एनआरएनए अस्पताल’ बनाउने योजनासहित आचार्यद्वारा सचिव पदमा उम्मेदवारी घोषणा

‘एनआरएनए अस्पताल’ बनाउने योजनासहित आचार्यद्वारा सचिव पदमा उम्मेदवारी घोषणा
लण्डन — गैरआवासीय नेपाली संघका यूरोप क्षेत्रीय संयोजक नारायण आचार्यले संघको आउदो विश्व सम्मेलनमा नेपालमा ‘एनआरएनए अस्पताल’ बनाउने योजनासहित आइसीसी सचिव पदमा उम्मेदवारी दिने भएका छन् ।
सन् २०१९–२०२१ कार्यकालमा यूरोप क्षेत्रीय संयोजकका रुपमा निर्वाह गरेको भूमिका र एनआरएन अस्पताल बनाउने योजनासहित आचार्यले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनएको दशौं विश्व सम्मेलन आगामी अक्टोबरमा हुँदै छ ।
सन् २००६ देखि एनआरएन अभियानमा सक्रिय आचार्यले संघले नेपालमा विभिन्न क्षेत्रमा लगानी गरे पनि स्वास्थ्य क्षेत्रमा भने अहिलेसम्म लगानी नभएकाले अस्पताल निर्माणको एजेण्डा अघि सारेको बताए । कोभिड महामारीका बेला यूरोपसहित विभिन्न क्षेत्र र देशबाट मातृभूमिका लागि स्वास्थ्य सामग्री सहयोग गरेपनि उचित उपचार र सेवा नपाउँदा हजारौं नेपालीले ज्यान गुमाउनु परेको आचार्यको बुझाइ छ ।
‘अब नेपालको स्वास्थ्य क्षेत्रमा पनि लगानी बढाउनुपर्ने भएको छ,’ उनले भने, ‘संघकै पहलमा एनआरएन अस्पताल बनाउनुपर्ने खाँचो देखिएको छ ।‘
न्यून आय भएका व्यक्तिहरुका लागि लक्षित गरी अस्पताल स्थापना गर्ने उनको योजना छ । स्वास्थ्य क्षेत्रका विज्ञ जनशक्ति विश्वका विभिन्न देशमा छरिएका छन्, उनले भने, अवसरको खोजीमा विदेशिएका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि यो अभियानले स्वदेश फर्किन सघाउने छ ।
संस्थागत सुधार पारदर्शिता अपरिहार्य
एनआरएन अभियानमा झण्डै डेढ दशक बिताएका आचार्यले संस्थाको सुधार आवश्यक रहेको बताए । आर्थिक पारदर्शितालाई पनि उनले प्राथमिकताका साथ उठाएका छन् ।
संस्थालाई जुन रुपमा अगाडि बढाउनुपर्ने हो त्यसो हुन नसकेको आचार्यको अनुभव छ । उनको भनाइमा अब संस्थागत सुदृढीकरण र शुद्धीकरण चाहिएको छ । आम पन्जीकृत सदस्यहरुको चाहना अनुसार नै संघलाई गति दिनु अहिलेको आवश्यकता हो, मैले अहिले यो मुद्दा उठाएको छु, चुनाव जितेपछि त्यसलाई कार्यान्वयन गर्ने छु, आचार्यले भने ।
बाग्लुङ बढीगाडमा जन्मिएका आचार्य नेपालमा रहँदा पनि राजनीतिक तथा सामाजिक काममा सक्रिय थिए । लोकतान्त्रिक विचार अँगाल्ने आचार्यले सन् २००६ मा नेदरल्याण्ड्स पुगेपछि पनि त्यसलाई निरन्तरता दिए ।
नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड्स र गैरआवासीय नेपाली संघ नेदरल्याण्ड्सका संस्थापक आचार्यले नेदरल्याण्ड्समा नेपाली राजदूतावासको अभावमा नेपालीहरुले झेल्नु परेको समस्या समाधानका लागि मोबाइल पासपोर्टको अवधारणा अघि सारे ।
करिव दुई हजार नेपाली बसोबास गर्ने नेदरल्याण्ड्समा खासगरी अध्ययनका लागि पुग्ने विद्यार्थीहरुका लागि त आचार्य अभिभावक जस्तै हुन् । हामीले सम्बोधन गर्नुपर्ने र समाधान गर्नुपर्ने मुद्दा धेरै छन्, एक एक गर्दै समाधान गर्नुपर्ने छ, उनले भने, चुनावका बेला नारा अगाडि सार्ने तर, चुनावपछि बिर्सिने नेतृत्वलाई पनि सतर्क बनाउनुपर्छ ।
नेपालमा कम्तीमा दुई वटा अक्सिजन प्लाण्ट यूरोप क्षेत्रका तर्फबाट स्थापना गर्ने उनको योजना छ । आइसीसी र नेपाल सरकारको सहमतिमा ठाउँ तोकिएपछि अक्सिजन प्लाण्ट स्थापना गर्ने काम अगाडि बढ्छ, उनले भने ।
प्रवासमा रहेर पनि मातृभूमिको सेवा गर्न चाहने नेपालीहरुको संख्या ठूलो रहेको उनले बताए । ‘हामीले अब उनीहरुको पहिचान गरेर मातृभूमिको समृद्धिका लागि सहजीकरण गर्नुपर्छ’ उनले भने ।
अहिलेको कार्यकाल कोभिड महामारीका कारण प्रभावित भएपनि यूरोप क्षेत्र निरन्तर सक्रिय रहेको उनले बताए । हामीले यूरोपकै सात आठ वटा देशमा बस्ने नेपालीहरुलाई सहयोग गरेका छौं भने नेपालमा पनि पटक पटक सहयोग पठाएका छौं, उनले भने ।
नागरिकता र सम्पत्तिको अधिकारमा निरन्तर पहल
सचिव पदमा उम्मेदवारी घोषणा गरेका आचार्यले आफू सचिव पदमा निर्वाचित भएमा गैरआवासीय नेपाली नागरिकता र सम्पत्तिको हक स्थापित गर्ने मुद्दालाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संविधानले नागरिकताको अधिकार दिएपनि सरकारले कानुन नबनाएका कारण यो अधिकारबाट गैरआवासीय नेपालीहरु बन्चित भएका छन्, उनले भने, त्यसका लागि राजनीतिक रुपमा नै पहल गर्नु आवश्यक छ ।
प्रवासमा रहेका विभिन्न दलका भ्रातृ संस्थामा सक्रिय राजनीतिक व्यक्तित्वहरुको सहभागितामा नै यसअभियानलाई अगाडि बढाउनुपर्ने उनले बताए । यो राजनीतिक मुद्दा पनि हो, यो मुद्दा सम्बोधन गर्न राजनीतिक व्यक्तिहरुलाई पनि सक्रिय बनाउनुपर्छ, उनले भने ।
‘नागरिकताको अभावमा कतिपय गैरआवासीय नेपालीहरुले सम्पत्तिको अधिकार उपयोग गर्न नपाएको र त्यसै कारण लगानीको वातावरण पनि बन्न नसकेको उनले बताए । नागरिकता र सम्पत्तिको हक स्थापित भएपछि लगानीको वातावरण पनि बन्ने छ,’ आचार्यले भने ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.