एस डी अर्पण
३० मे, वार्सावा ।सारा विश्व कोरोनाभईरसको महामारीले निम्त्याएको जीवन मरणको लडाईसंग जुधिरहेको बेला दक्षिण एसियामा भने थप अर्को सलहको आतंकसंग जुध्नु पर्ने भएको छ । विश्वकै एक खतरनाक तथा विनासकारी आप्रवासी किराको रुपमा चिनिने सलहको ठूलो समूह केन्या, दक्षिण अफ्रिका हुँदै पाकिस्तान र अब भारत आएर आतंक मच्चाईरहेको छ । सलह किराको विशाल झुण्ड पश्चिमी र मध्य भारतमा बालीलाई सखाप पारिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्, जसलाई भारतमा अहिलेसम्मकै सबैभन्दा ठूलो आतंक बताइएको छ । ड्रोन, ट्याक्टर र ट्याक्सीको मद्दतले यस किराको प्रभावित क्षेत्रको पहिचान भइरहेको र किटनाशक औषधी छर्किएर भगाउने प्रयास पनि भइरहेको बताइएको छ । विभिन्न संचार माध्यममा आएको जानकारी अनुसार भारतमा सलहले ५० हेक्टर जमिनमा लगाइएको कृषि–बालीलाई सखाप पारिसकेको बताइएको छ । प्रतिवर्ग किलोमिटरको दरले फैलिरहेको आठदेखि १० सलहको समूहले राजस्थान तथा मध्य प्रदेशको केही भागमा सक्रिय रहेको भारतको सलह चेतावनी संगठनका उपनिर्देशक एल गुर्जरले बताएको एएफपीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । यस कोराको आक्रमणले यी दुवै राज्यमा मौसमी फलफूल तथा बालीमा भारी मात्रामा नोक्सान पुर्याइरहेका छन् ।
भारतमा आतंक मच्चाउनु अघि सलह किराले पाकिस्तानमा ठुलो नोक्सानी पुर्याईसकेको छ । अहिले यसका केहि समूह भारतको अन्य राज्यमा पनि सक्रिय भइरहेको गुर्जरले बताएका छन् । कोरोना भाइरसको महामारीसँग जुधिरहेको भारतमा सलहको आक्रमणबाट त्यहाँका किसान निराश बनेका छन् । पाकिस्तानको सीमासँग जोडिएको भारतको राजस्थानका केही क्षेत्रमा हरेक वर्ष सलहको सामान्य आतंक हुने गरेको छ, तर विगत तीन दशकमा सलहको यति ठूलो आतंक पहिलो पटक हो । सन् १९९३ पछि भारतमा यति ठूलो मात्रामा सलहको आक्रमण देखिएको थिएन । जुनमा यस किराको प्रकोपको स्थिति अझ गम्भिर बन्ने विशेषज्ञहरुले चेतावनी दिएका छन् । सन २०१९ को सुरुवात तिर केन्या तथा अन्य अफ्रिकी मुलुकमा देखा परेको सलहको झुण्ड जुनमा पाकिस्तानको पूर्वी भागमा देखा परेको थियो भने अहिले भारतको ५ प्रदेशहरु राजस्थान, महाराष्ट्र, मध्य प्रदेश, गुजरात तथा उत्तर प्रदेशमा पनि देखा परी सकेको छ । उत्तर प्रदेशको ३३ जिल्लामध्ये १७ जिल्लामा सलहको आक्रमण देखा परेको छ ।
के हो सलह र कसरी आतंक मच्चाउछ ?
सलहलाई अंग्रेजीमा ‘डेजर्ट लोकुस्ट’ भनिन्छ । सलह एक सामान्य फट्याङ्ग्रा जस्तै देखिने प्राय: मरुभूमि एवं सुनसान क्षेत्रमा पाइन्छ । यो एउटा अन्डाबाट उत्पति भएर पखेटा भएको किरामा परिवर्तन हुन्छ । ठुलो भएपछी जब यिनीहरु बलिनालीमा एक साथ जामा हुन्छन् तब एक साथ मिलेर यिनीहरुले भयानक रुप लिन्छन् । यो झुण्डले एक दिनमा २ सय किलोमिटरसम्मको यात्रा गर्न सक्छन् । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अनुसार एक औसत सलहको समुहले अढाई हजार मानिसको पेट भरिने अन्न एक दिनमा नष्ट पार्नसक्छ । अब आफैँ बिचार गरौ यो मानव जगतको लागि कत्तिको विनासकारी छ । संयुक्त राष्ट्रसंघका अनुसार, सन् २००३–०५ को बीचमा पनि सलहको संख्यामा यस्तो वृद्धि भएको देखिएको थियो, जसमा पश्चिमी अफ्रिकाको खेतमा २५० अर्ब डलरको नोक्सान भएको थियो ।
एउटा वयस्क सलहले हरेक दिन आफ्नो तौल बराबर अर्थात् करिब २ ग्राम खाना खान्छ । त्यसैले बाढी तथा सुख्खापन जस्ता कारणले खाद्य संकटसंग जुधिरहेको क्षेत्रमा थप भोकमरी जस्तो संकट उत्पन्न गराउँन सक्छ । सन् २०१८–१९ मा आएको चक्रवाती आँधी तथा भीषण वर्षका कारण सलहको संख्यामा वृद्धि भएको बताइएको छ । संयुक्त राष्ट्रसंघको को खाद्य तथा कृषि संगठनले जनाए अनुसार चार करोड संख्याको एक समूहले ३५ हजार मानिसलाई पुग्ने खाद्य समाप्त पार्न सक्छन् । भारतको उत्तर प्रदेश नेपालको सबैभन्दा नजिक रहेको हुनाले नेपाल पनि सलहको चपेटमा पर्न सक्ने प्रवल सम्भावना देखिन्छ ।कोरोना भाईरसको महामारीले खस्केको देशको आर्थिक अवस्थाकाबीच किसानको बालीनालीमा सलहको आक्रमणले नेपाल जस्तो कृषि निर्भर देशमा खाद्य संकट उत्पन्न गराउँन सक्छ ।