१२ जुलाई । बाह्रखरी कथा प्रतियोगिता-२०७७ मा उत्कृष्ट २५ भित्र पर्न सफल २५ कथाहरू मध्येको एक उत्कृष्ट कथा हो – झोरी । कथाको नाम सुन्दा नै पढौं पढौं लाग्ने यस कथाका कथाकार हुन् रेडियोकर्मी/ आख्यानकार मनोज चौधरी । कथाहरू पढ्दै जादा सबै कथाहरू आ-आफ्नै सीमा र शैलीमा खरो उत्रिएका छन् । कथाहरूमा पक्ष विपक्षमा ठूलै तरङ्ग ल्याउने विषय वस्तुको उठान र उत्कर्षहरू पनि छन् । सबै कथाहरू बारे क्रमिक समीक्षा भई रहेका छन् हुँदै जालान् पनि । एउटा राम्रो कथाले पाठकलाई आफ्नै परिपरि बाँधिराख्छ । कथा सकिए पछि एउटा राम्रो कथाले मस्तिष्कमा अनन्तसम्म प्रभाव पारिरहन्छ । कथा पढिए पछि स्मरणमा रहने भनेकै कथाको विषय वस्तु र कथामा पात्र/पात्राहरूले निर्वाह गरेको भूमिका र समाजमा यसले कस्तो किसिमको चरित्र निर्माण गर्न उत्प्रेरित गर्यो भन्ने कुराले सर्वथा महत्व राख्छ ।
यसरी हेर्दा यो भन्न सकिन्छ कि कथा लेखनको मुख्य अभिप्राय नै आधारभूत रुपमा पात्र/पात्राहरू मार्फत चरित्र निर्माण गर्नु हो । मलाई कथाहरू पढ्दा Anton Chekhov को एउटा भनाइ खुब याद आउँछ । उनले भनेका थिए – ” Don’t tell me the moon is shining; show me the glint of light on broken glass” । हरेक कथाकारले माथिको भनाइलाई आत्मसात गरेर प्रस्तुत गरे भने एउटा मौलिक उचाइ कथाले स्वयम् स्थापित गर्छ जस्तो लाग्छ । तथापि कथाबारे लेख्न सक्ने खुबी त म मा छैन र पनि कथाको एक पाठककै हैसियतमा २५ वटा कथा पढिसक्दा पाठकीयता लेखूँ लेखूँ लागेका कथाहरू मध्येको एक कथा हो – झोरी ।
“झोरी” अर्थात माछा बोक्न पाट वा जुटको डोरी बाटेर बनाइएको एक जालिदार थैलो । झोरी अर्थात नदी-किनारमा आश्रित भुइँमान्छेहरूका सिङ्गै दैनन्दिन जिजीविषाको एक ज्वलन्त प्रतिकीकरण । झोरी, शब्दत: एउटा रित्तो थैलो अर्थिए पनि यसले कुनै निश्चित सीमान्तकृत समुदायको सिङ्गै कष्टकर जीवन चक्रको कष्टसाध्य जीवन आवृत्तिलाई बिम्वात्मक अर्थ व्यापकता दिन उक्त यो शब्द भन्दा अरू उपयुक्त शब्द नै छैन जस्तो लाग्यो र शब्दैले छोएको हुँनाले लेख्न मन पनि लाग्यो । मूलतः झोरी कथा, तराईका विकट ग्रामीण भेगमा बसोबास गर्ने बोटे, मुसहर र थारू समुदायहरूका साझा कथा हो । पञ्चायत कालीन सामन्ती व्यवस्थामा किनारिकृतहरूलाई दिइने सासना र उक्त सामन्ती व्यवस्थाका मतियारहरूले उनीहरू प्रति गर्ने शोषणकारी उदाङ्गो बर्बरताको कथा हो।
यो कथा इतिहासमा अलिखित एकल जातीय अहंकारवादमा आधारित शासकीय स्वरूपको घिनलाग्दो चरित्र-पर्दाफासको फेहरिस्त पनि हो भने सामन्तहरूले आवाजविहीनहरूलाई सिङ्गै राज्य संयन्त्रको आढमा कसरी कमैया, कमलरी र सुकुमवासी बनाउदै लान्छन् भन्ने लुप्त इतिहासको सारंसित सार पनि हो । कथाको कथावस्तु यो राज्यका शासकहरूले कहिल्यै वास्ता नगरेको अर्थात प्राथमिकतामा नराखेको अनाम भुतहा खोलामा घटेको कथाकै मुख्य नायक पात्र छलाही बोटेको निर्मम हत्याबाट शुरू हुन्छ । कथामा मुख्य खलनायक छ्न् भुतहा खोला नजिकै अवस्थित गाउँका मुखिया धुतन प्रसाद र सहायक खलनायकका भूमिका निर्वाह गरिरहेका छन् मुखियाकै जडिया छोरा, उसका साथीहरू, प्रशासनिक हाकिम र केही प्रहरीहरू । कथामा सहायक नायकको भूमिकामा छन् छ्लाही बोटेका साथी अमुख पात्र कर्डा मुसहर । अन्य पात्रहरू छ्लाहीको श्रीमती कम्ली, बुवा , हत्याका प्रत्यक्षदर्शी तथा मुखियाका बफादार गुलाम जितना, उनका दाइ फटला, भलमन्से, बिस्मतिया आदि । यिनै पात्र/ पात्राहरूको आन्तरिक तथा बाह्य द्वन्द्वको सेरोफेरोमा कथा शुरू, विस्तार र अन्त्य हुन्छ ।
