मैले देखेको सामाजिक विभेद

३१ मे, वार्सावा । भर्खरै पश्चिम रुकुममा घटेको घटनालाई लिएर चौतर्फी विरोध एवं अपराधीहरुलाई कडा भन्दा कडा सजायको माग गर्दै सजाजिक संजालहरुमा आवाजहरु उठिरहेका छन् । नेपालमा पनि सडक देखि सदनसम्म कथित तल्ला जातले थरकै आधारमा मारिनु पर्ने अनि उच्च कहलिएका थरकै आधारमा उन्मुक्ति दिनु नहुने कुरा चर्को रुपमा उठिरहेका छन् । घटना घटाउने गाउँलेहरुले घटनाको प्रतिकार गरे पनि प्रारम्भिक प्रमाणहरु हेर्दा नवराज बिक लगायत उनका साथीहरुलाई लखेट्दै मारेर भेरी नदीमा फालेको देखिन्छ । नेपाल सरकारले तल्लो जातमा हुने विभेद अन्त्य गर्न विभिन्न नीति तथा कार्यक्रमहरु लागु गरे पनि कतिपय अतिवादी मानसिकता भएको मानिसहरुको दिमागबाट हटाउन अझै सकिएको छैन । रुकुममा पनि त्यस्तै मानसिकता भएका मानिसहरुका कारण अप्रिय घटना घट्न गयो जुन एकदमै अमानवीय बर्बरताको अवस्था हो । हामी शिक्षित एवं सचेत नागरिकले मुखले विभिद गर्दैनौ भने पनि हाम्रै कतिपय साथीहरुले मुखले एउटा व्यवहारमा अर्कै चरित्र देखेउने गरेको देख्छु । भलै पुरातन सोच भएका हाम्रा अविभावक एवं छरछिमेकमा विभेदकारी मानसिकता होलान तर हामी सचेत व्यक्तिहरुले पनि जातिय विभेद गर्नु कहाँसम्मको अन्याय हो । आज यहाँ मैले आफुले छरछिमेक तथा साथीहरुले गरेको जातीय विभेदको घटनाहरु विश्लेषण गर्न चाहन्छु ।

१) २०५७ सालको कुरा हो, मेरै छिमेकमा एउटा ब्राह्मण परिवारकी चेली संगै स्कुल पढ्ने बि क थर भएको केटा संग भगिन । गाउँ घर सबै तिर हल्ला भयो । केटाको परिवारमा कुनै समस्या भएन तर ब्राह्मण परिवारले उनीहरुको सम्बन्ध स्विकार्न तयार थिएनन् । केटीको परिवारले प्रहरीमा जाहेरी दियो कि केटिको विवाह गर्ने उमेर नपुगी भगिन् भनेर । मुद्दा मामिला कहाँसम्म पुगेर टुंगियो म सानै भएकोले त्यति कोट्याउन सकिन । केटिको परिवारले करिब एक महिनासम्म प्रयास गर्दा पनि उनीहरुको प्रेम छुटाउन सकेन । तर भन्ने बेला उमेर नपुगे आफुखुसी गरेको भनिए पनि त्यहाँ जातीय विभेद स्पष्ट देखिन्छ । घटना सामान्यीकरण भए पनि बजार जाने बाटोमा भएको छोरीको घर ब्राह्मण परिवार कहिल्यै गएको मैले थाहा पाएको छैन । त्यसबेला स्थानीय संचार माध्यमहरु त्यति सक्रिय नभएका कारण त्यो घटना धेरै फैलिएन ।

२) २०६२ सालमा एउटा कर्माचार्य थरका केटाले एक क्षेत्री थरकी केटिसंग ब्याण्ड बाजा बजाएर विवाह सम्पन्न हुँदै थि यो । मसंगै भएको एउटा साथीले सोध्यो कसको बिहे हुँदैछ, अर्को साथीले जवाफ दियो कर्मचार्यको छोराको बिहे हो नेताको छोरीसंग । पहिलो साथीले पुन: प्रश्न गर्यो केटाले के काम गर्छ, दोश्रो साथीले जवाफ थियो यत्रो ठुलो हार्डवेयर पसल कसको हो त । तर मेरो मनमा एउटा प्रश्न थियो यदि त्यो कर्मचार्य परिवार सम्पन्न थिएन भने पनि के क्षेत्री थरको परिवारले सम्बन्ध गाँस्थे । तर मैले जवाफ पाइसकेको थिएँ, त्यसैले आफ्नो प्रश्न सोध्न जरुरि ठानिन ।

