वरूण ज्ञवाली
देश लकडाउनमा फसेको ५० दिन पुग्यो । दिनहुँ संक्रमितहरु बढेको देखिएकाले हामि संयमित र सजक हुन जरुरि छ। देश लकडाउनमा भए पनि हाम्रो दिमाग लकडाउनमा छैन । दिमागको अनन्त शक्तिलाई पूर्णतम प्रयोग गर्ने मैले बुझेसम्म अलि कठिन नै कार्य हो ।
लकडाउनकै प्रसङ्गमा बिगतका कुरा गरौ सन १६६५ मा लन्डन शहरमा बिबोनिक ब्लेक भन्ने रोगको महामारी फैलिएको थियो । त्यो समय लन्डन शहर लकडाउनमा परिणत भयो । जब देश लकडाउनमा गयो लन्डनको प्रख्यात University,Cambridge University पनि बन्द भयो । जहाँ अध्ययनरत एक बिद्यार्थी कलेजको पढाई बन्द भएपछि आफुलाई स्वतन्त्र महशुस गर्छन् अनि आफ्नो ठाउमा चिन्तन मनन गर्दै प्रकृतिसँग खेल्दै गर्दा स्याउको रुखमुनि बस्छन् त्यहि बेला रुखबाट स्याउ खस्छ । त्यहि स्याउ खसेको घटनाले बिश्वमा एउटा युगपुरुषको जन्म हुन्छ । ति हुन सर आईज्याक न्युटन । जसले न्युटनको गुरुत्वआकर्षण सम्बन्धि नियम पत्ता लगाए ।
चिन्तालाई चिन्तनमा रुपान्तरण गर्नु नै उत्तम हो । म पनि बुटवलमा मास्टर लेभल पढ्दै गरेको युवक लकडाउनको समयमा गुल्मीको गाँउमा आएको छु । हाम्रोतिर स्याउ त पाईदैन लिचि चै पाउछ । लिचिको बोटमुनि बसेर चिन्तन गर्ने प्रयास गर्छु । लिचि खस्दै खस्दैन पात मात्र खस्छ । के थाहा फ्याट्ट म पनि लिचिको बोटमुनि बसेर चिन्तन गर्दै गर्दा गुरुत्वआकर्षण त होइन अर्कै कुनै आकर्षणको नियम पत्ता लगाएर युग पुरुष हुन के बेर !
गाँउमा नयाँ मान्छेको खास आगमन छैन, सुरक्षित नै छ । त्यसैले तल्लाघरे माथिल्लो घरे चहार्दा खासै फरक नपर्ला भन्ने बिचार गर्दै मैले आमालाई सोधे,’आमा यसो गाँउतिर जानुपर्यो ।’ आमाले भन्नुभो,’अस्ति खनेको तरुल छ एक छाक भएपनि हुन्छ नाइडाडा लैदेन त जाँदा खेरि ।’
‘ल ल प्लास्टिकमा राख्दिनुु ।’ पानि दिनहुँ जसो परिरहेकाले डाडाँकाडाँहरु भरखर नुहाएकि १६ बर्षे युवतीले कपाल फिजाएझै देखिन्थे । बाटोमा जादैगर्दा किर्र आवाज गरेका किराहरु र पारि रिडिखोलाको स्वा.. गरेको आवाजले ध्यान आकर्षित गर्दै थियो ।
