एस डि अर्पण
१० सेप्टेम्बर। जितिया पर्व नेपालको तराईमा थारु समुदायका महिला दिदीबहिनीहरुले आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन हर्ष उल्लासका साथ मनाइन्छ। हुन त यो पर्व पहिले देखि नै नेपाललको तराईसँग जोडिएका भारतका केहि जिल्ला हरुमा बसोबास गर्ने थारु समुदाय लगायत केहि अन्य समुदायहरुले मान्दै आएको देखिन्छ। नेपालमा भने हामी थारु समुदायका साथसाथै अचेल मधेशी एवं केहि अन्य समुदायले पनि यो जितियालाई उत्तिकै महत्व दिएर मनाईएको पाईन्छ।यहाँ चितवनका थारु समुदायले जितिया पर्व कसरी मनाउँछन् र पर्व मनाउँदा सुनिने कथा छोटकरीमा लेखेको छु । त्यसका साथै जितियाको सामाजिक, सांस्कृतिक रुपमा कत्तिको महत्वपूर्ण छ सामज्शाश्त्रिय मानवशास्त्रीय दृष्टिकोणले विश्लेषण गरेको छु।
सप्तमी जितियाको पहिलो दिन थारु नारीहरु बिहान नजिकैको खोला नदीमा गएर नुहाउने गर्दछन्। जसलाई हाम्रो स्थानीय भाषामा “लाहा खाई” अर्थात नुहाएर खाने भनिन्छ। यसरी चोखो कपडा एवं चोखो खाना खाएर सुरु हुन्छ जितिया। जितियामा चील र स्याल्नीहरुको ब्रतको कथा पनि आउने भएकोले नदीमा स्नान गर्नु पुर्व कर्कालाको पातमा राखी पिना बगाउने गरिन्छ। जसको अर्थ जितिया पर्व आयो चील र स्याल्नी तिमीहरु पनि नुहाएर ब्रत आरम्भ गरुन् भन्ने हो। नुहाएर आए पछि मात्रै सके आफैले पकाएर या छुट्टै चोखो खाना खाईन्छ। सो दिन दिनभरी गाउँका ब्रतालु एवं रुची राख्ने, झमटा गीत गाउन जान्ने सबै भेला भएर गाउँका मुख्य मुख्य ठाउँमा गोलो घेरा बनाउन्दै गीत गाउँने प्रचलन छ। यसरी झमटा गीत गाउँदा दुई समुहमा विभाजन भएर गाईन्छ, जसले गर्दा गीत सुन्दा थप मिठास सुनिन्छ। सांझ पनि बतालुहरु नदीमा गएर स्नान गरन जान्छन्, यसबेला पनि चील र स्याल्नीलाई नुहाउनको लागि पिना बगाईइने गरिन्छ।

अर्को दिन अष्टमीमा बिहानै भालेको डाक भन्दा अघि पुन: चोखो एवं मिष्ठान्न खाईन्छ जसलाई “डठखट” भनिन्छ भने त्यसै बेला देखि उपवास सुरु हुन्छ जसलाई “उपास” भन्ने गरिन्छ। डठखट खाईसकेपछि ब्रतालुहरु एवं अन्य महिला पुरुषहरु जम्मा हुँदै झमटा गाउने प्रचलन छ। यो बेला गाउने गीतलाई “बदहा” भन्ने गरिछ। बिहान भएपछी पुन: नदीमा नुहाएर चोखो भएर सबै ब्रतालुहरु बेलको रुख वरिपरी नयाँ-नयाँ ढकिया (डालो) लिएर जम्मा हुन्छन्। त्यहाँ पनि झमटा अर्थात “फुला लोहोर्नी गीत” गाएर बेलको पात टिपेर घर ल्याइन्छ। घरमा गएर एक दुई माना मासलाई पनि पानीमा भिजाएर राखिन्छ, जसलाई “जाइकुरी” भनिन्छ। त्यसपछि ब्रतालु एवं अन्य महिला पुरुषहरु जम्मा हुँदै दिनभरी झमटा गाउने प्रचलन छ। दिउँसो चार/पाँच