water-624x434

३) २०७४ सालमा वार्सवामा एक साँझ केहि साथीहरुसंग बसेर वियरको चुस्कीमा रमाउदै थियौ । अनेक गफ गाफ हुँदै गर्दा एउटा भट्टराई थरका साथीले आफ्नो पुराना प्रेम कहानीको प्रसंग सुनाउन थाले । त्यहाँ उनले भन्दै थिए, यदि आफुले प्रेम गरेको केटि तल्लो जातको हुन्थेन भने उहीसंग प्रेम बिवाह गर्थे । त्यसैबेला मैले प्रश्न गरे यदि तपाईंलाई केटीको मन परेर प्रेम गर्नु भएको हो भने विवाह गर्न कसरी जातले छेक्यो ? अझ तपाईं हामी जस्तो शिक्षित व्यक्तिहरुले नै यस्तो कुरा गर्यो भने समाज कसरी परिवर्तन हुन्छ ? उनले मेरो कुरा प्रतिवाद गरे विवाह त कसरी गर्नु, परिवारमा मान्दैनन् अझ उल्टै त्यस्तो गरे तिम्रो परिवारले त मान्दैन भनेर अर्ति दिए । मैले जवाफ फर्काए यदि मलाई मन परेको केटि मेरो बिचार मिल्ने भए जुन सुकै थरको भए पनि आफ्नो परिवारलाई सम्झाएर विवाह गर्ने थिए । उनले फेरि भन्न जति सजिलो छ गर्न त्यति नै गार्हो छ भने। मैले नि भने त्यहि त हो झन् समाजलाई देखाउने सहि मौका । तपाईले प्रेम गर्ने बेला न त केटीको जात सोध्नु भयो न त उसले छोएको पानी पिउँदा तपाईंलाई केहि भयो, फेरि जवानी चल्यो विवाह किन हुन सकेन ? यदि तपाईंलाई जात हेरेर प्रेम गर्नु थियो भने सुरुमै किन सोध्नु भएन, किन उसको भावनासंग खेल्नु भयो ? यदि भोली परिवारमा कोहि बिमारी भएर रगतको आवश्यक पर्यो भने के त्यसबेला नि त्यो रगत कुन थरको मान्छेले दाङ गरेको हो भनेर हेर्नु हुन्छ ? भनेर प्रश्न गरेपछि उनि चुप लागे र पिसाब लाग्यो भन्दै शौचालय गए ।

यी माथिका सबै तल्लो र माथिल्लो भनाउँदा जातबीच भएको विभेदको उदाहरणहरु हुन् जुन मैले आफ्नै छिमेकमा देखे भोगेको घटनाहरु हुन् । यस बाहेक पनि मेरै घरको आडमा भएको ब्राह्मण परिवारले उनीहरुको छोराले क्षेत्री केटी बिहे गर्न खोज्दा बडो मुस्किलले मानेको देखेको छु । मेरै ब्राह्मण साथीले क्षेत्री केटीसंग माया प्रेम बसेर विवाह गर्न सम्भव नभए पछि भागेको तर घरमा प्रवेश गरौन निकै संघर्ष गर्नु परेको देखेको छु । सरकारबाट जातिय विभेद नभएको घोषणा गरेता पनि कतिपय पुरातन मानसिकताका कारण समाजबाट छुवाछुत हटाउन सकिएको छैन । पालमा सामाजिक व्यवस्था व्यस्थित बनाउने राणा जंग बहादुरले १९१० मा मुलकी ऐन लागु गरे जहाँ हिन्दु जातीय प्रणाली लादियो । उनले आफ्नो हिसाबले प्रकाशित गरे पनि समय र सत्ता परिवर्तन हुँदै जाँदा पटक पटक संसोधन गर्दै त्यसमा रहेका कुरीति, अमानवीय क्रियाकलापहरु गर्न नपाइने गरेमा दण्ड जरिवाना सजाय वा कारावास पनि हुने व्यस्था गरिदै गईयो । अहिलेसम्म आइपुग्दा २६ पटक संसोधन भैसकेको छ । नयाँ नेपालको परिकल्पनासंगै संबिधान लागु भएको छ । कुनै समय थियो मानिसको उनीहरुले गर्ने कर्मको आधारमा चार विभिन्न जात र उपजातमा विभाजन गरेर उनीहरुको सन्ततिले पनि त्यहि पछ्याउनु पर्ने । मैले जात परिवर्तन हुँदैन, जन्मजात हुन्छ भनेर पढे तर मेरा गुरु एवं सहपाठीहरुसँग एउटै कुरामा विवाद हुन्थ्यो कि मान्छेले बनाएको व्यवस्था किन परिवर्तन हुँदैन ? मुलुकी ऐनमै माथिल्लो जातको केटा ले तल्लो जातको केटि बिहे गरि ल्याएमा ऊ तल्लो जातमा झर्ने नियम बनाइएको थियो भने त्यहि निर जात परिवर्तित छ बन्ने देखि सकियो ।

