बागमती किनारमा एउटा शव, छेउमा थिइन्– २७ वर्षीया रिना श्रेष्ठ र रुँदै गरेका दुई बच्चा ।

भक्तपुरका स्थायी निवासी रिनाका ४० वर्षीय श्रीमान राजेशको शनिबार बिहान निधन भएको थियो । दैनिक ज्याला–मजदुरी गरेर परिवार पाल्ने उनी नक्सालमा परिवारसहित बस्दै आएका थिए । तीन सन्तान नाबालक छन् । घरमूली नै बिरामी भएपछि परिवार चरम आर्थिक संकटमा थियो । ‘राम्रो उपचार गरेर बचाउन सकिएन, आज बिहान प्राण गयो, लास उठाउनसमेत रकम भएन,’ रिनाले भनिन् ।


रिनाका अनुसार उनले छिमेकीसँग चन्दा उठाउन खोजेका थिए । तर, लक डाउनका कारण ४५ सय रुपैयाँ मात्रै जम्मा भयो । मलामी नपाएपछि शवबाहनमा हालेर आर्यघाट ल्याए । त्यसैमा दुई हजार खर्च भयो । आर्यघाट पुगेपछि उनीहरूले थाहा पाए– शव जलाउने ठाउँ पनि स्तरअनुसार फरकफरक छ । आर्थिक हैसियत भएकालाई माथिपट्टि, विपन्नलाई तलपट्टि । सबैभन्दा सस्तो ठाउँमा पनि ६ हजार रुपैयाँ लाग्ने देखियो । तर, उनीहरूसँग २५ सय रुपैयाँ मात्र थियो ।
कसैले विद्युतीय शवदाहगृहमा सस्तो पर्छ भनेर सल्लाह दियो । त्यसैले रिनालाई बागमती किनारमै छाडेर उनका दुई आफन्त यता आएका रहेछन् । तर, त्यहाँ पनि चार हजार लाग्ने भयो । आफूसँग २५ सय भएकाले त्यतिमै शवदाह गरिदिन उनीहरू अनुरोध गरिरहेका थिए । तर, शवदाहगृहका कर्मचारी ‘नो डिस्काउन्ट’को मुडमा थिए ।
रिनालाई साथ दिन आर्यघाट पुगेकी रेणु थापाले भनिन्, ‘१२ बजे नै शव आर्यघाट ल्यायौँ । तर, पैसा नभएकाले शव अलपत्र परेको छ ।’ बाबुको मृत्युमा शोकमा परेका दुई बालबालिका यो सब संवाद सुनिरहेका थिए । उनीहरूको मुहारमा मडारिएको पीडाले हामीलाई मौन बस्न दिएन । त्यहीँबाट पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालाई फोन लगायौँ । घटना विवरण सुनायौँ । उनले समस्या समाधान गर्ने वचन दिए ।
खतिवडाको आश्वासन बोकेर हामी मृतकका परिवारसहित दहन कक्ष पुग्यौँ, तर त्यहाँका कर्मचारी पूर्वअडानबाट टसमस भएनन् । फेरि खतिवडालाई फोन गर्यौँ । काउन्टरका कर्मचारीसँगै कुरा गर्न भन्यौँ । तर, कर्मचारी बोल्न तयार थिएनन् । धेरै याचना गरेपछि उनी आफ्ना हाकिमसँग कुरा गर्न तयार भए ।
अब समस्या समाधान भयो भनेर हामीले लामो सास तान्न मात्र के खोजेका थियौँ, काउन्टरका कर्मचारीले अर्को अत्तो थापे, उहाँ (खतिवडा)ले भनेर हुँदैन । अनि उनैले उपाय सुझाए– कोषका पूर्वपदाधिकारी नरोत्तम वैद्यलाई भन्नुहोस् । हामीले वैद्यको नम्बर खोज्यौँ, र उनलार्ई फेरि विवरण बयान गर्‍यौँ ।
वैद्यले काउन्टरका कर्मचारीसँग संवाद गरे । उनीहरूबीच के संवाद भयो, शव दाह गर्न कर्मचारी तयार भए । केहीबेरमा शव दहन पनि सुरु भयो । तर, फेरि पनि हाम्रो मनमा प्रश्न उठिरह्यो, ‘कोषका पदाधिकारीलाई चिन्ने र फोन घुमाउन सक्ने यो देशमा मुठ्ठिभर होलान्, जसले फोन गर्न सक्दैनन्, तिनको अवस्था के होला ? देशमा सरकार छ, तर फोन घुमाउन नसक्ने नागरिकले मर्दा पनि सुख नपाउने अवस्था कहिलेसम्म रहला ?’

  • साभार नयाँ पत्रिकाबाट
  • प्रस्तुतकर्ता:- पोल्यान्ड नेपाल का लागि सुसन परियार बिसर्जन

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.