बजे तिर पीपलको बोटमुनि जम्मा भएर झमटा गाईन्छ सोहि बेला केहि केटाहरुलाई अह्राएर पीपलको हाँगा काट्न लगाईन्छ। त्यो हाँगालाई जमिनमा नझारिकन कथा सुन्ने ठाउँ जमिन्दारको आँगनमा या फराकिलो ठाउँमा लगेर सानो बोटको रुपमा गाडिन्छ। त्यस्तै खेतबाट हरियो धानको गाँज, जुन ब्रतालुहरु मध्ये रजस्वला सुरु नभएको कन्या केटिले उखल्ने पर्ने हुन्छ। त्यहि धानको गाँजसंग ल्याईएको माटोले पीपलको पातमा गुण बनाएर चीलोको (चिल)को प्रतिमा बनाइन्छ भने पीपलको फेदमा शिरोको (स्याल्नि) प्रतिमा बनाइन्छ। सबै ब्रतालुहरु आ-आफ्नो पुजा सामाग्रीहरु फलफूलहरु लिएर पीपलको रुख वरिपरि कथा श्रवणको लागि जम्मा भैसकेछि कथा भन्न जान्ने पाको मान्छेले कथा सुरु गर्छन्।कथा श्रवण अवधिभर ब्रतालुहरु बोल्ने एवं उठेर जान नहुने भएकोले कथा भन्ने मान्छेसँगै एकजना ”हुँकरिहर” अर्थात कथा उपवाचक हुन्छन्।
जितिया कथा
परापुर्वकालमा एउटा राज्य थियो, जहाँको राजको नाम हरिदत्त कुँवर र राजकुमार शिवदत्त कुँवरको विहे हुने तयारी हुँदै थियो। राजाले मोद (रक्सि) बनाउन सबै प्रजाकोमा फंच (चामलको कनिका) पठाइसकेका थिए। तर गाउँमै रहेका बुढीकन्या मस्वासी बुढीलाई फंच पठाउन भुलेछन्।बिहेको एक दिन अघि मात्रै बुढीलाई फंच पठाएछन् तर दुर्भाग्य फंच सुकाउने बेला झरी परेछ र बुढिले सुर्य भागवानसँग प्रार्थना गर्दै सेज भाकल गरेर आफ्नो आँगनमा घाम पारिदिन भनिन्। सुर्य भगवान खुसी भएर मस्वासी बुढिको आँगनमा घाम लग्यो र मस्वासी बुढिले मोद समयमै पारेर दरवार पुर्याईन। सेज भाकल गरेकोकोले बुढी कताकता डराईन पनि तर भाकल बमोजिम घरमा सबै व्यवश्था मिलाएर आफु सुत्ने ठाउँ लिपपोत गरि चोख्याईन तर आफु भने छिमेकीको घरमा बास बस्न गईन। राति सुर्य भगवान आए तर मस्वासी बुढीलाई देखेनन्, भगवानले बुढी भएको भए मनोकान्क्षा पुरा हुने गरि वारदान दिन्थे भन्दै केहि न केहि दिएर जाउँ भन्ने सोचेर बुढिको छाप्रो पछाडी पिसाब फेरेर गए। बिहान मस्वासी बुढी आउँदा भगवान आएको थाहा पाईन तर आफुलाई भगवान आएको बेला घरमा नभएकोले खुसी र डरको त्रासमा थिईन। खाना पकाउने बेला कतै तरकारी नपाए पछि छाप्रो पछाडी लहलहाउँदो साग देखिन जुन सुर्य भगवान्ले पिसाव फेरेर उम्रिएको थियो। बुढीले त्यहि पाकेर खाईन्। बुढी दोजिया भईन, गाउँ घरमा कुरा काट्न थाले। बुढीले छोरा जन्माईन। छोरा एकदम तेजस्वी, बुद्दिमान थियो।