हुन त खासमा थरकै आधारमा जात कहिँ कतै हुँदैन, यो त केहि ऋषिमुनिहरुले हिन्दु धार्मिक पुस्तक लेख्ने बेला आफु ठुलो कहलिनलाई अरुलाई तल्लो जातको दर्जा दिए । तल्लो जातको लागि छोई छिटो गर्नु पर्ने, शुद्ध अशुद्ध हुने, मन्दिर जानु नपाउने, विहेवारी आफ्नै जात भित्र गर्नु पर्ने । यी कुरीतिहरु हटाउँदै नेपाल सरकारले नीतिगत रुपमा लागु गर्यो तर समाजमा रहेका पुरातन मानसिकता हटाउन सकेन । अझै पनि कतिपय शिक्षित, आफुलाई समाजका अगुवा ठान्नेहरुले कुरामा मात्रै सिमित गरेको देखेको छु । यद्यपी त्यस्ता व्यक्तिहरुले घर भित्र प्रवेश गराउने, छोएको खाने गर्छन् तर जब विहेवारी गर्ने कुरा निस्कन्छ तब हच्किन्छन् । उच्च जातकै व्यक्तिहरु पनि तल्लो भनिने जातका चेलीहरुसंग माया प्रेम गर्छन् तर बिहे गर्न मान्दैनन् । त्यस्ता व्यक्तिहरुसंग पनि कैयौँ पटक जवानी चल्ने पानी नचल्ने, यदि जातीय विभेद गर्ने भए कथित तल्लो जातको श्रम, पसिना, कला एवं मेहनतले बनेका कुन पनि चिज प्रायोग नगर्नु भन्दै वाद विवाद गरेको छु । जबसम्म तल्लो भनिने जात र माथिल्लो भनिने जातबीच विहेवारी गर्न सहज हुँदैन तबसम्म यो छुवाछुत हाम्रो समाजबाट हट्यो भन्ठान्नु हाम्रो गल्ति हुनेछ । नेपाल सरकारले तल्लो र माथिल्लो भनिने अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न आर्थिक सहायता गर्ने भनिएता पनि यस्ता मानसिकता बोकेका पनिसहरु समाज भएसम्म त्यस्ता परिवारलाई जीवन जिउन त्यति सहज छैन । नवराजले कुनै अपराध गरेका थिएनन् उनले माया जस्तो पवित्र बन्धनलाई उदाहारणिय बनाउने प्रयास गरेका थिए । तर बिडम्बना केहि विकृत मानसिकता बोकेका व्यक्तिहरुले उनलाई संसारबाटै बिदा गरिदिए । मर्नु त तिनीहरुले पर्ने थियो जसले नवराज जस्ता अनेकौँ व्यक्तिहरुको समाजमा स्वतन्त्र तवरले बाँच्ने अधिकार खोसी दिएका छन् । अन्त्यमा नेपाल सरकारसंग मेरो आग्रह यस घटनामा संलग्न कोहि पनि अपराधीहरु उम्किन नपाउन र कडा भन्दा कडा सजायं होस् ताकी आगामी दिनमा यस्तो हर्कत गर्ने कसैले आँट पनि नगरोस् । सुपरसोनीक विमान र अन्तरिक्षमा मानव वस्ती बसाल्न योजना बुनिरहेका बैज्ञानिक युगमा पनि मेरो देशमा जात कै नाउँमा कसैले आफ्नो ज्यान नै गुमाउनु परेको समाचार सुन्दा, पढ्नु पर्दा सांच्चै धेरै दु:ख लाग्छ र हाम्रो समाज अझै कति पछाडी रहेछ भन्ने प्रश्न उब्जिएको छ ।

प्रस्तुति: एस डि अर्पण

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.