कसरी फैलियो युरोपमा संस्कृत भाषा

Tikaram-yatri-58a3d4ba3b28f4.82170785

टिकाराम यात्री

संस्कृत भाषा फगत भाषा मात्रै होइन, संस्कृति हो, सभ्यता हो, अध्यात्म हो र हो पूरै जीवनपद्धति पनि । तर बाहिरको नियोजित आक्रमण र आफ्नै बेवास्ताले अहिले दक्षिण एसियाबाटै संस्कृत भाषा लोपोन्मुख छ ।

तर हामीले यसको विराटता र वैज्ञानिकता नबुझे या बेवास्ता गरे पनि युरोपमा भने शताब्दीयौंअघि यो भाषा कहिल्यै नमासिने गरी पसिसकेको छ । यो आलेखमार्फत कसरी संस्कृत भाषा युरोप र बाँकी विश्व पुग्यो, कुन रूपमा अरू भाषालाई समृद्ध तुल्यायो र त्यहाँको दर्शन, इतिहास र साहित्यमा पोखियो भन्ने विषयलाई उठाउने प्रयत्न गरिएको छ ।

युरोपका विश्वविद्यालयहरूमा सन् १७९० बाट नै औपचारिक रूपमा संस्कृत भाषामा पठनपाठन हुन थालिसकेको थियो । जतिबेलासम्म भारतमा इस्ट-इन्डिया कम्पनीको उपस्थिति व्यापारिक प्रयोजनको लागि मात्रै थियो, उपनिवेश कायम भइसकेको थिएन । युरोपमा ‘मिडेभल एज’ पश्चात् पुनर्जागरणकालकै उत्तरार्धमा संस्कृत पठनपाठन हुन थालिसकेको थियो ।

अचम्मलाग्दो कुरा त यो छ कि आज दक्षिण एसियामा जति गुरुकुल, विद्यालय र विश्वविद्यालयहरूमा संस्कृत भाषामा पढाइ हुन्छ त्योभन्दा ठूलो संख्यामा युरोप र अमेरिकाका विश्वविद्यालयहरूमा संस्कृत भाषामा पठनपाठन हुन्छ । पूर्वीय दर्शनको सबैभन्दा खदिलो र सार ग्रन्थ भगवत गीताको पहिलो अंग्रेजी अनुवाद सन् १७८५ मा चाल्स विल्केनले गरेका थिए ।

त्यसलगत्तै सन् १७८७ मा अवे प्राउडले अंग्रेजी अनुवादलाई फ्रेच भाषामा पुनः अनुवाद गरेका थिए । त्यसैगरी जर्मन भाषामा सन् १८०२ मा भगवतगीता अनुवाद भएको थियो । एकडेढ दसकभित्रमा भगवतगीता युरोपमा मुख्य रूपमा बोलिने सबै भाषामा अनूदित भइसकेको थियो । त्यसपछि धमाधम युरोपेली देशहरूमा संस्कृत अध्ययन केन्द्रहरू खुल्न थाले । संस्कृत अध्ययन केन्द्र खुल्नुमा संस्कृत मातृभाषीभन्दा पनि यसभित्रको विराट् दर्शन, वैज्ञानिकता तथा उपयोगिता देखेर स्वयम् नवदीक्षित संस्कृतज्ञ युरोपेलीहरूको पहल र अग्रसरतामा यो सम्भव भएको थियो ।

संस्कृतको सबैभन्दा फराकिलो विश्वव्यापीकरणको श्रेय भने जर्मन दार्शनिक तथा चिन्तक आर्थन सोपेनहावर (सन् १७८८—१८६०) लाई जान्छ । उनको विश्वचर्चित पुस्तक ‘दि वल्र्ड एज विल’ (१८१८) ले उपनिषद्, वेद, वेदान्त, कौटिल्यको अर्थशास्त्र, पाणीनि व्याकरणलगायतको सर्वांगीण पक्षको चर्चा गरेको छ । सोपनहावरको पुस्तक तथा भगवतगीताका अघिल्ला अनुवादका कारण उन्नाइसौं शताब्दीका कैयौं चिन्तक, दार्शनिक, कवि, साहित्यकारका रचनामा यसको गहिरो प्रभाव पाइन्छ । यो समय विश्व साहित्यमा स्वच्छन्दतावादी काल थियो ।

त्यसैले पनि यो कालका कयौं साहित्यकार तथा कविहरूमा संस्कृति वाङ्मयको गहिरो प्रभाव पाइन्छ । सर विलियम जोन्स, विलियम वल्डवर्थ, पीवी सेली, विलियम ब्लाक, जोन किड्स, भोल्टेयरका रचनामा पूर्वीय दर्शनको उल्लेख्य चर्चा पाइन्छ । त्यसैगरी जोन गोथे, म्याक्स मुलर, हिगेल, हार्मन होस, लियो टोल्सटोय, टिएस इलियटहरू भगवतगीता र उपनिषद्बाट गहिरो गरी प्रभावित भएको उनीहरूका कृति पढ्दा प्रस्ट हुन्छ । युरोपबाट प्रकाशित सामग्रीहरूमा समेत यी उल्लिखित व्यक्तिहरू पूर्वीय दर्शनका कृतिबाट अभिप्रेरित भएको उल्लेख पाइन्छ ।

टीएस इलियटको प्रसिद्ध कविता ‘दी फोर क्वाटर्स’ मा भगवतगीताको सार छ । युरोपमा व्याप्त निराशाका बीच लेखिएको यो कवितामा केन्द्रीय भाव गीताको समभाव र आशावादितालाई समेटिएको छ । भोल्टेयर, इम्यानुयल कान्टले समेत संस्कृत इन्डो—युरोपेली भाषाको जरोका रूपमा स्विकारेका छन् । भोल्टेयर लेख्छन्, ‘म यति कुरामा सहमत छु कि हामीकहाँ (युरोपमा) आएका प्रायः सबै विषय र ज्ञानको स्रोत गंगा नदीको किनार हो । संस्कृत मातृभाषीले बाँकी विश्वलाई दीक्षित तुल्याउन मद्दत गरेका हुन् ।’ त्यसैगरी कान्ट लेख्छन्, ‘मानव सभ्यता र ज्ञानविज्ञानका उपलब्धिको जरो संसारको छानो हिमालयबाट विस्तार भएको हुनुपर्छ ।’

आज आफ्नो स्थानमा लोपोन्मुख भएको संस्कृतको फैलावट यति विराट् र विषद् होला भन्ने विषयसमेत हामीलाई कल्पनातीत विषय लाग्न सक्छ । हुन पनि जुन भाषा र सभ्यता उत्कर्षमा पुग्छ, त्यसको प्रभाव विश्वभर पर्ने नै भयो । जसरी आज पश्चिमा सभ्यता र अंग्रेजी भाषा विश्वका सबै भूगोलमा छल्नै नसक्ने वास्तविकता बनेको छ, त्यसैगरी पूर्वीय सभ्यताको उत्कर्ष वैभवका बेला संस्कृत भाषाको प्रभाव ग्रिक, ल्याटिन, पर्सियन, अरबी हुँदै प्रकारान्तरमा अंग्रेजीमा समेत परेको छ ।

अन्य युरोपेली देशको तुलनामा जर्मनीमा किन संस्कृतप्रति बढी आकर्षण रह्यो भन्ने तथ्य झनै रोचक छ । सत्रौं शताब्दीताका जर्मनहरूमा राष्ट्रिय गौरव र अभिमानको पहिचानात्मक खडेरी परेको महसुस भयो । युरोपका अन्य शक्तिशाली मुलुकहरू फ्रान्स, ब्रिटेन, स्पेन, पोल्यान्ड र इटालीमा राष्ट्रियताको गर्विलो इतिहास बनिसकेको थियो । त्यसो हुँदा यी मुलुकले समेत जर्मनीलाई आफ्नो तुलनामा अवमूल्यन गरेका थिए ।

जर्मनीसँग सीमा जोडिएको फ्रान्सले ‘फ्रेन्च रिनासा’ बाट साहित्यमार्फत आफ्नो उपस्थिति गर्विलो पार्‍यो । ब्रिटेनले विश्वभर दोस्रो चरणको (सन् १७८५—१८१५) साम्राज्य विस्तार गरेको समय थियो त्यो । इटालियनहरूले रोमन साम्राज्यकै विरासतमा आफ्नो अस्तित्व प्रवद्र्धन गरे । ठीक त्यही समय स्पेनले ल्याटिन अमेरिकादेखि अफ्रिकासम्म साम्राज्य विस्तार गर्दै थियो । पोर्चुगलले पनि आफ्नो साम्राज्य विश्वभर स्थापित गरेको थियो ।

संस्कृत शिक्षा बहिस्कार गर्ने, संस्कृतलाई पुरातन र कर्मकाण्डीको उपक्रम मात्रै ठान्ने र उपेक्षा गर्नेहरूको लागि पूर्वीय दर्शन अद्भुत शिक्षा हो । यो ज्ञान तथा सूचनाको प्रचार संस्कृत वाङ्मयको प्रवद्र्धन र संरक्षणबाट मात्रै सम्भव छ ।
त्यसैले जर्मनीलाई आफ्नो पहिचान र जागरणको लागि कुनै न कुनै धरोहर आवश्यक थियो । राष्ट्रिय पहिचान र गौरवको खोजले जर्मन चिन्तक तथा भाषाविद्हरूलाई आफू आर्य भएको मात्रै होइन, त्यसको ऐतिहासिक सम्बन्ध संस्कृत भाषासँग देखे । उनीहरू अझ विषद् रूपमा संस्कृत भाषामा लेखिएका वेद, वेदान्त, उपनिषद्, भगवतगीताको पोथा केलाउँदै गए ।

भगवत गीता सन् १८०२ मा जर्मन भाषामा अनुवाद भएकै थियो, त्यतिले नपुगेर मूल भाषामै डुबुल्की लगाउन सन् १८१२ मा भाषाशास्त्री फ्रेज बप संस्कृत सिक्न पेरिस र पछि भारत आए । कालान्तरमा सन् १८४० मा म्याक्स मुलरले ‘दी आर्यनिज्म’ पुस्तकमार्फत आफूहरू र गंगा नदीको तटमा बस्नेहरूबीच सांस्कृतिक र भाषिक इतिहासमा फरक नरहेको निष्कर्ष निकाले ।

आज त जर्मनी संस्कृत भाषामा लेखिएका मूल ग्रन्थहरूको संग्रहालय मात्रै नभई आफूलाई आर्यनका रूपमा ‘ब्रन्डिङ’ समेत गरिरहेका छन् । राजीव मन्होत्राको पुस्तक ‘ब्रेकिङ इन्डिया’ का अनुसार हिटलरले भारतमै आएर प्रभावित भई स्वस्तिक चिन्ह जर्मनको आत्मगौरव र राष्ट्रिय प्रतीक चिन्ह बनाएका थिए ।

थाइल्यान्ड, कम्बोडिया, लाओस, मलेसिया, इन्डोनेसियामा संस्कृतको प्रत्यक्ष प्रभाव रहेको छ । कयौं शब्द, तत्सम नै तथा तत्भव भए यी देशमा बोलिने भाषामा समाहित भएका छन् । त्यसबाहेक युरोपका प्राचीन भाषाहरू ग्रिक, ल्याटिन, जर्मन, फ्रेन्च, जापानिज, चाइनिज, कोरियन, मंगोलियन, कजाकिस्तान, उज्वेकिस्तानमा समेत संस्कृत भाषाको प्रशस्त प्रभाव देख्न सकिन्छ । आज पनि बैंककस्थित अन्तर्राष्ट्रिय विमानस्थलको नाम सुवर्णभूमि छ ।

सुनको भूमि प्रतिविम्बित हुने संस्कृत नाम मात्रै होइन, यो विमानस्थल अवतरण गर्नेहरू रोमाञ्चित हुनेछन् जतिबेला यसका करिब सबै भित्ताहरूमा महाभारतकालीन आकृति सुनौलो रङमा कुँदेको देख्नेछन् । अमेरिकी इतिहासकार विल डुरेन्ट (सन् १८८५—१९८१) जसले विश्व इतिहास र दर्शनबारे विषद् अध्ययन गरेका थिए । उनी ठोकुवा गर्छन्, ‘संस्कृत ‘इन्डो—युरोपियन’ भाषाहरूको जननी हो ।’

संस्कृत शब्द यसरी अंग्रेजी बन्यो
आज पश्चिमले सूचना प्रविधिमा गरेको अभूतपूर्व विकासले बाँकी विश्व त्यसकै अनुशरण गर्न बाध्य छ । अंग्रेजी ‘ओरिजिन’ शब्द हुँदाहुँदै कम्प्युटर, मनिटर, प्रोसेसर, इन्टरनेट, इमेल, हार्डवेयर, सफ्टवेयर, टेलिभिजन, रेडियो, मोबाइल, हेलो जस्ता शब्द अरू भाषाभाषीको समेत शब्द बनेको छ । यी आविष्कार र विकासलाई जसरी बाँकी विश्वले सहजै अंगीकार गरेको छ, यी नामलाई पनि जस्ताको तस्तै स्वीकार गरेको छ ।

हो, त्यसैगरी संस्कृत भाषा र सभ्यता उत्कर्षमा रहेका बेला यताबाट अरू भाषामा कुन शब्द कसरी गए भन्ने विषयमा समेत संक्षिप्त चर्चा गर्नु उपयुक्त होला । संस्कृतबाट सीधै अंग्रेजीमा गएका कर्मा, अवतार, मन्त्र, गुरु, चिता, पण्डित, निर्वाणा, योगा, लाखजस्ता शब्दबाहेक अप्रभंश भएर सयौं शब्द ग्रहण गरेर अंग्रेजी भाषा समृद्ध बनेको छ । त्यसका केही उल्लेख्य उदाहरण हेरौं । संस्कृतको ‘प्रतिशत’ ल्याटिनमा ‘परसेन्टम’ हुँदै अंग्रेजीमा ‘पर्सेन्ट’ बन्न पुग्यो ।

संस्कृतबाट ‘गौ’ ग्रिकमा ‘कौ’ हुँदै अंग्रेजीमा ‘काउ’ बन्यो । संस्कृतको ‘माता’ ल्याटिनमा ‘मातर’ हुँदै अंग्रेजीमा ‘मदर’ बन्न पुग्यो । त्यसैगरी संस्कृतको ‘नस’ ल्याटिनमा ‘नासुस’ हुँदै अंग्रेजीमा ‘नोज’ बन्योे । संस्कृतको ‘नाम’ ल्याटिनमा ‘नोमेन’ हुँदै अंग्रेजीमा ‘नेम’ बन्न पुग्यो । संस्कतको ‘बार्बरा’ ल्याटिनमा ‘बार्बरिया’ हुँदै अंग्रेजीमा ‘बार्बरियन’ बन्यो । संस्कृतको ‘म’ ल्याटिनमा ‘मी’ हुँदै अंग्रेजीमा पनि ‘मी’ नै रह्यो ।

त्यसैगरी संस्कृतको ‘भ्राता’ ग्रिकमा ‘प्रतर’ हुँदै अंग्रेजीमा ‘ब्रदर’ बनेको छ । संस्कृतको ‘घास’ जर्मनमा ‘ग्रासा’ हुँदै अंग्रेजीमा ‘ग्रास’ बनेको छ । त्यसैगरी संस्कृतको ‘सम’ प्रोटो जर्मनमा ‘समज’ हुँदै अंग्रेजीमा ‘सेम’ बनेको छ । संस्कृतको ‘मिथक’ ग्रिकमा ‘मिथस’ हुँदै अंग्रेजीमा ‘मिथ’ बनेको छ । त्यसैगरी संस्कृतको ‘अणु’ सोझै अंग्रेजीमा एटम बनेको छ । यी त केही उदाहरण मात्रै हुन्, संस्कृति भाषा समृद्ध भएका बेला कस्ता-कस्ता शब्द कुन-कुन भाषा हुँदै अंग्रेजीमा पुगेका रहेछन् भन्ने । यो सानो आलेखमा सबै उपलब्ध विवरण राख्न सम्भव नभएकाले यी केही संकेत मात्रै लिपिबद्ध गरिएका हुन् ।

वैज्ञानिकहरूमा संस्कृतको प्रभाव
संस्कृतको प्रभाव दार्शनिक, कवि, चिन्तकमा मात्रै होइन, वैज्ञानिकहरूमा समेत उल्लेख्य मात्रामा परेको थियो । अल्बर्ट आइन्सटाइन, निल बोहर, हैजनवर्ग, रोबर्ट ओपेनहेमरहरूले गीता र उपनिषद्को सहयोगमा ‘सवएटमिक कण’ को व्याख्या गर्न सहज भएको थियो । अथवा यसरी भनौं सूक्ष्म कणको व्याख्याको लागि यी ग्रन्थभन्दा उपयुक्त अस्त्र उनीहरूलाई उपलब्ध थिएन । सन् १९३२ का भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता जर्मन वैज्ञानिक हैजनवर्गले ‘सवएटोमिक’ कर्णहरूका रहस्य बुझ्न मात्रै होइन, ‘क्वान्टम फिजिक्स’ को रहस्य बुझ्नसमेत हिन्दुशास्त्रीय ग्रन्थहरू महत्ववपूर्ण कडी भएको उल्लेख गरेका छन् ।

पृथ्वी उत्पत्तिका विषयमा बाइबलले इसापूर्व ४००४ मा बनेको बताउँछ । बेबिलोन माया (म्याक्सिको) सभ्यताले पृथ्वीको उत्पत्ति लाखौं वर्ष पहिले भएको बताउँछ । वैदिक ग्रन्थहरूमा भने पृथ्वीको उत्पत्ति अर्बौं वर्ष पहिला भएको उल्लेख पाइन्छ । नभन्दै आधुनिक खगोल विज्ञानले समेत वैदिक प्रक्षेपणलाई पुष्टि गर्दै पृथ्वीको उत्पत्ति चार अर्ब ५४ करोड वर्ष पहिला भएको र ब्रह्माण्ड १३ अर्ब ७५ करोड वर्ष पहिला उत्पत्ति भएको निष्कर्ष निकालेको छ ।

यही तथ्यलाई हृदयंगम गरी पुलित्जर पुरस्कार विजेता अमेरिकी खगोल वैज्ञानिक कार्ल सेगन (सन् १९३४—१९९६) ले वैदिक खगोलशास्त्र मात्रै आधुनिक खगोलशास्त्रसँग मेल खाने उल्लेख गरेका छन् । उपनिषद् र वेदले चार हजार पाँच सय वर्षअघि तारामण्डल र आकाशगंगाका बारेमा गरेको व्याख्या आजको खोजभन्दा अलिकति पनि तलमाथि नभएको फ्रेन्च खगोलशास्त्री क्योडी वेलीले बताएका छन् ।

खगोलको ज्ञान, गणित तथा वैज्ञानिक शोध तथा अनुसन्धानको ज्ञान यो भूभागबाट अरेबिया, पर्सिया तथा अन्य क्षेत्रमा व्यापारको सिलसिला तथा सांस्कृतिक आदनप्रदानका क्रममा पुगेको इतिहासकार आरसी मजुमदारले उल्लेख गरेका छन् । ऋग्वेदमा समुद्र तथा मेरिटाइम गतिविधिको सयौ ठाउँमा चर्चा छ । यसबाट पनि त्यतिबेला व्यापार र सांस्कृतिक प्रदानको आयाम प्रस्ट्याउँछ ।

हामीलाई पाठ्यक्रममा पढाइएको विवरणले भन्छ- यो ब्रह्माण्डको पहिलो रहस्य पत्ता लगाउने खगोल वैज्ञानिक कपर्निकस हुन् । कपर्निकसले सन् १५४३ मा सूर्य सौर्यमण्डको केन्द्र भएको बताएका थिए, जसलाई पहिलोपटक सूर्यलाई अरू ग्रहले परिक्रमा गर्ने सिद्धान्तका प्रतिपादक मानिन्छ । तर योभन्दा एक हजार वर्ष पहिल्यै ब्रह्माण्डको यो रहस्य पूर्वीय दार्शनिकले उद्घाटन गरिसकेका थिए ।

संस्कृतमा भारतीको हालसालै प्रकाशित पुस्तक ‘प्राइड अफ इन्डिया’ का अनुसार सन् ४९९ मै खगोल वैज्ञानिक आर्यभट्टले सूर्यकेन्द्रित सौर्यमण्डलको सिद्धान्त प्रतिपादन गरिसकेका थिए ।

संस्कृत शिक्षा बहिस्कार गर्ने, संस्कृतलाई पुरातन र कर्मकाण्डीको उपक्रम मात्रै ठान्ने र उपेक्षा गर्नेहरूको लागि यो अद्भुत शिक्षा हो । यो ज्ञान तथा सूचनाको प्रचार संस्कृत वाङ्मयको प्रवद्र्धन र संरक्षणबाट मात्रै सम्भव छ ।

अन्नपूर्ण पोस्टबाट साभार

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.