संजय चौधरी
१० जुलाई। नेपालका थारू समुदायलाई चिनाउने घुङ्गी पर्यायवाची शब्द जस्तै भैसक्यो। थारुहरुको विशेष रुचाइने मध्ये एउटा स्वादिष्ट खाना पनि यहि घुङ्गी हो। पहिले पहिले घुङ्गी खाने थारु भनेर जिज्ज्याउने रुपमा हेपिएको परिकार अचेल भने थारु समुदायको मौलिक खाना मात्र सीमित नभई, गाउँ घर देखि लिएर शहरसम्म अन्य समुदायमा पनि लोकप्रिय हुन थालेको छ। घरमा बनाएर खान नपाउनेहरु आजभाेलि सानादेखि ठूला तारे हाेटलसम्म घुङ्गीकाे स्वाद लिनेहरुको संख्या बढ्दै गएका छन्।
घुङ्गीको लोकप्रियता बढेसँगै पछिल्लो समय चितवनमा यसको माग पनि बढ्न थालेको छ।माघीलगायतका विभिन्न अवसर एवं पर्वहरुमा लाग्ने मेला महोत्सवहरुमा थारु समुदायका घुङ्गीको स्टल नै राखेर प्रचारप्रसार तथा परिकार बिक्री वितरण गर्न थालिएपछि व्यावसायिकरूपमा यसको माग ह्वात्तै बढेको देखिन्छ। थारुहरुको रेस्तुरेन्टको स्टल भनेपछि घुङ्गीलाई एक अनिवार्य परिकारकाे रुपमा लिने गरिन्छ। त्यस्ता मेला बाहेक सामान्य अवस्थामा पनि थारु समुदायले संचालन गरेका होटेल रेस्टुरेन्टहरुमा घुङ्गी खोजि खोजि खान आउनेहरुको जमात ठुलै छ। त्यसो त घुङ्गीको माग बढ्दै गए पनि व्यावसायिक रुपमा उत्पादन गर्न नसक्दा मागअनुसार पूर्ति गर्न भने सकेकाे छैन। जसले गर्दा घुङ्गीकाे माग पूरा गर्न हम्मेहम्मे परिरहेको व्यवसायीको भनाइ छ।
घुङ्गी प्राकृतिकरूपमै पानीमा पाइने एक प्रकारको जीव हो तर अचेल धेरै मात्रामा किटनाशक औषधी तथा रासायनिक मलको प्रयोगले यो बिस्तारै लोप हुँदै गएको छ। यो विशेषगरि वर्षायाममा धेरै सक्रिय हुने धेरै मात्रामा अण्डा पार्ने गर्दछ। गाउँघरमा हुने धान खेत, दलदले हिलो, पोखरी, कुलो तथा सीमसार क्षेत्रमा पाइने घुङ्गीलाई माछासँगै व्यावसायिकरूपमा पालन गर्न सके मनग्य आम्दानी गर्न सकिने प्रशस्त सम्भावनाहरु छन्।घुङ्गी खानाले प्रचुर मात्रामा क्याल्सियम प्राप्त हुनुका साथै हड्डीको समस्या पनि ठीक हुने विश्वास गरिन्छ। रगतमा देखिएको सेतो रक्तको कमी, शरीर दुखेको, मर्केकोलगायतकाे उपचारमा समेत उपयाेगी मानिने हुँदा मानिसहरुले यसकाे खाेजी गर्न थालेका हुन्।
https://asianfood.kickshops.com/
घुङ्गी बनाउने तरिका
घुङ्गी खाेजेर ल्याइसकेपछि सबैभन्दा पहिले करिब २४ घण्टा जति सफा पानीमा भिजाएर राख्नुपर्छ। घुङ्गी भिजाउने भाँडाेमा मैदा वा आँटाकाे पीठाे पनि राखिदिए घुङ्गीले उक्त पीठाे खाएर यसअघि नै खाएको माटो शरीरबाट बाहिर निकाल्न थाल्छ। शरीरको माटो सफा भएर निस्केपछि घुङ्गीको पछाडिको चुच्चोतिरबाट थोरै काट्नु पर्छ।त्यसपछि सफा गरेर पकाउनुपर्छ। आवश्यक मात्रामा मसला, अदुवा, लसुन, नुन र खुर्सानीसमेतको घोलमा आधा घण्टासम्म फलामे कराईमा पकाएर घुङ्गीलाई खानयोग्य बनाइन्छ। यसरी तयार पारेको घुङ्गीलाई चुसेर त्यसभित्र रहेको प्रोटिनयुक्त मासुलाई तानेर खाने गरिन्छ।
मानव स्वास्थ्यको लागि स्वास्थ्यवर्द्वक मानिने घुङ्गी पछिल्लो समय अन्य समुदायले पनि खान थालेका छन्। माछा, मासु जस्तै घुङ्गीलाई पैसा तिरेर खानेको संख्या वृद्धि भएसँगै यसको कारोबार समेत फष्टाएको छ। अहिले काेराेना कहरका कारण हाटबजार बन्द भएका छन्। नत्र यसकाे सिजनमा प्रत्येक हाट बजारमा तरकारीसँगै घुङ्गी पनि राखेर बेच्न थालेका छन्। चितवनकाे हाटबजारबाट प्रतिकिलाे एकसयदेखि १५० रुपैयाँसम्ममा बिक्रि हुने गर्दछ।
श्रोत लगातार न्यूज डट कम