१८ मे, वार्सावा ।नेपाली मुलका २२ वर्षीय युवा आर्थर गन अर्थात दिवेश पोखरेलले १८ औं अमेरिकन आइडलको उपबिजेताको उपाधि जित्दै बन्दै दोस्रो स्थान हासिल गर्न सफल भएका छन् । सुरु देखि नै आफ्नो दरिलो दर्शक श्रोत एवं निर्णायकहरुको मन मस्तिष्कमा बस्न सफल आर्थर उपाधिको प्रबल दावेदार मानिन्थे अद्यपि विजता भने जस्ट साम भईन । कोरोनाभाइरसको महामारीबाट गुज्रीरहेको अमेरिकामा गएराती टप सातमा परेका आर्थर गन, जस्ट साम, जोनी वेष्ट, डिलोन जेम्स, फ्रान्सिस्को मार्टिन, जुलिया गार्गानो र लुइस नाइट सबै प्रतिस्पर्थीहरुले अनलाईन मार्फत आफ्नो प्रस्तुति दिएका थिए ।
विश्वभरिबाट विभिन्न माध्यमहरुद्वारा दर्शक एवं श्रोतले दिएको भोटिंगको आधारमा आर्थर गन उपविजेता बनेका हुन् ।
अमेरिकन आइडलको फाइनलमा पुग्ने दिवेश नै पहिलो नेपाली हुन् । काठमाडौंको रवीभवनमा जन्मिएका दिवेश सन् २०१४ देखि अमेरिका बस्दै आएका छन् । नेपालीहरुको शिर उँचो गर्दै अमेरिकन आईडल जस्तो प्रतिष्ठित रियालिटी शोमा पुगेर करोडाैँ दर्शक श्रोतहरुको मन जित्दै दोश्रो स्थान हासिल गर्न सफल आर्थर गन (दिवेश पोखरेल)लाई पोल्याण्डनेपाल परिवार हार्दिक बधाई एवं आगामी दिनमा अझै सफल हुनुहोस भन्दै हार्दिक शुभकामना दिन चाहन्छौँ ।