मिडियाहरु किन बढी नकारात्मक समाचारहरु दिन्छन?

FB_IMG_1587132859132
नरेश रेग्मी
मिडियाहरु किन बढी नकारात्मक समाचारहरु दिन्छन?

१) पत्रकारितामा एउटा सिद्धान्त छ। `ब्याड न्युज इज गुड न्युज´। अर्थात समाचार जति नराम्रो हुन्छ, पाठकलाई आकर्षित पार्न उति नै राम्रो मानिन्छ। सजिलो भाषामा भन्नु पर्दा कुनै घटनामा १० जना मरेको समाचार भन्दा १०० जना मरेको समाचारले पत्रकारितामा प्राथमिकता पाउँछ। त्यही भएर सकारात्मक घटनाहरु भन्दा नकारात्मक विषयहरुले मिडियामा धेरै स्थान पाउँछन। मिडियाहरुमा नकारात्मक समाचार आउनुको पछाडि यो पनि एउटा कारण हो। यो अवधारणा बदल्नु पर्छ भन्ने पत्रकारहरु छन।

२) पत्रकारितामा अर्को एउटा सिद्धान्त छ।` कुनै संस्थाले जे जे देखाउँछ, त्यो संस्थाको विज्ञापन हो। जे लुकाइएको छ, त्यो समाचार हो। ´ सरल भाषामा भन्नू पर्दा पत्रकारहरु देखाइएको भन्दा पनि लुकाइएको विषयमा धेरै काम गर्छन किनकी मानिसहरु त्यही विषय धेरै लुकाउँछन जुन खराब हुन्छन। इमानदार भएर विषय आउँदा यो पक्ष निकै राम्रो हो। हुन त समाचार नकारात्मक र सकारात्मक दुबै हो तर यो सिद्धान्तले पनि मिडिया सामाग्रीलाई नकारात्मक बढी बनाउँछ।

३) पत्रकारितामा अर्को मान्यता छ। ` कुकुरले मान्छेलाई टोक्यो भने त्यो समाचार होइन तर मान्छेले कुकुरले टोक्यो भने त्यो समाचार हो। अर्थात पत्रकारिताले आश्चर्यचकित पार्ने सामाग्रीहरुमा धेरै काम गर्छ। आश्चर्यचकित पार्ने सामाग्रीमा काम गर्दा गर्दै कैयौँ पटक पत्रकारिता उट्पट्याङ तिर बरालिने गर्छ र विश्वनीयता नै गुमाउने सामाग्री पनि उत्पादन गर्न पुग्छ। यो अवधारणाका विपक्षमा मत राख्ने पत्रकारहरु पनि प्रसस्त छ्न तर अल्पमतमा।
http://www.meroreservation.com

४) पत्रकारिताले समाचार शिर्षकलाई कलात्मक र आकर्षक बनाउनु पर्छ भन्ने अनिवार्य अवधारणामा काम गर्छ। शिर्षक कलात्मक र आकर्षक हुनु पर्छ भन्ने विषय सकारात्मक छ तर विहान देखि बेलुकासम्म हरेक दिन शीर्षक कलात्मक बनाउँदा बनाउँदा एक विन्दुमा कलात्मकता सकिन्छ र शीर्षक भ्रामक बन्न पुग्छ।यही अवधारणाले गर्दा कहिले कसो समाचार तोड मरोडसम्म हुन्छ। शिर्षक एउटा समाचार पढ्दा अर्कै हुन पुग्छ। यो विषयमा अत्यन्त सजग र इमानदार भएर काम गर्ने पत्रकारहरु नभएका भने होइनन।

५) पत्रकारितालाई हतारको साहित्य भन्ने विश्वव्यापी प्रचलन छ। पत्रकार र सञ्चार माध्यमहरु जहिले एक अर्कासँग प्रतिस्पर्धामा हुन्छ्न। कुन समाचार कसले पहिला प्रकाशन गर्ने भन्ने होडबाजी नै चल्छ। झन अनलाइन पत्रकारिता आए देखि यो प्रतिस्पर्धा झनै अस्वस्थ भएको छ। हतार हतारमा समाचार प्रकाशन गर्दा गलत समाचार प्रकाशन हुने सम्भावना धेरै हुन्छ। हुन त समाचार सही हो वा होइन भनेर धेरै पल्ट क्रस चेक गर्नु पर्छ भन्ने अनिवार्य मान्यता पनि छ तर अस्वस्थ प्रतिस्पर्धाले गर्दा धेरै पल्ट यो पाटो छुट्छ।

