भगवान गिरी/ रासस
भदौ ,लिस्बन । “रेसम फिरिरि,बरेसम फिरिरि, उडेर जाँउ कि डाँडामा भन्ज्याङ रेसम फिरिरि…” झन्डै आधा शताब्दी अघि बुद्धि परियारको शब्द र लय संकलनमा तयार पारिएको गीत नेपाली जनमा भन्दा बिदेशी मनमा झन् चिरपरिचित छ । यो गीतले बुद्धि परियारको ब्यक्तिगत परिचय मात्र दिएन, नेपाली गीत संगीतको राष्ट्रिय परिचय नै बन्यो परदेश र परदेशीहरुमा । आजभोलि यस गीतको धुन र शब्दले युरोपेली मुलुक पोर्चुगलको सडक र चोकहरुमा दिनहुँ स्थान पाहुने गर्दछ ।झापा धर्मपुर घर भइ हाल पोर्चुगल वस्दै आउनु भएका दिलसाङ लामा लिस्बनको ब्यस्त र सधैं पर्यटकहरुको घुइचों लाग्ने आन्जुस, मार्तिमुनिज, कास्काइस जस्ता ठाउँहरुमा एकैसाथ घाटीमा गितारको फिता, मुखमा बन्जु बाजाबाट रेसम फिरिरी.. का साथै स्वर सम्राट नारायणगोपाल, जनकवि धर्मराज थापा लगायत विभिन्न सष्टाहरुका कालजयी गीत, धुन र शब्दहरू पस्कने गर्नुहुन्छ । राष्ट्रिय भावनाले ओतप्रोत गीतहरु उहाँको पहिलो प्राथमिकतामा छन् ।झम्मक साँझ सुरु हुनै लाग्दा युरोपको एउटा अति ब्यस्त सहरमा आफ्नो काम सकेर घर फर्किएका वा वासस्थान दौडमा रहेकाहरु एकछिन टक्क रोकाएर उहाँ आफ्नोतिर ध्यान खिच्न बाध्य बनाउनु हुन्छ ।
उनी आफ्नै सुरमा मन्त्रमुग्ध बनाउने गरी गितारको धुन निकाल्छ्न र शुरु गर्छन् रेसम फिरिरिबाट । जब मानिसहरुले उहाँको कला र गलाको जादुले लठ्ठ पर्छन् अनि खुशी हुँदै प्रोत्साहनस्वरुप युरोमा सहयोग दिने गर्छन् र पोर्चुगिसमा भन्छन् मुइतो बोउँ (धेरै राम्रो) । दैनिक दुई-तीन घन्टा गीत र धुन बजाउँदा करिव ५० युरो, नेपाली झण्डै छ हजार रुपैंया आम्दानी हुने बताउनु हुन्छ गायक एवं संगीतकार लामा ।
परिवारबाट टाढा हुँदा पनि आफुलाइ बाच्न र रम्ने यही गीत संगीतले सिकायो, जहाँ पुगेपनि यो छोड्न सकिएन । सन् २०१७ मा पोर्चुगल आउनु भएका लामाको अहिलेसम्म पोर्चुगलको अस्थायी बसोबास अनुमतिपत्र समेत बनेको छैन । परिवारको सम्झना र अत्यासले निकै सताउने भएकाले गीत र संगीत नै मन बुझाउने र एक्लोपन हटाउने औषधी जस्तै भएको छ, हामीसंगको कुराकानीमा उहाँले भन्नुभयो । वि.स. २०५२ बाट गीत र संगीत क्षेत्रमा प्रवेश गर्नु भएका लामा सानो उमेरमा नै बुबाआमाको मुत्यु भएपछि पारिवारिक समस्याले आफ्नो गीत संगीतको उदेश्य पूरा नसकेको कुराले पीडा महसुस भै रहेको अनुभव छ ।गीत-संगीत क्षेत्रमा चर्चाको शिखरमा पुग्ने सपना देखेको म गीत रेकर्डिङ गरेर एल्बम निकाल्न लाग्ने झन्डै दुईलाख रुपैयाँको आफ्नो हैसियत नहुँदा त्यो सपना अहिलेसम्म अधुरै रहेको बताउनु हुन्छ। डाक्टर पाइलट ब्यान्डका क्रान्ति आलेसंग मिलेर साँस्कृतिक कार्यक्रम गर्दै समुहमा हिडे पनि आर्थिक स्थिति निकै कमजोर भएकोले चुल्हो बाल्नकोलागि बिदेशिनु पर्यो । केही पैसा कमाउने, सक्षम हुने र