गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसिसी) को उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका निबर्तमान आइसिसी सचिव अर्जुनकुमार श्रेष्ठले आफ्नो एजेण्डा समेत सार्वजनिक गरेका छन् । श्रेष्ठले विज्ञप्ती जारी गर्दै २०१९–२१ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणासहित एजेण्डा सार्वजनिक गरेका हुन् ।
एनआरएनएको नवौं विश्व सम्मेलन तथा राष्ट्रिय महाधिवेशन आगामी अक्टूबर १५–१७ मा काठमाडौंमा हुँदैछ । एनआरएन अभियानमा विश्वका ८० भन्दा बढी मुलुकबाट ६० लाखभन्दा बढी नेपाली सहभागी छन् । श्रेष्ठले उम्मेदवारी घोषणासँगै आफ्ना केही एजेन्डा अगाडि सारेका छन् ।
‘गैरआवासीय नेपाली अभियान सुरु भएको १६ वर्षमा हाम्रा माग पूरा गरेर सरकारले विकास साझेदार बन्ने बाटो खोलेको छ,’ विज्ञप्तीमा लेखिएको छ, ‘गैरआवासीय नेपालीले उठाउँदै आएको दोहोरो नागरिकतालाई नयाँ संविधानले समेटेको छ । तर, ऐनमार्फत पूरा गर्नुपर्ने कामका लागि निरन्तर दबाब दिन आवश्यक छ ।’
गैर आवासीय नेपालीहरुको सामूहिक अभियानले नेपालमा लगानी भित्र्याएको उल्लेख गर्दै श्रेष्ठले सामाजिक क्षेत्रमा पनि यस अभियानले ठूलो योगदान पुर्याएको उल्लेख गरेका छन् । ‘संयुक्त लगानीमा सञ्चालन भइरहेका परियोजनालाई अझ अगाडि बढाउनुपर्ने दायित्व छ,’ श्रेष्ठले भने, ‘सँगसँगै नेपाल सरकारले परिकल्पना गरेको समृद्ध नेपालः सुखी नेपालीमा योगदान पुर्याउने र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नुपर्ने दायित्व छ ।’ समृद्ध नेपाल नभएसम्म विदेशमा बस्ने कोही पनि नेपालीको व्यक्तिगत समृद्धिले अर्थ नराख्ने बताउँदै उहाँले मुलुकको समृद्धिका लागि लगानी भित्र्याउने कार्यमा पहल गर्ने प्रतिबद्धता जनाए ।
‘विदेशमा सिकेका सीप र प्रविधिलाई नेपालको विकासका लागि प्रयोग गर्ने वातावरण तयार गर्नेछु,’ विज्ञप्तीमा भनिएको छ । वैदेशिक रोजगारीमा समस्यामा परेका नेपालीको उद्दार र राहतका लागि विशेष पहल गर्ने, गैरआवासीय नेपालीलाई एनआरएनएमा एकत्रित गर्दै साँच्चिकै बलियो संस्थाकोरुपमा स्थापित गर्न सक्रिय रहने र नेपालमा व्यक्तिगत रुपमा भइरहेका परोपकारी कार्यलाई थप प्रोत्साहन गर्ने र संस्थागत परोपकारी कामलाई प्राथमिकतामा राख्ने योजना पनि सुनाउनु भएको छ । श्रेष्ठले एनआरएनए स्पोर्टर्स एकेडेमी स्थापना र सञ्चालनका लागि सम्पूर्ण समयसहित योगदान गर्ने प्रतिबद्धता पनि जनाए ।
पर्वतमा जन्मिएका ४६ वर्षीय श्रेष्ठ सन् २००५ देखि बेल्जियम बस्दै आएका छन् । नेपाल मा पनि डेढ दर्जन जति संघ सस्था मा आफ्नो उल्लेख्य भुमिका पूरा गरेका उनले दुई कार्यकाल एनआरएनए आईसीसी सदस्य, एक कार्यकाल यूरोप क्षेत्रीय संयोजक र एक कार्यकाल केन्द्रीय सचिवको जिम्मेवारी सम्हालिसकेका श्रेष्ठले अवको नेतृत्वको लागि उपाध्यक्षमा उम्मेद्वार बन्ने घोषणा गरेका छन् ।
मिलनसार र समाजसेवाको भावनाले ओतप्रोत रहेका श्रेष्ठको होटल, रेस्टुरेन्ट, रेमिट्यान्स, औषधि उद्योग, फार्मेसी, आयात/निर्यात, ट्रेडिङ, हार्डवेयर, बैंकिङलगायतका क्षेत्रमा लगानी छ ।
साभार World Nepali.com बाट
प्रस्तुत कर्ता :- सुसन परियार बिसर्जन