नाईडाडा पुगेर तरुल दिए अनि त्यहाबाट फर्केर कान्छा खत्रि, सानिदिदिकोमा पुगे । सानिदिदि कान्छा खत्रि बा कि अबिवाहित ५६,५७ बर्षकि राईली छोरी हुनुहुन्छ । नगदे बालि र गोठभैसी कृषि गर्दै आफ्नो जिविकोपार्जन चलाईरहनुभाछ । जाँतो घिरघिर पार्दै मकैलाई कात्रो पिस्दै हुनुन्थ्यो । ‘ए दिदि नमस्ते सन्चै हुनुन्छ ?’ मैले सोधे । दिदिले जाँतो टक्क रोकेर भन्नुभो, ‘नमस्ते बाबु, खबर के हुन्छर मेरो । तिमि सन्चैं छौ ? लकडाउन त बर्षैभरि हुने भयो रे है ?’ दिदिलाई कुन चाईले बर्षैभरि लकडाउन हुने भो भनेर लाईदिएछ । दिदिको एकैपटक २ ओटा प्रश्नलाई जवाफ नदिई अन्तिम प्रश्नको मात्र जवाफ दिए । ‘कहाँ बर्षभरी हुनु दिदि सरकारले ५ गतेसम्म भन्या छ, अर्को निर्णय के गर्छ थाहा छैन।’
प्राय: हरेक घरका चेलिहरुको २ ओटा फरक परिवारसँगको नाता हुन्छ । उहाँको घर र माईत भन्नु दुबै एकै थियो । उहाँको बिगत खोतल्न मन लागेर आयो । ‘दिदि तपाईले पढ्नु भएन ?’ भन्दै सोधें । प्रतिउत्तरमा ‘पढ्न त पढेकि हुम नि बाबु तर कति पढे याद नै भएन । ओलपाटेकाले र तिम्रा माईलाबाका मितले यहि माथि पोखरामा पढाउथे, तिम्ले जान्यौ नाई पोखरामा स्कुल भको ?’
‘नाई दिदि म त जानेन नि झ्वाले स्कुलमा हो म पढ्या त तर पोखरामा भत्किएको पुस्तकालय चै जाने’ मैले भने । ‘तारा, हाम्रि कान्छि पढ्थिम । मलाई त पढ्नै आएन भकाराभरि डिगा थिए बाले राईलिले पढ्न जानिन भन्दै गाई पनि जोड्नुभो, स्कुल जान छोडेर म गाई चराउन जान थाले ।’
मैले फेरि उत्सुकताका साथ सोधे ‘दिदिहरुको बिहे भएपछि तपाईको पालो आउदा घरकाले बिहे गर भनेनन र ? मन लागेन ?’ मुसुमुसु हास्दै दिदिले भन्नुभो, ‘घरकाले त भनेका थे मलाई बिहे गर्नै मन छैन कान्छिलाई भन्नु भन्दिए अनि कान्छिले बिहे गरि ।’
दिदि आफै प्रसँग बदलेर भन्नु भो,’चिया बनाम खान्चौ ?’
‘होइन दिदि यता नाईडाडा गएर आको थिए यसो दिदिलाई पनि भेट्छु भनेर पसेको । ल दिदि अहिले निस्किए है। काम भुलाए कि बरु मैले ।’
‘के को भुलाउनु र बाबु, आयौ कुरा गर्यौ खुसि लाग्यो मलाई त, आउदै गरे है।’ दिदि पनि खुसि देखिनु भो । दिदिसँगको कुराकानिबाट खुसि लाग्यो मलाई दिदिको आखामा पनि हर्षको अनुभुति देख्न सक्थे म । खुसि भन्ने कुरा दिमागको स्थिति हो । कोहि के मा खुसि हुन्छन भने कोहि के मा ।
यसरी गाँउ खुशी छ यतिबेला पनि । बाहिरबाट हो कोरोना आउने । गाँउले जीवन सहज छ, हाँसीखुशी छ । यो समयलाई चिन्तन, मनन, अध्ययन र भोगाइलाई संग्रहित गर्दै नयाँ सोंचको आधार बनाउनका लागि उपयोग गर्न कस्ले रोक्छ र ? त्यसैले गाँउको यो बसाईलाई उपयोगी बनाउन सकिने वातावरण छ भन्ने अनुभूति भएको छ मलाई ।
गोरक्ष राष्ट्रिय दैनिक जि समाचारबाट