सारांशमा झोरी कथा
कथालाई सारांशमा यसरी छोटकरीमा भन्न सकिन्छ । कथा-नायक छ्लाही बोटेलाई मुखियाको छोरोले भुतहा खोलामा मारिएको माछा नदिएको झोकमा सोही ठाउँमा कुटी कुटी मारिदिन्छ । उसैको साथी कर्डालाई स्वर यन्त्र नै काम नगर्ने गरि कुटपिट गर्छ । मुखिया धुतन प्रसादले आफ्नो छोरोको कर्तुत छुपाउन कर्डा मुसहरलाई नै दोषी बनाउने प्रपञ्च रच्छ र सफल हुन्छ । बोटे र मुसहर समुदायमा आन्तरिक द्वन्द्व सृजना गरिदिन्छ । प्रहरी प्रशासनको आगमन हुन्छ । प्रहरी प्रशासनले मुखियाकै नुनको सोझो मुताविक निर्दोष कर्डालाई हत्याको दोषी करार गरिदिन्छ । मुसहरहरू गाउँबाट उठीबास हुन्छन् । अन्तत: छ्लाहीको दोजिया श्रीमती कम्लीलाई न्याय दिने बहाना गर्दै मुखियाकै नेतृत्वमा प्रहरी प्रशासनद्वारा बलात्कार गराएर आत्महत्या गर्न विवश पारिन्छ । मुखियाले बोटेहरूको सारा जग्गा जमिन हडप्छ र कथा कम्लीको आत्महत्यासँगै अन्त्य हुन्छ । कथा सारांशमा यत्ति हो ।
कथालाई विभिन्न कोणबाट पाठकले आ- आफ्नै शैली र बुझाइ अनुरुप ग्रहण गर्न सक्छन् । यो कथा केवल कथा मात्रै नभएर विगतमा कुनै निश्चित समुदाय प्रति गरिएको अत्याचारको पराकाष्ठा हो । इतिहास पश्चताप गर्नको लागि र आक्रोश पोख्नको लागि मात्रै हुँदैन । भविष्यमा एक हात अघि बढ्न पचास हात पछि फर्केर हेर्नु उपयुक्त हुन्छ भन्ने नैतिक दृष्टान्तका लागि पनि हो । आफ्ना पुर्खाले अभिजातीय अहंकार सहित पदीय मर्यादा विपरित बलमिच्याई तवरले निश्चित समुदायहरू प्रति गरेको दानवीय व्यवहार प्रति क्षमा याचना माग्दै आगामी दिनहरूमा सबैको स्वत्व र अस्तित्व स्वीकारी समाभाव, आत्मीयता र समावेशी सहकार्यको प्रेमिल पाठ सिक्नका लागि पनि हुन्छ । यो अर्थमा यो कथा निकै सबल छ ।
कथामा बोटे समुसायको भाषा संयोजनले कथालाई अझै रोचक बनाएको छ ।यथेष्ट आञ्चलिक शब्दहरू कथा भरि हुनु कथाको पात्रहरूलाई अझै जीवन्त बनाउनु हो । अर्का समुदायका पाठकहरूले आंसिक रुपमै भए पनि आञ्चलिक लवज र भाषा बुझ्न र सिक्न यस कथाले सहयोग गरेको छ भन्ने पनि लाग्छ । कथाको यो पाटोलाई आदर सहित सरहाना गर्दछु।
“हामी छाक टार्न माछा मार्छौं
उनीहरू ठाँट टार्न मान्छे मार्छन् ”
– चलाही बोटे
“मोरे चिरैया उडलटी रे भुर
अहराके खतिरे चललटी दुर”
– बा (चलाही बोटेका बुवा)
जस्ता हृदयविदारक काव्यिक पंक्तिहरू र गीतांशहरूले यो कथालाई एक किसिमको मधुर काव्यिक लय पनि प्रदान गरेको छ । सिङ्गै कथा यिनै चार पंक्तिहरूमा अटाए जस्तो देखिने यो कथा हरेक पाठकको मन-मस्तिष्कमा अट्ने कथा हो । केही कथाहरूमा मेरो गंभीर असहमतिहरू पनि छन् । असमतिका बाबजुत पनि उत्कृष्ट २५ मा यो कथालाई छनौट गरेर हामी पाठकलाई पढ्ने मौका दिएकोमा आयोजक बाह्रघरी र निर्णायक त्रयलाई पनि धन्यवाद दिन चा हन्छु । बिट मार्दा मार्दै कथाकार मित्र मनोज चौधरी ज्यूलाई एक सुझाव अनि दिन चाहें । यो कथा विषय वस्तुका आधारमा आफैमा मौलिक पृथक र रचनात्मक हुँदा हुँदै पनि कता कता ध्रुवचन्द्र गौतमको चर्चित आख्यान ” अलिखित ” बाट प्रभावित हो कि हो कि जस्तो पनि देखिन्छ । आगामी कथाहरूमा यस कुरालाई ध्यानमा राख्नु भए निस्संदेह तपाईंका कथाहरूले एउटा अलग पहिचान बनाउने कुरामा विस्वस्त छु ।
प्रस्तुतकर्ता : कृष्ण विश्वकर्मा, भरतपुर-११, चितवन
हाल : आबुधाबी , संयुक्त अरब इमिरेट्स