एक वर्षमै ५ हजारभन्दा बढी नेपालीले लिए अस्ट्रेलियन नागरिकता
एक वर्षमै ५ हजारभन्दा बढी नेपालीले लिए अस्ट्रेलियन नागरिकता
क्यानबेरा / सिड्नी – पछिल्लो एक वर्षमा ५ हजारभन्दा बढी नेपालीले अस्ट्रेलियाको नागरिकता प्राप्त गरेका छन्। अस्ट्रेलियाको Department of Home Affairs ले सार्वजनिक गरेको आधिकारिक तथ्यांकअनुसार सन् २०२४ जुलाई १ देखि २०२५ जुन ३० सम्म कुल ५ हजार ३९८ नेपालीले अस्ट्रेलियन नागरिकता लिएका हुन्।
उक्त अवधिमा अस्ट्रेलियाले विश्वभरका विभिन्न मुलुकका नागरिकलाई नागरिकता प्रदान गरेकोमा नेपालीको संख्या उल्लेखनीय रूपमा बढेको देखिएको छ। पछिल्ला केही वर्षयता अध्ययन, रोजगारी र स्थायी बसोबासका लागि अस्ट्रेलिया पुगेका नेपालीहरूले नागरिकता लिने क्रम निरन्तर बढ्दै गएको छ।
गृह मन्त्रालयको तथ्यांक अनुसार सन् २०२४–२५ मा सबै देशका गरी करिब १ लाख ६५ हजारभन्दा बढी व्यक्तिले अस्ट्रेलियन नागरिकता प्राप्त गरेका छन्, जसमा नेपाल पनि अग्रपंक्तिका मुलुकहरूमध्ये परेको छ।
यसैबीच, अस्ट्रेलियन डे (Australia Day) को अवसर पारेर सोमबार आयोजित विशेष समारोहमा नेपालीसहित करिब १९ हजार व्यक्तिलाई एकै दिन नागरिकता प्रदान गरिएको अस्ट्रेलियन अधिकारीहरूले जनाएका छन्। ती समारोहहरू देशभरका विभिन्न सहरमा सम्पन्न भएका थिए।
विशेषज्ञहरूका अनुसार २०२५/२६ आर्थिक वर्षमा नेपालीहरूले अस्ट्रेलियन नागरिकता लिने संख्या अझ बढ्ने अनुमान गरिएको छ। अस्ट्रेलियामा नेपाली समुदायको जनसंख्या, स्थायी बसोबास (PR) लिनेको संख्या र लामो समयदेखि बसोबास गर्दै आएका नेपालीको वृद्धि यसका मुख्य कारण मानिएको छ।
हाल अस्ट्रेलियामा नेपाली मूलका नागरिकहरू शिक्षा, स्वास्थ्य, आईटी, निर्माण, व्यवसाय र सेवा क्षेत्रमा सक्रिय रूपमा संलग्न छन्। नागरिकता प्राप्तिसँगै उनीहरूलाई मताधिकार, अस्ट्रेलियन पासपोर्ट र पूर्ण नागरिक अधिकार प्राप्त हुने गर्दछ।