छोरा ठुलो हुँदै गयो आफ्नो साथीभाईहरुसँग खेल्ने क्रममा उनलाई कसैले हराउने भएनन्। राज खानदानका छोरा नातीहरु पनि उनलाई हराउन सकेनन् र बिना बाउको बच्चा भन्दै खिस्सी गर्न थाले। एकदिन छोरा रुँदै आएर आमासँग आफ्नो बुवाको बारेमा सोधी खोजि गर्न थाले र आफ्नो नाम पनि नभएकोले बुवासंग भेट्ने ईच्छा गरे । मस्वासी बुढिले जति सम्झाई बुझी गरेपनि छोराले जिद्दी छोड्दैन आफ्नो जीवनमा घटना भनिन। सुर्य नै तिम्रो बुवा हुन् भनेर उनैले तिम्रो नाम राखी दिन्छन् भन्दै आश्वास्त दिलाउछन्। तर छोरा आफु भगवानलाई भेटेरै आउने कुरामा जिद्दी छोड्दैनन् र आमालाई पोको पुन्तुरो ठिक परि दिन आग्रह गर्छन्।त्यही अनुरुप छोरा आफ्नो बुवाको खोजीमा निस्कन्छन्। उनले बाटोमा विभिन्न दु:खहरु पाएका मान्छेहरु भेट्छन् सबैले आफ्नो दु:खको बारेमा भगवानलाई भनिदिन आग्रह गर्छन्।जाँदा जाँदै उनी धर्ति र आकाश मिलन हुने ठाउँमा पुग्छन्। देवी देवताहरुको रथ आवतजावत गर्ने ठाउँमा आफ्नो बुवा खोजि गर्छन्। सुर्य भगवानलाई भटेर आफु आउनुको उदेश्य सबै व्रितात्न्त बताउछन्। सुर्य भगवानले उनको नाम राख्दै भन्छन्, तिम्रो नाम “जितवाहन” । अब देखि मानिसहरुले तिम्रो नाउँमा ब्रत बस्नेछन् जो सहि त् ढंगले ब्रत बस्नेछन् उसले तिमी जस्तै सन्तान पाउने छन्। जितवाहन नाम पाएर खुसी हुन्छन्। अनि बाटोमा आफुले भेटेका मान्छेहरुको दु:खको कारण पनि सोध्छन्। भगवानले सबैको दु:खको कारण र त्यसबाट छुटकारा पाउने उपाय बताई दिन्छन्। जितवाहन आफु गएकै बाटो घर फर्किन्छन्। पहिले भेटेर गएका सबै दु:खीहरुलाई भेटेर उनीहरुको दु:खको कारण र दु:खबाट छुटकारा पाउने उपाय पनि बताई दिए नभन्दै उनीहरु तुरुन्तै आफ्नो दु:खबाट मुक्ति पाए। घर पुगेर जितवाहानले आफ्नी आमालाई सबै कुरा भने। मानिसहरु जित्वहंकै नाउँमा ब्रत बस्न थाले। अविवाहितहरु विवाहपछि राम्रो सन्तानको कामना गर्दै, सन्तान हुनेहरु भने आफ्नो सन्तानहरुको दिर्घायुको कामना गर्दै जितिया पर्व मनाउन सुरु गरे। यसरी कथा सुन्दा जति पटक “जितवहान” को नाम आउछ त्यति पटक ब्रतालुहरुले जाइकुरी पीपलको रुखमा चढाउने गरिन्छ।
यसरी सुरु परापुर्व कालदेखि जितिया पर्व थारु समुदायमा संसारको रुपमा विकास भएको मानिन्छ। सँधैझैँ जितियाको ब्रत बस्ने समय आयो। हरिदत्त कुँवरको दरवार नजिकै जंगलमा बस्ने दीदि बहिनि चिलो शियरो (चील र स्यालनी) लाई पनि जितिया पर्व मनाउने रहर जाग्यो। उनीहरुले पनि दरवारका नारीहरुले जसरी ब्रत बसेर एउटा पीपलको रुख मुनि स्याल्निले ओडार बनाईन भने चिलोले रुख माथि गुण बनाएर बसे। तर बिडम्बना पर्वकै दिन राति हरिदत्तको देहावशान भयो। मानिसहरु शवलाई दागबत्ती दिन गए। लास जलिरहेको गन्ध स्याल्निको ओडार सम्म पुग्यो। स्यालनी भोकले छटपटिन थालिन दीदि चिलो सुने नसुतेको जाँच गर्न दिदीलाई चिलो दीदि भन्दै बोलाई रहिन। केहि छिन जवाफ फर्काएर चिलो चुप लागेर बासिन र बहिनी स्यालनीले के के गर्दो रै’छिन् भनेर हेर्न थालिन।