संगीत क्षेत्रमा भविष्य बनाउने सुन्दर सपनाको बुनेर सन् २००७ मा कतार वैदेशिक रोजगार सिलसिलामा पुगें, गीत-संगीतलाई भुल्न सक्ने अवस्था र मन-मष्किस्त थिएन त्यसैले कामको फुर्सदमा समूह जम्मा गर्ने गीत गाउने गरे । गीत संगीतमा नै लाग्ने सोचकासाथ सन् २०१० नेपाल फर्के । पारिवारिक समस्या ज्यूकातिंहु थियोे परिवारको सहयोग र साथ पनि रहेन, म फेरि भारत गए । १ बर्षको बसाइपछि पुन: नेपाल फर्के र लगत्तै साउदी अरबमा वैदेशिक रोजगारको लागि पुगे । ४ बर्षसम्म साउदी अरबमा बिताएपछि फेरि म फर्किए पुरानै कर्म र मर्ममा, गितार बोक्ने शुरु गरे र गाउनपनि तर मेरो गाउनको पुनर्गामनलाई श्रीमतीलाई पटक्कै मन परेन । अनि फेरि युरोपको सपना देखे र सन् २०१७ मा आइपुगे सातसमुन्द्रपारीको युरोपेली देश पोर्चुगल । पोर्चुगल आउन रु छ लाख रुपैयाँ जति खर्च भयो, अहिले पोर्चुगलको अस्थायी बसोबास अनुमतिपत्रको लागि संघर्ष गर्दैछु लामाले भन्नु भयो । यावत समस्याका बावजुत रेसम फिरिरी.. बाट शुरु गर्छु, बाटोमा गाँउछु तर गर्वसाथ भन्छु ” आइ एम नेपाली गाईने इन पोर्चुगल”।हुनत प्रवासमा आफ्नो जिविकोपार्जन गर्न कसिएर हात पाखुरा बजार्नै पर्छ । म पनि रेस्टुरेन्टमा काम गर्छु, बिहान ११ बजेबाट सुरु हुन्छ । रेस्टुरेन्टको काम सकिएपछि कामले थाकेको भए पनि गितार बोकेर आफ्नो गायन प्रस्तुत गर्न पुगेकै हुन्छु, यो मेरो अन्तर्मनको आदेश आफ्नो रुचि पनि हो, लामा भन्नुहुन्छ । कार्ड बनाउनु पर्यो, परिवारको सपनाहरू धेरै छन्, तिनीहरुलाई पूरा गर्नुपर्ने नै छ । के गर्नु संगीत नसा बन्यो, ठुला-ठुला स्टेजमा स्थान पाइँदैन, तर सडकमा गीत गाउँदा पनि यो मन प्रफुल्ल छ । म नेपाली गीत मात्रै गाउँछु, विदेशी कर्म भूमिमा पनि आफ्नो जन्मभूमि र मातृभाषाको जगेर्ना गर्न हरदम लागिपरेको छु लामाको दृढ बिश्वास देखिन्छ।
कुराकानीमा उहाँले भन्नुभयो, “संगीत कुनै भाषा हुँदैन भने झैं मेरो गीत र संगीतको प्रस्तुतिमा बढो चाख दिएर बिदेशीले सुन्ने र नाच्ने गरेका छन् ।” अझ पोर्चुगलमा नेपालीलाई माया गर्ने मान्छे भनेर चिनिने र नेपाली समुदायका प्रिय पात्र भिक्टोर बाजे उहाँको नेपाली गीतमा छमछम नाच्दा आफुमा झन बलियो आत्मविश्वास बढेको लामाको अनुभव छ ।
लामाले आफ्नो पहिलो गीत “उकाली ओराली धनकुटा बजार..” रेकर्डिङ गर्नु भएको थियो, त्यसपछि गर्न सकेको उहाँमा एककिसिमको पीडा पनि छ तर निकट भविष्यमा आफ्नो उदेश्य पूरा गर्ने उहाँको ठूलो सपना भने जीवित छ । सन् २०२० भित्र आफ्नी श्रीमती र छोरालाई पोर्चुगल भित्र्याएर आफ्नो गीत सगीतको यात्रामा पोर्चुगलको नेपाली समुदायमा पनि सहयोग र सद्भावकालागि आग्रह गर्ने सोच बनाएको छु, यहाँ सबैबाटपनि आआफ्नो माध्यम र तरिकाबाट सहयोगको अपेक्षा राखेको छु, कुराकानीको बिट मार्दै लामाले भन्नुभयो ।