०९ जुलाई, वार्सावा।बेलुका छ बजे तिर आमा खाना बनाउन भान्सा पस्नु भयो। म भने दिउँसै फुटबल खेलेर गलेर आएको थिए। आमाले कतिबेला खाना पकाउनु हुन्छ र भोक मारौला भै राखेको थियो। यतिकै पीढिमा बसी राख्नु भन्दा बरु आमासंगै खाना पकाउन सघाए छिटो खान पाइने सोचेर म पनि भान्सामा गए। “आमा तरकारी के खाने आज”? भन्दै सोधें। जवाफमा आमाले आलु र बोडी पकाउने भन्नु भयो। मैले मुख बिगार्दै कत्ति आलु खानु, बरु यसो कुखुराको झोलसँग तत्त्तातो भात खान पाए कस्तो मिठो हुन्थ्यो भने। बाहिर हामी आमा छोराको कुरा सुनी राख्नु भएको हजुरआमाले “हैन कति मासु खान मन लाग्छ यो केटालाई म मासु नखाई पनि बाँचेकै छु बिहे गर अनि, ससुराली गएसी टन्न मासु खालास्” भन्दै हकार्नु भयो। “ह्या बुढीमाउ मासु नखाँदा भिटामिन कमि हुन्छ के, कहिले कहीं हजुरले नि खाँदा हुन्छ है बुढी मान्छे हड्डी कमजोर हुन्छ यसो बलियो हुनु पर्छ ” एकै सासमा भनें। फेरि थप्दै भनें ससुरालीमा हजुर जस्तै मोमु पर्नु भयो भने के को मासु खाने होला र त्यहि आलुको तरकारी त होला नि। मेरो कुरा सुनेर हजुरआमा झर्किदै लौ लौ भो पर्दैन तिमीहरु नै खाउ मासु मलाई पर्दैन। हामी त जमानामा ताजा तरकारी फलफुल खाएर त्यसै तगडा छौ। अहिलेका केटा केटी के भा का माछा-मासुबिना भातै नखाने, फलफुलले झन राम्रो हुन्छ स्कुलमा पढीनस् भन्दै धारा तिर जानु भयो। हामी आमा छोरा भने भ’को एउटा पोथी कुखुरा खुइलाउन लाग्यौ।
बिहे गरे पछि कैले कहिँ खाना खाने बेला हजुर आमाले भनेको कुराहरु याद आउँथ्यो।राईको घरमा मासु त पाक्ने नै भयो तर जस्तै भएनी सुरु सुरु ससुरालीमा अलि बढी नै लाज लाग्ने रै’छ। पुरानो हुँदै गएपछि लाज अलि कम हुने तर ससुरालीमा गर्ने आदर सत्कार पनि कम हुने रै’छ। कहिलेकाही हजुरआमालाई सुनाउन मन लाग्थ्यो कि मैले आज खसीको मासु खाएर आए भनेर तर अस्सी काटेकी मेरी हजुरआमालाई देखर माया लागेर आउथ्यो। विदेशमा हुदाँ पनि खुब मासु खाइयो, त्यहाँ झन् जता तरकारी हरु भन्दा मासु सस्तो, धेरै जसो कुखुराको खाइन्थ्यो। घरमा आमा संग कुरा हुँदा सुनाउथे “आमा आज मैले कुखुराको खुट्टा रोस्ट गरेर खाएको” आमाले ल ल खाउ बाबु भन्नु हुन्थ्यो, आफुलाई मन लागेको खाउ। बाबाले पनि कुरा खान मन लाको छ भने खानु भन्नु हुन्थ्यो, खानामा कहिल्यै कन्जुस्याई नगर्नु भन्नु हुन्थ्यो। मन लाई लाई, खाएन भने हामी भित्रको आत्मा मर्छ भन्दै सम्झाउनु हुन्थ्यो।आमाले नि जहिले त्यसै भन्नु हुन्थ्यो। घरमा कैले खसीको मासु पकाउनु भयो भने खानेबेला तँलाई सम्झेको थिए भन्नु हुन्थ्यो। मन भावुक हुन्थ्यो। “आमा मेरो चिन्ता किन गर्नु हुन्छ म यहि किनेर खाई हाल्छु नि, मैले नि आज खसीको मासु लिएर आ’को” भन्दै ढाडस दिन्थे।