मेरो नजन्मिएको छोरो
एकदिन अवश्य जन्मिने छौ तिमी
मेरै अंश भएर
मेरै वंश भएर
मेरा थोपा थोपा रगतको
नयाँ संस्करण भएर
यो धर्तीको सृष्टिचक्रलाई
चलायमान बनाई राख्नका निम्ति
यो प्रकृतिलाई
बात्सल्यदान गरिरहनका निम्ति
खुब खुशी हुनेछु म पनि
त्यो समय
त्यो दिन
त्यो पल
आफैमा अगणितीय छ
आमा हुन पाउनुको सौभाग्य।

तर,
छोरा ! एउटा अनौठो त्रास पनि छ
मन भरी
मुटु भरी
कतै तिमी पनि
मैले दिन खोजेको संस्कार
हिडाउन खोजेको बाटोलाई
बाटोमै अलपत्र पारेर
पुरुष अहंकारवादकै पक्षपोषण
गर्ने त होइनौ भोलिपर्सि
मलाई लाजका औंलाहरू देखाउँदै
आफ्नै मान अभिमानको दलदलमा
भाषिने त होइनौ भोलिपर्सि
मैले तिमीलाई मान्छे बन्न
अभिप्रेरित गरिरहदा
आफ्नै आमाको उपहास गरेर
तिम्रा अघि पर्नेहरूजतिलाई
महिला /पुरुषमा विभाजित गरि
कामबासनाको आगोमा दन्किदै
स्त्री जाती माथि नै
गिद्दे नजरले चिथोर्ने
भोको गिद्द त हुने होइनौ भोलिपर्सि
तिमीलाई बुद्धको स्वरुपमा
देख्ने मेरो अभिलाषा
आफ्ना सहपाठीहरुको अघाडी
मर्द पल्टिनकै लागि
तिम्रो छेउ हुँदै गइरहेकी
तिम्रो अघाडीबाट आइरहेकी
काम विशेषले मेलापात धाइरहेकी
स्कुल कलेज गइरहेकी
अफिसबाट फर्किरहेकी
बजार हिडेकी
या
चौतारीमा बसेकी
मेरो कुनै छोरीलाई
तिम्रा छुद्र वाणीहरूले
प्रहार गर्ने त होइनौ?
जस्तो कि !
हाम्रा पुर्ववत् भोगाइझैं
वाह ! क्या माल रहेछ
यसलाई त …
ताली बज्ने छ
सिट्टीहरूको चित्कार छुट्ने छ
र
तिमी अझै हौसिने छौ
अङ्ग अङ्गमा
नजरका तिर गाडेर
य यस्तै दुष्कर्मको
माहाभारत लेख्ने त होइनौ ?
यो आमाको ममताले
तिमीलाई बालक सम्झिरहदा
तिमी भने तिम्रै मिल्ने साथी
जसले तिमीलाई दाइ-भाइकै आँखाले हेर्दी हो
असल साथीको रूपमा बुझ्दी हो
उसकै त्यो स्वच्छन्द अस्तित्व
निर्मल भावनालाई
आफ्नो अहंकारले घेरा हालेर
कुरूप भन्दा हर्कत देखाएर
तिम्रा पाखण्डहरूलाई
अझै उत्तेजित पार्न तल्लिन हुने त होइनौ ?
मानौ,
नाङ्गो अकर्मण्यता
त्यसलाई त मैले पट्याई सके
मेरै हातमा छे त्यो ,
कति पटक त झन……
हाँसोको फोहोरा
फोश्रो महानता
कुनै दिन
विना गल्ति चुपचाप बदनाम हुनेछ
एकथान इज्जत
तिम्रो मस्ती मस्करीको
मस्त महेफिल्मा
यति मात्र कहाँ हो र…,
यो सिलसिला चलिरहने छ
निरन्तर निरन्तर
जो बदनाम भइरहेकी छे
उसैले थाहै नपाई
बजार पाइसकेको हुनेछ
उसकै चरित्रहीनताको भ्रमले
पाइला पाइलामा
आँखा आँखाको
मन मनको स्वाद भइरहेकी हुन्छे
सिनोको पर्खाइमा बसेका
भोका स्यालहरूको जुलुसमा।

र त,
डर लाग्छ
कथंम कदाचित
तिमी पनि यस्तै भयौ भने
अहो ! कसरी सहनु
मेरो रगत नशा नशा बगेर
मेरै धड्कन उपहार पाएको
मेरो नजन्मिएको छोरोले
कुनै दिन मेरै सपनाहरू माथि
कुरूप बलात्कार गर्यो भने
म र जस्तै मातृत्वको
निर्मम हत्या गर्यो भने
त्यो पल मेरो मातृत्वले मलाई धिक्कार्ने छ
कोखले सराप्ने छ,
ममताले ललकार्ने छ
त्यो बेला मलाई म बाँझी हुनुको
उपमा र लाल्छना
कैयौं गुणा प्रिय हुनेछ बरु
तिम्रो दरिद्र अस्तित्व भन्दा
कैयाैं गुणा गर्वानुभूत हुनेछ बरु
आनन्द हुनेछ बरु
सुनियोजित भ्रुणहत्याको अपराध गर्नुमा
विना कुनै आत्म ग्लानी
विना कुनै पश्चाताप
तिमी नहुनुले
मेरा थुर्पै थुप्रै छोरीहरूको
अस्तित्व
अस्मिता
कौमार्य
आत्मसम्मान
सुरक्षित रहन्छ भने
म पापको भागीदार बन्न तयार छु
मेरो नजन्मिएको छोरो।
मेरो नजन्मिएको छोरो।।
अपेक्षा चन्द,सरु
जर्मनी