स्यालनी ओडारबाट निस्केर जलिरहेको लाश खोलामा निभाऊँदै ओडारमा ओसार्न थालिन्। आफुलाई पुग्ने गरि ल्याए पछि दिदिले थाहा नपाउने गरि खान थालिन्।हड्डी चपाएर आएको आवाजलाई के को आवाज आयो भनेर चिलोले सोध्दा, स्याल्निले भोकले दायाँ बायाँ कोल्टे फेर्दा करङको हड्डी कराएको भन्ने जवाफ दिईन तर चिलोले सबै थाहा पाएर पनि थाहा नपाए जस्तो गरेर आफु सत्य मनले ब्रत बसिन।
चिलो र स्याल्निको चोला बदलियो दुबैले कुनै अर्कै देशको राजाको पोखरीमा चिलो रातो र स्यालनी सेतो सुन्दर फुल भएर फुले। एकदिन ती फूलहरुलाई राजा मन्त्रीहरुले देखेर राजाले रातो र मन्त्रीले सेतो फुल टिपेर आ-आफ्नो सुत्ने कोठामा लगेर सजाए। जब मध्य रात हुन्थो ती फुलबाट कन्या निस्कन्थे र राजा मन्त्रीको सेवामा लाग्थे। यो कुरा थाहा पाएर एकदिन राजा र मन्त्रीले कन्याहरु निस्केको बेला आ-आफ्नो फुललाई पानसमा नष्ट गरिदिन्छन्। त्यसपश्चात ती कन्याहरु राजा र मन्त्रीको अर्धांगिनी अर्थात रानी र मंत्रिनी भएर बस्छन्। रानीका पाँच जना स्वस्थ्य सन्तानहरु हुन्छन् तर मंत्रिनिका जन्मिदै मर्ने गर्छन्। यी सबैको दोष रानीलाई लागाउँछिन्। जति कोशिश गर्दा पनि कसैको केहि जोर नचले पछि रानीले पुर्व जन्ममा के कस्ता कर्म गरेको भनेर खोज गर्ने टोलि खटायो। खोजि गर्दै गर्दा चिलो र स्यालनी ब्रत बसेको पिपल रुखसम्म पुग्छन्। केहिले गुण हेर्न माथि चढे भने कोहि स्याल्नि बसेको ओडार खन्न लागे। सबै काम सके पछि हेर्दा स्याल्नीको ओडारमा हड्डि नै हड्डी भेटियो भने चिलोको गुणमा मास हरियो भएर उम्रिएको देखियो। यसरी पूर्वजन्मको कुकर्मले सन्तान सुख नभएको बताईन। मंत्रिनिलाई आत्मग्लानी भयो। आफु अपमानित भएको सहन नसकेर देह त्याग गर्छिन। कथा सकिए पछि सबै ब्रतालुहरु आफ्नो पुजा सामग्री लिएर घर जान्छन र फलफुल खाएर उपवास समाप्त गर्छन्। जसलाई हाम्रो भाषामा “फराहर” भन्ने गरिन्छ।
अन्तिम दिन अर्थात नवमीको दिन ब्रतालु हरु पुन; नदी खोलामा स्नान गर्न जान्छन्। नुहाई धुवाई गरेर नदि किनारमा हिलो माटो जम्मा पार्छन् र अघिल्लो दिन भिजाएको मासको केहि मुठी दानाहरु छरी दिन्छन्, जसलाई “गरग्वाङ्ग”को नामले चिनिन्छ। घर आएर विभिन्न फलफुल एवं मिष्ठान्न खाना खाँदै पारन गर्ने गरिन्छ। यो अन्तिम दिन पनि रुचिहुने हरुले झमटा गीत गाउँदै रमाईलो गर्छन्। ब्रतालुहरु मिलेर अघिल्लो दिन पीपलको हाँगा काट्ने, कथा भन्ने, साथै हुँकरिहरलाई फलफुलहरु पठाई दिन्छन्। यसरी जितिया पर्व समाप्ति हुन्छ।
शुद्दताको अवधारणा एवं सत्कर्ममा विश्वास
जितिया पर्वमा शुद्दतालाई पनि विशेष महत्व दिईएको पाईन्छ। जितियाको सुरु कै दिन देखि ब्रतालुहरु बिहान नजिकैको नदि या खोलामा नुहाएर सफा कपडा लगाएर मात्रै खाना गर्दछन्। खाना पनि कसैले जुठो नहालेको सकेसम्म आफैंले पकाएर खाने चलन छ। जितियाको कथा श्रवन गर्नु आघि काटिने पीपलको हाँगा पनि जमिनमा नछुवाईकन कथा सुन्ने ठाउँमा लानु पर्दछ। यदि जमिनमा छो ईए त्यस्तो पीपलको हाँगा अशुद्द हुनेहुँदा आफ्नो मनोकान्क्षाहरु पुरा नहुने विश्वास गरिन्छ। त्यसैगरी पुजा कै लागि ल्याईने धानको गाँज पनि ब्रतालुहरु मध्ये महिनावारी सुरु नभएको कन्याले उखलेर ल्याउने पर्ने हुन्छ। उपवास बस्ने दिनमा नयाँ कपडाको पनि विशेष महत्व हुने गर्छ। पुराना कपडा पहिल्यै लाइ सकेकोले तिनीहरुलाई जुठो सरह मानिन्छ। त्यसैकारण त्यस दिन बिहान नुहाइधुवाई गरी नयाँ कपडा लाएर मात्रै ब्रतालुहरु बेलापाती टिप्न जाने, झमटा पार्ने कार्यमा सरिक हुन्छन्।
जितियाको कथा एवं ब्रतमा सत्कर्ममा विश्वास गरेको देखिन्छ। जितिया कथाको सुरुमै मस्वासी बुढी सूर्य भगवानसँग साँचो मनले भाकल गरी आफ्नो आँगनमा बिस्कुन सुकाउन घाम पारिदिन आग्रह गरेकी थीइन, जुन सुर्य भगवान प्रसन्न भएर पुरा गरिदिएका थिए। भलै मस्वासी बुढीले डर त्रासले राम्रोसँग आफ्नो भाकल पुरा गरिनन्। त्यसैगरी मस्वासी बुधिको छोरा आफ्नो बुवा अर्थात सुर्य भगवानलाई भेट्न जाँदा बाटोमा दु:ख कष्ट भोग्दै गरेको र तिनीहरुको पीडाबाट छुट्कारा पाउने उपाय भनेकै आफ्नो व्यक्तिगत स्वार्थ मात्रै होईन अरुको पनि भलो चिताउने गर्नाले दु:ख बाट मुक्ति मिलेको थुप्रै उदाहरण हरू छन्, जसले स्पस्ट हुन्छ कि मान्छे होस् या अन्य कुनै जनावर जब व्यक्तिगत स्वार्थ भन्दा माथि सोचेर जगतको भलोको लागि पनि सोच्दछ न्, तीनीहरुले आफ्नो दु:ख पिडाबाट छुटकारा पाउछन्। जितिया पर्व रीत पुर्वक शुद्ध मनले ब्रत बसे आफ्नो सन्तानहरु पनि स्वस्थ हुन्छन् भन्ने कथाको दोश्रो अंशमा चिलो र सिह्रोको ब्रत बसाईको परिणामले पछि उनीहरुको दोश्रो जन्ममा समेत देखा परेको देखाउनुले थारु समुदायका ब्रतालु चेलीहरु पनि शुद्ध मनले ब्रत बसुन भन्ने संदेश दिएको छ। त्यसैगरी पारन अर्थात अन्तिम दिन खोला किनारमा गरग्वाङ्गमा छरिने जाईकुरी जसको राम्रो उम्रिन्छ उसले शुद्ध मनले ब्रत बसेको र उसकै विहे पश्चात राम्रा सन्तान सुख हुने पनि विश्वास गरिन्छ।
सामाजिक सांस्कृतिक महत्व
परम्परागत रुपमा थारु समुदायले जितिया जे जसरी मनाए पनि यसले समाजमा सकारात्मक प्रभाव पारेको पाईन्छ। विशेष गरी समाजशास्त्रीय मानव शाश्त्रिय प्रकार्यात्मक दृष्टिकोण बाट हेर्ने हो भने थारु समुदायलाई तिकाईराख्न जितियाले महत्वपुर्ण भूमिका निर्वाह गरेको पाईन्छ। जितियाको आउने एक दुई दिन अघि नै विवाहित छोरी चेली लाई कोशेली लिएर जितिया मनाउनको लागि लिन गईन्छ। सके सोहि दिन संगै माईत आउने या अर्को दिन कोशेली सहित आएर आफ्नो वुवा आमासँग जितिया मान्ने गरिन्छ, जसले गर्दा कामको व्यस्तताले माईत आउन नपाएकी चेलीहरु पनि आफ्नो जन्म घरमा रमाईलो गर्दै जितिया मनाउन पाउँदा निकै खुसी महशुस गर्छन्। त्यति मात्रै नभएर जितियाले आफुसंगैका साथीसंगीहरु पनि भेट हुने र सुख दु:ख एक अर्कामा बाँड्ने मौका जुराउने गर्छ। जसले गर्दा बिहे पछि पनि चेली र माईतीको साथसाथै आफ्नो साहपाथिहरुसंगा आत्मियता रहिरहन्छ। बाहिर बाट जितिया पर्व निकै सामान्य लागे पनि आन्तरिक रुपमा सामाजिक सम्बन्धहरु कायम र्काही राख्न यसले महत्वपूर्ण भूमिका खेलेको पाईन्छ। त्यस्तै अचेल परम्रागत झमटा गीत मात्रै नभएर आफ्नो दु:ख पीर एवं खुसी समेटिएका गीतहरु पनि गाउने गर्नाले आफ्ना मनका भावहरु पोख्ने मौका पाएकाछन्। जितिया मा झमटा पार्दै गीत उठान गर्ने पाका मान्छेहरु अझै जोस थप्न थोरै थोरै घरपाला मोद (घरमा परेको रक्सि) पनि पिउने गरेको पाईन्छ। यसरी पाका मान्छेहरुलाई झमटा मा सामेल गर्दा पाको मान्छेहरु पनि आफुहरुलाई सम्मान गरेको महशुस गर्दछन्। जसले गर्दा उनीहरुको सामाजिक स्तर कायम राख्न मद्दत पुग्दछ। यसका साथै पाका मान्छेहरु ले पुराना परम्परा जोगाउँ दै संस्कृती हस्तान्तरण गरिरहेका हुन्छन्। त्यस्तै झमटा पार्दा हरेक घरबाट मोद पिलाई राख्दा कसको घरवालीले सच्चा मनले राम्रो मोद बनाउन जानेको भन्ने कुरा पनि प्रष्ट हुन्छ । पछि बिहेवारी वा विशेष कर्मका लागि ती सिपालु घरलाई रक्सि बनाउँ न अन्न उपलब्ध गराउने गरिन्छ। घरमा गच्छे अनुसारले मोद बनाउने भए पनि कुन अन्नको मोद बनाउने कुरा उनीहरुको आर्थिक अवस्थाले निर्धारण गर्छ। यसैगरी जितियामा छोरी चेलीहरुलाई उनीहरुको ईच्छा बमोजिम नयाँ कपडा हरु किनिदिने प्रचलन छ। आर्थिक अवस्था कमजोर भएका परिवारका बुवा आमाहरु मेलापात, ज्याला मजदुरी गरेर भए पनि एक जोर कपडा जोगाड गरिदिएको देखिन्छ। साना नानीहरु नयाँ कपडा लाउन पाउँदा खुसी हुँदै रमाइलो गरेको देख्दा गाउँ घरको माहोल नै उमंगमय हुन्छ। त्यसो त माईती आएकी चेलीलाई पनि एकजोर लुगा कोशेली दिने प्रचलन छ। यस्ता विविध सामाजिक, सांस्कृतिक एवं आर्थिक क्रियाकलापहरुले गर्दा समाजको बन्धनहरू दिगो बनाई राख्न जितियाले महत्वपुर्ण भूमिका खेलेको देखिन्छ।