६) पुँजीवादी समाजमा समाचार पनि एउटा वस्तु हो। वस्तु भैसके पछि वस्तुको प्रत्यक्ष/ अप्रत्यक्ष मुल्य हुन्छ र विक्ने सामाग्री बढी उत्पादन हुन्छ। समाचार नै मूल्य हुने वस्तु भैसके पछि वस्तु विभिन्न गुणस्तरका हुन्छ्न।केही समाचार अत्यन्त राम्रो गुणस्तरका हुन्छन। धेरै जसो कम गुणस्तरका हुन्छ्न। दमदार दमदार समचार ल्याउन सक्ने पत्रकारको बढी मूल्य/तलब हुन्छ अरुको कम। समाचारले पनि बजारमा प्रतिस्पर्धा गर्नु पर्ने भए पछि कुनै गुणस्तरयुक्त र कुनै गुणस्तर हीन हुने नै भयो। प्रतिस्पर्धामा केही समाचार मात्र गुणस्तर युक्त हुन्छन अधिकांश ठिक विपरित।

७)वर्गीय समाजमा मिडिया पनि वर्गीय हुन्छ। पुँजीवादी समाजमा पत्रकारिता सेवा होइन, व्यवसाय हो। यसलाई पनि नाफा नामको रोगले सताएको हुन्छ।मिडिया विज्ञापनमा चल्छ।विज्ञापन पुँजीपति वर्गसँग हुन्छ। बाटोमा जुत्ता सिलाउने वर्गसँग विज्ञापन गराउन सक्ने अवस्था हुँदैन। त्यही भएर सतहमा जस्तो देखिए पनि अन्तिममा वर्गीय समाजमा मिडिया पुँजीपति वर्गको हुन्छ। कैयौँ पल्ट ठूला ठूला कम्पनीबाट विज्ञापन नपाउँदा ती कम्पनीहरुले गरेको गडबडको समाचार बनाउने र पछि विज्ञापन पाए पछि खेदो खन्न छड्ने गरेका अभ्यास हरु पनि छन।

८)जसरी समाजमा गलत – गलत मान्छेहरु मिल्छन त्यसरी नै अधिकांश मिडियाहरु आफ्नो स्वार्थ रक्षाको लागि र कहिले कसो एक अर्काका कमजोरीहरु ढाकछोप गर्नका लागि आफू आफू मिल्छन। एउटा मिडियाले अर्को मिडियाका त्रुटि औँल्याउने गरेका उदाहरण पनि छन तर अधिकांश समयमा मिडियाहरु एक अर्काले गरेका कमजोरी प्रती मौन बस्छन। यसले पनि नकारात्मकता फैलाउन टेवा पुग्ने गर्छ।

९) पत्रकारिता नै नपढेका, पत्रकारिताका मूल मर्म नबुझेका मानिसहरु पत्रकार भएर पनि समाचारहरु आग्रह, पुर्वाग्रह मिसिएर आउने गर्छन। यसले अलि बढी नकारात्मकता फैलाउँछ। पत्रकारहरुसँग गोप्य सूचना उपलब्ध गराउने श्रोतको बचाउमा श्रोत लुकाउने अधिकार पनि हुन्छ तर यसको महत्व र अवधारणा नबुझेका पत्रकारले गोप्य श्रोतको हवाला दिदै गलत समाचारहरु प्रकाशन गर्ने गरेका प्रसस्त उदाहरण छन।

१०) कैयौँ मिडियाहरु प्रायोजित हुन्छन जसको काम नै कुनै मिसनमा आधारित हुन्छ। आम मानिसहरुलाई यो थाहा नहुन सक्छ। यस्ता मिडियाहरुले खोजी खोजी नकारात्मक समाचार उत्पादन गर्ने र विपक्षीलाई बदनाम गर्ने उदेश्य हुन्छ। यस्ता मिडियाका सामाग्री प्राय नकारात्मक हुन्छ्न र यस्ता मिडियाहरुले असल काम गर्ने मिडियाहरुलाई पनि असर गरिरहेकै हुन्छ। पाठकहरुले यस्ता मिडियाहरु पहिचान गर्न अत्यन्त जरूरी हुन्छ।

११) समाचारलाई सकारात्मक मात्र बनाउन खोजेर सम्भव छैन। वातावरण र समाज पनि सकारात्मक हुन जरूरी छ।भौतिक परिवेशमा अपराध, भ्रष्टाचार र गलत काम बढी हुने र मानिसहरु सकारात्मक मात्र हुने विषय सम्भव छैन। पत्रकार पनि मानिस नै हो। शान्तीको लागि शान्ती भने जस्तो पत्रकारले नभएको सकारात्मक घटनाहरुलाई जबजस्ती सकारात्मक बनाउने विषय भने हुन्न। मार्क्सवाद सरल छ। भौतिक परिवेश नकारात्मक भए सम्म व्यक्ति सकारात्मक हुन सक्दैन। पत्रकारिताको त झन धर्म नै हो समाजमा घटीरहेका खराब, असल घटनाहरु जनताको सामुन्ने ल्याउने।

(विभिन्न समयमा आर आरमा पत्रकारिता पढाउने गुरु एवं मार्क्सवाद पढाउने अग्रजहरु प्रती हार्दिक धन्यवाद, सही बुझेँ या गलत तर यतिसम्म बुझेँ।)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.