चिरन शर्मा लन्डन
कोरोनाको कहर कहाँ गएर समाप्त हुन्छ अझै ठेगान छैन् । विदेशमा नेपाली समुदायमा संक्रमण बढ्दो छ । उनीहरुको सहयोगको लागि विभिन्न समुह सकृय रुपमा लागेका छन् । प्रायः सबै देशमा गैरआवासीय नेपाली संघ र नेपाली कुटनीतिक नियोगको संयूक्त नेतृत्वमा राहत वितरणको काम भैरहेको छ ।
सबै देशमा २४ सै घण्टा हेल्प लाइन संचालनमा छन् तर केही संचारकर्मीहरु यथार्थ बुझ्ने प्रयासै नगरि नेपालबाट जुम घुमाएर बसेका छन् । फलना संस्थाले न्यूयोर्कमा यति डलर उठायो । ओहो ! गजव गर्यो, तर त्यही एनआरएनएले ३ हजार भन्दा बढीलाई राहत दिएको छ, करोड भन्दा बढी आर्थिक संकलन गरेको छ । २४ सै घण्टा हेल्प लाइन संचालन गरेर त्यहाँ सरकारले भन्दा ठूलो सेवा दिएको छ तर त्यो जुमको आँखा पर्दैन ।
यता दुईजना विद्यार्थी मिलेर सय जनाको नाम दर्ता गर्ने काम गरेछन् , ठूलै काम गरे । वेलायतमा यहाँको राष्ट्रिय हेल्थ सर्भिसले सिटमोल समयमा दिन सकेको छैन् तर एनआरएनएले घरघरमा लगेर औषधि बाढेको छ तर देखिन्न् !
मध्यपूर्वमा युएईमा लगातार राहत वितरण भैरहेको छ अहिले सम्म २५ सय भन्दा बढीले राहत पाएका छन् । यस्ता दुई दर्जन देशमा १० हजार भन्दा बढीलाई गैरआवासीय नेपालीले राहत दिइसकेको छ ।
नेपालमा सरकार भन्दा अघि बढेर करिब २ करोडको स्वास्थ्य सम्वन्धी सामग्री सातै प्रदेशमा पठाई सकेको छ । संघले विश्वभरका कोरोना पिडितको तथ्यांक संकलन गर्दे आएको छ त्यसको लागि २५ जना गैरआवासीय नेपाली डाक्टरहरु सकृय छन् ।
गैरआवासीय नेपाली संघबाट एउटा राज्यसंग बराबरको सहयोगको अपेक्षा खोज्नु अल्पबुझाई हो । यो सामाजिक संस्था हो यहाँ राज्यको जस्तो कुनै ढुकुटी हुदैन् र छैन् । तर पनि करोडौं रुपैयाँको राहत बाढ्न पछि परेको छैन् ।
संघको विदेशमा रहेका नेपालीहरुका भावनालाई नेपाल सरकार समक्ष पुराउने यसको मुख्य काम हो त्यसमा एक रति विचलित छैन् ।
त्यसैले ह्यात होटलको निर्वाचनलाई हेर्ने चस्मा फालेर नयाँ चस्मा लगाएर गैरआवासीय नेपाली संघलाई हेरौं । कमजोर पात्रलाई प्रस्तुत गरेर भैरहेका कामलाई समेत ओझेलमा पार्ने काम नगरौं । ज्यानको बाजी लगाएर राहतमा खटिएकाहरुको आत्मवल बढाउने काम गरौं ।
राज्यको उपस्थिती भनेको नेपाली कुटनैतीक नियोगहरुमा मात्र सिमित छ । जनशक्ति निकै कम छ । यस्तो महामारीमा आदी दर्जन भन्दा कम जनशक्ति भएका दूतावासहरुले केही गर्न सक्ने अवस्थामा छैनन । गरेनन् भन्न पनि मिल्दैन् ।
गैरआवासीय नेपाली संघ र सरकारी नियोग बाहेकका प्रायः संघसँस्था अहिले आइसोलेसनमा छन् । त्यसैले यो महामारी बिरुद्ध सबै पक्ष एक भएर भिड्नुको विकल्प छैन । बचौं र बचाऔं ।