पोल्याण्डमा १० वर्षभन्दा बढी बसोबास गरेका नेपालीहरूको जीवनकथा अब PolandNepal मार्फत प्रसारण हुने
पोल्याण्डमा लामो समयदेखि बसोबास गर्दै आएका नेपालीहरूको संघर्ष, अनुभव र जीवन यात्रालाई उजागर गर्ने उद्देश्यका साथ PolandNepal ले नयाँ र अर्थपूर्ण अभियान सुरु गरेको छ। यस अभियान अन्तर्गत पोल्याण्डमा १० वर्षभन्दा बढी समयदेखि बस्दै आएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनकथा (जीवनी) हरेक महिना एक जना को दरले सार्वजनिक रूपमा प्रसारण गरिने भएको छ।
विदेशी भूमिमा बसाइँसराइ केवल स्थान परिवर्तन मात्र नभई जीवनको ठूलो संघर्ष, निरन्तर धैर्य, आत्मनिर्भरता र पहिचान निर्माणको लामो यात्रा हो। पोल्याण्डमा दशकौँ बिताएका नेपालीहरूले भोगेका व्यक्तिगत, पारिवारिक, सामाजिक तथा व्यावसायिक अनुभवहरू नयाँ पुस्ताका लागि मार्गदर्शन र प्रेरणाको स्रोत बन्न सक्ने विश्वासका साथ यो कार्यक्रम सुरु गरिएको PolandNepal ले जनाएको छ।
यस कार्यक्रममार्फत सहभागी व्यक्तिहरूले आफ्नो १० वर्षको पोल्याण्ड बसाइँका क्रममा भोगेका वास्तविक भोगाइ, चुनौती, असफलता, सफलता, सिकाइ र अनुभूति खुलेर प्रस्तुत गर्न सक्नेछन्। यी कथाहरू केवल व्यक्तिगत सम्झनामा सीमित नरही सम्पूर्ण नेपाली समुदायका लागि ऐतिहासिक दस्तावेज र प्रेरणादायी सन्देश बन्ने अपेक्षा गरिएको छ।
विशेष गरी हालसालै पोल्याण्ड आएका नेपालीहरूका लागि यहाँको जीवनशैली, कामकाज, कानुनी प्रक्रिया, सामाजिक घुलमिल र मानसिक तयारीका विषयमा यस्ता अनुभवहरू अत्यन्त उपयोगी हुनेछन्। दशकभन्दा बढी समय बिताइसकेका अग्रज नेपालीहरूको जीवनकथाले नयाँ पुस्तालाई आत्मविश्वास, धैर्य र सही दिशा दिन सक्ने PolandNepal को विश्वास छ।
स्मरण रहोस्, यस जीवनी कार्यक्रमका लागि इच्छुक व्यक्ति स्वयं वा अरू कसैलाई सिफारिस गर्न चाहनेहरूले आवश्यक विवरण सहितको जानकारी polandnepal17@gmail.com इमेल ठेगानामा पठाउनुपर्नेछ। प्राप्त विवरणको आधारमा छनोट प्रक्रिया पूरा गरी जीवनी प्रसारण गरिने जानकारी दिइएको छ।
पोल्याण्डमा नेपाली समुदायको इतिहास, योगदान र पहिचानलाई दस्तावेजीकरण गर्ने यो प्रयासले भावी पुस्तालाई आफ्नो जरा र संघर्ष सम्झाउने महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको छ।


