ययोजना निर्माण सत्र सञ्चालन हुनेछ।

जनवरी ४ मा सहभागीहरूले काठमाडौँ, ललितपुर र भक्तपुरका ऐतिहासिक सम्पदा, दरबार स्क्वायर तथा परम्परागत हस्तकला केन्द्रहरूको अवलोकन गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *