पोल्याण्डमा सक्रिय युवा व्यक्तित्व मुकुल बोहोरा ‘युवा वर्ष 2021 Polandnepal सम्मान’बाट सम्मानित

पोल्याण्डमा सक्रिय युवा व्यक्तित्व मुकुल बोहोरा ‘युवा वर्ष 2021 Polandnepal सम्मान’बाट सम्मानित

Poland Nepal डट कमले ‘युवा वर्ष सम्मान’ अन्तर्गत पोल्याण्डमा सक्रिय युवा व्यक्तित्व मुकुल बोहोरालाई सम्मान गरेको छ। नेपाली समुदायमा उहाँले पुर्‍याउनुभएको महत्वपूर्ण योगदानको कदर गर्दै एक विशेष कार्यक्रमका बीच सम्मानपत्र प्रदान गरिएको हो।

मुकुल बोहोरा सन् २०१७ जुलाईमा उच्च शिक्षा अध्ययनका लागि पोल्याण्ड आउनुभएको थियो। उहाँले Business Administration विषयमा स्नातक (Bachelor Degree) हासिल गर्नुभएको छ। अध्ययनसँगै सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएका बोहोरा विगत ५–६ वर्षदेखि प्रत्येक वर्ष खेलकुद कार्यक्रम आयोजना गर्दै आउनुभएको छ। फुटबल, भलिबल लगायतका विभिन्न प्रतियोगिता सञ्चालन गरी उहाँले पोल्याण्डमा रहेका नेपाली युवाहरूबीच एकता, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ।

‘युवा वर्ष सम्मान’ कार्यक्रम अन्तर्गत यसअघि पनि विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने युवाहरूलाई सम्मान गरिँदै आएको छ। सोही क्रममा कलस खरेल, शिवधर महत्तो, सुसन परियार, उदयराज गिरी र अनिल पौडेल लगायतलाई समेत सम्मान गरिएको थियो।

उक्त सम्मान कार्यक्रम Poland Nepal को आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा पोल्याण्डमा रहेर फुटबल क्षेत्रमा योगदान पुर्‍याउनुहुने मुकुल बोहोरालाई Poland Nepal 2021 बाट पनि सम्मान गरिएको जानकारी दिइयो।

कार्यक्रममा पानी अभियानकर्ता मित्रलाल पार्दे FRNA Poland की women coordinator सुधा कोइराला, NRNA Poland का उदयराज गिरी, INAS Poland की तुल्सी पोख्रेल अर्याल, जनसम्पर्क समिति Poland का सभापति भिम परियार तथा नेपाल व्यवसायी संघ Poland का अध्यक्ष उदयराज आचार्य लगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।कार्यक्रमको सञ्चालन अनेसास Poland का अध्यक्ष सुसन परियारले गर्नुभएको थियो।

कार्यक्रममा वक्ताहरूले मुकुल बोहोराको निरन्तर सक्रियता, नेतृत्व क्षमता र सामाजिक सेवाभावको प्रशंसा गर्दै विदेशमा रहेर पनि नेपाली समुदायलाई संगठित र सशक्त बनाउने उहाँको प्रयास अनुकरणीय रहेको बताए।

सम्मान ग्रहण गर्दै बोहोराले आफूलाई प्रदान गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि समुदायको हितका लागि अझ बढी जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *