पोल्यान्डबाट आमालाई चिठी

मोहन सुनुवार पोल्यान्ड

मेरी प्यारी आमा, धेरै सम्झना ।

६ महिना भयो हजुरबाट टाढा भएको । तर पनि यादहरु ताजा अनि गाढा छन् । मन त सधैँ हजुरको वरिपरि नै रहुँ भन्छ । तर, अन्य बाध्यताका कारण तपाईंदेखि टाढा भएको छु ।

चाइनाको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण संसारका धेरै मानिसले ज्यान गुमाइरहेको खबर सुनिरहेको छु । हरेक दिन अनलाइन समाचारले कोरोनाको बारेमा लेखेको समाचार हेरिरहेको छु । डरले मुटु फुलेर आउँछ- कतै मेरो परिवारलाई पनि यसले सताउने त होइन भनेर ।

आफ्नो ख्याल राख्नु है आमा !

आमाले मेरो पीर लिनुहुन्छ होला भनेर यो सन्देश लेख्दै छु । आमा मेरो पीर कत्ति पनि लिनु पर्दैन । म सुरक्षित तवरले बसेको छु । म बसेको ठाउँमा कोरोनाको खासै डर छैन । हामी सबैजना सुरक्षित छौँ ।

नेपालमा कोरोनाको असर खासै छैन रे भनेर समाचारहरु आएका छन् । कतैकतै यो पनि सुन्नमा आएको छ कि, कोरोना संक्रमित व्यक्तिहरु लुकाइएको छ । अर्थात नेपालमा पनि कोरोनाका बिरामी छन भनेर समाचार बाहिर ल्याउन खोजिएको छैन् रे । के कति सत्य हो थाहा छैन ।

अनि मास्कलगायत अन्य खाद्यान्न सामग्रीमा पनि कालोबजारी बढेको छ रे । नेपाल सरकारको यसमा विशेष ध्यान जाओस् । अहिले नेपाल सरकारले लकडाउन गरेको समाचारहरु पनि आएका छन् । एक त ठिकै पनि हो । जो बाहिर देशमा संक्रमित भए पनि नेपाल आउन नदिएपछि अन्य नेपालीहरु सुरक्षित हुने भए । तर उनीहरु कोरोना संक्रमित नहुन पनि त सक्छन नि । होइन र ? अनि क्वारेन्टाइनमा बसेर स्वास्थ्य स्थिति बुझेर आफ्नो घर फर्काउन पनि त सकिन्थ्यो । होइन र सरकार ?

खै के भन्ने, सरकारले गरेको यो निर्णयदेखि म निःशब्द छु । केही नबोलौँ त बोल्न मन लाग्छ, बोलौँ त सम्बन्धित निकायमा मेरा कुराहरु पुग्दैनन् ।
अरु कुरा जेसुकै भए पनि मेरी प्यारी आमा, तपाई भने आफ्नो ख्याल गर्नुस् है ।

आमा, स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो । पहिला आफू अनि मात्र काम हो भनेर मनमा लिनु है । आमा तपाईं त सधैँ घरको काममा व्यस्त हुनुहुन्छ । हतार हतारमा खाना बनाउने काम नगर्नु । एकछिनको हतारले ज्यान जान सक्छ,। साबुन पानीले मजाले हात धोएर सफा गरेर मात्र भान्सामा बस्नुस् है आमा । कतै जानुपर्‍याे भने मास्क लगाएर मात्र मात्र हिँड्नुस् । अनि यही कुराहरु पल्लाघरको काका काकी अनि साथीहरुलाई पनि भन्नुस् है ।

विशेष काम छ भने मात्र गाउँ जानुस् । नभए घरमा बसेर आफ्नो स्वास्थ्यको ख्याल गर्नुस् है आमा । थाहा छ मलाई, एकछिन काम गर्न नपाए हडबडाउने मेरी आमा, एकछिन चुप लागेर पटक्कै बस्न सक्नुहुन्न । तर आमा यो समयमा केही पनि नहडबडाईकन आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राखेर घरभित्रै बस्नुस् ल । फेरि भन्नुहोला, म घरभित्रै बसेपछि बाहिर सारा काम कसले गर्दिन्छ भनेर । कामको कत्ति पनि पीर चिन्ता नलिनु है ।

अनि फेरि कोरोनाको डरले धेरै पनि आत्तिनु हुन्न है आमा । पूर्वसतर्कता अपनाउन सकेमा कोरोना भाइरसबाट बच्न सकिन्छ । विशेष त सरसफाइमा ध्यान दिनुपर्छ है आमा । अनि अन्य काँचो खानेकुराहरु खाँदा राम्रोसँग पखालेर सफा गरेर मात्र खानुस् है । तर म त त यो कुरामा ढुक्क छु । आमाले मैले भनेजस्तै गर्नुहुन्छ । किनभने सरसफाइको बारेमा मभन्दा पनि मेरी आमा बढी सजग हुनुहुन्छ ।

अन्त्यमा, मेरी आमालाई मात्र होइन, संसारका हरेक आमालाई आफ्नो स्वास्थ्यको ख्याल राख्न अनुरोध गर्न चाहन्छु । परिवारका सदस्यहरुले एक अर्काको ख्याल गर्नुस् । रोगले बच्चा, युवा, वयस्क अनि वृद्ध कसैलाई केही भन्दैन । स्वास्थ्यप्रति आफैँ जिम्मेवार बन्नुपर्छ । अहिले मात्र होइन हरेक समय सफा र ताजा खानेकुरा खानुस् । आफ्नो सोचाइलाई सधैँ सकारात्मक राख्नुस् ।

हवस्त आमा, आजलाई यति मात्र लेख्ने फुर्सद मिल्यो ।

काम होइन स्वास्थ्यलाई पहिलो नम्बरमा राख्नुस् आमा ।

उदयपुर, नेपाल (हाल : पोल्यान्ड)

हेल्थसन्देशडटकम

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.