परदेशबाट मातृभूमि नेपाललाई नियाल्दा
एक्काईसौं शताव्दीको २०२० मानव जातिको इतिहासमा शायद कहिल्यै नमेटिने छाप छोडेर जाने पक्का पक्कि भैसकेको छ। मानव विकास संगै मानव द्वारा निर्मित विज्ञान र प्रविधि सौर्य मण्डल बाहिरको दुनियाको बारेमा अध्ययन अनुसन्धान गर्ने क्षमता सम्म पुगे पनि अन्तमा आँखाले देख्न नसकिने सुक्ष्म भन्दा सुक्ष्म जीवाणु कोरोनाको अगाडी घुँडा टेक्न वाध्य भएर सारा मानव जगत निरिह बनि घर भित्र सामाजिक दुरी कायम गर्दै बस्नु परेको यथार्थ कतिले भोग्यौं र कतिले अझै भोगिरहनु परेको छ। यो अप्रत्यासित परिस्थितिले एउटा परिवार, समाज हुँदै राष्ट्र र सिङ्गो दुनियालाई राम्ररी पाठ पनि सिकाई दिएको छ । कुन राष्ट्र र राष्ट्र नायक कति सबल रहेछन् भन्ने पनि छर्लङ्ग पारिदिएको छ यो सुक्ष्म जीवाणु कोरोनाले।
विश्वको कुना कुनामा छरिएर बसेका गैर आवासीय नेपालीहरु पनि कोरोनाको कहरबाट अछुतो रहन कहाँ सम्भव थियो र। लगभग १०० जना जति गैर आवासीय नेपालीहरुले दिवंगत प्राप्त गरिसकेका छन् भने सात हजारको हाराहारीमा संक्रमित भएका छन्। हाम्रो मातृभूमि नेपालको कुरा गर्नु पर्दा विश्व स्वास्थ्य संगठनले सुरुवाती दिनहरुदेखि नै सावधान गराउँदै आइरहेता पनि अन्तमा प्रवेश भएरै छोड्यो र दिनानुदिन संक्रमितहरुको संख्या बढ्दो क्रममा छ। त्यसै त हरेक दृष्टिकोणले कम्जोर नेपालको आर्थिक अवस्था , विप्रेषणमा गिरावट त्यसमाथि बन्दा बन्दिको कारणले मुलुक भित्रै आर्थिक गतिविधि नहुँदा सबै भन्दा धेरै अर्थ तन्त्रमा प्रभाव पर्ने देशहरु मध्ये नेपाल पनि एक हुने भविष्यवाणी अर्थविदहरुले गरिसकेका छन्।
वर्तमान अवस्थामा मुलुक भरि फैलिएको कोरोना महामारी व्यवस्थापन , प्रवासमा विचल्लिमा परेका नेपालीहरुलाई उद्दार गर्नु पर्ने माग बढिरहेको दवाव र अचानक ठूलो संख्यामा प्रवासी नेपालीहरु घर फर्कंदा सम्हाल्नु पर्ने चुनौतीहरु त छँदै छ त्यस माथि भर्खरै सुरु भएको छिमेकी देश भारत संगको सिमा विवाद र त्यसले निम्त्याउन सक्ने नयाँ समस्याहरुको सामना गर्न तदारुकताका साथ गर्नु पर्ने रणनितिहरुको निर्माण। त्यति सजिलो छैन नेपाल र नेपाल सरकारलाई अहिलेको अवस्थामा।
भारत र नेपाल विच सामाजिक, आर्थिक र धार्मिक हिसावले सबै भन्दा नजिकको सम्वन्ध भए पनि पटक पटक परस्पर सम्वन्धमा दरार पैदा भएका घटनाहरु भई धेरै पटक आफ्नो निहित स्वार्थवस भारतले नेपाललाइ आर्थिक नाकावन्धिमा पार्ने गरेको छ। लिम्पियाधुरा क्षेत्रमा भारतले निर्माण सम्पन्न गरेको सडक धेरै महत्वाकांक्षी योजना हो भन्ने कुरामा दुइ मत छैन। नेपालको वर्तमान परिस्थितिबिच नेपाल सरकारले नेपालको नयाँ राजनैतिक नक्सा जारी गरेको कदम नेपाल र नेपालीहरुको निम्ति कति हितकर छ त्यो त भविष्यले नै वताउला तर विगतमा झैँ यसपाली पनि भारत सरकारले नेपाललाइ दवावमा पार्न हदै सम्म नगर्ला भनेर भन्न सकिन्न।
त्यसै त कोरोनाको कारणले थिलो थिलो बनेको देशको अवस्था त्यसमाथि भारतले आफ्नो स्वार्थको लागी आर्थिक नाकाबन्दि गरिदियो भने अवस्था भयावह हुनेछ भनेर सहजै जो कसैले नि अनुमान गर्न सकिन्छ। प्रवासबाट कोरोना महामारीको प्रकोपलाई लिएर मातृभूमि नेपाल , परिवार सदस्य र आफन्तहरुको चिन्ता गरि रहेका हामी , यो नयाँ परिस्थितिले थप चिन्तित बन्न पुगेका छौँ। आशा गरौँ नेपाल भारत सिमा विवादले सुरक्षित अवतरण गर्ने मार्ग पाओस , सबैको भलो होस्। बाबा पशुपतिनाथले सबैको कल्याण गरुन्
भवानी तिवारी
भिएना , अष्ट्रिया