सायद एक्ली छोरी भएर होला सासुराली तिरबाट कोहि विदेश आउने भए भने सुकुटी पठाईदिनु हुन्थ्यो। फोनमा पनि “ज्वाईं कहिले आउनु हुन्छ, यहाँ भाले राखेका छौ” भन्दै सासुआमा सोध्नु हुन्थ्यो। कहिले साथीहरुसंग जमघट हुँदा मासुका अनेक परिकार बनाएर खान्थ्यौ, कुखुराको पाग्रा, रोस्ट, खसीको तास, छोयला। खाँदै गर्दा साथीहरुले फिलिपिन्स तिर मान्छेको मासु पनि खान्छन् भन्दै गफ गर्थे, मैले कहिं नभाको कुरा के सुनाई रा’को भन्दै हर्कार्थे।
घर गको बेला बुढीले फर्किदाँ काठमाडौँ घुमाईदिनु भन्दै जिद्दी गरिन्। हुन पनि बिहे भए पछि कतै घुमाउन लागेको थिईन। घर र ससुराली धरान र झापा बाहेक कहिँ देखेकी थिईन। विदेश उड्नु अघि तीन दिन अघि नै हामी काठमाडौँ आएर बस्यौँ। पहिलो दिन बिहानै पशुपति दर्शन गरेर दिउँसो स्वयम्भु, सेतो गुम्बा र नागार्जुन डाँडा गयौं।दोस्रो दिन बौद्ध र एयरपोर्ट तिर घुमौला भन्ने योजना त्यहि सांझ बनायौ। अर्को बिहान होटेलबाट निस्केपछि सेकुवा पसलेहुरुले रिक्सामा मासु ल्याई राखेको देख्ख्यौं। मैले बुढीलाई “भरे फर्किदाँ यहि सेकुवा खानु पर्छ” भने। उनले पनि हुन्छ भनी।ट्याक्सीमा धेरै खर्च हुने भनेर माइक्रो चढेर चाबहिल ओर्लिने अनि हिंडेर स्तुपा जाने सल्लाह गर्यौ। स्तुपामा एक फन्को लगाएर फोटोहरु खिच्यौं। बुढी खुब रमाई स्वम्भु भन्दा यहाँ रमाईलो भन्दै खुसि भईन्। हामी फेरि एकैछिन हिंडेर जाउँ अनि गुहेश्वरी मन्दिर पुगिन्छ भने, उनले हुन्छ भनिन्। गुहेश्वरीबाट फर्के पछि हामी बागमतीको छेउ छेउ पशुपति तिर लम्कियौ। दश मिनेट हिंडे पछी कतै मासु पोलेको बास्ना आयो। बिहान सेकुवा खाने कुरा गरेको याद आयो। हामी दुबैको मुख भरी पानी आयो। “ल छिटो जाउँ हौ, यतै सेकुवा खानु पर्यो”. भन्दै छिटो हिड्न कर गरे। दुवै जना त्यो मासुको बास्ना आए तिर बढ्यौ। जति अघि बढ्दै गयौं त्यति त्यति झन् झन् सेकुवा खाने तल तल लागि रह्यो। जसै हामी मासु पोलेको ठाउँ नजिक पुग्यौँ, मानिसहरु रोईराखेको देख्यौ। अघिसम्म जुन सेकुवा सोचेर हाम्रो मुख भरी पानी आईरखेको थियो, त्यो त लास पोलेको रहेछ। मलाई फनिफनी घुमायो, एकछिन दुबैजना त्यहीं थचक्क बस्यौँ। न त म केहि बोल्न सके न त बुढी नै केहि बोलिन। बिहानै देखि सेकुवा खाने सोचेको मुख भरि अमिलो डकार आयो। मनमनै सोचें आखिर कसैलाई नदेखाई मान्चीकै मासु दिए पनि मान्छेले खाने रै’छन्। बल्लबल्ल गौशाला आएर ट्याक्सी चढ्यौं बाटोभरी वाकवाकी लागेर आयो। दिनभरी केहि खाने मन लगेन र त्यहि दिन देखि मैले मासु खान छोडेँ ।
प्रस्तुति : एस डि अर्पण