मेरा प्रिय बा र आमा
आफ्नो प्रेमको प्रतीकका लागि
बुढेसकालको साहाराका लागि
घरको कुल र बंशका लागि
पुस्तौंको अंसका लागि
गरिएको संभोगको उपहार हुं म
याद छ मलाई
त्यो सुरुको नौ महिना
मेरी आमाको कोखमा
म निस्चिन्त हुर्किएको
र निस्फिक्री निदाएको
जुन कोख मलाई मखमली बाकस लाग्थ्यो !!!
मेरा पाउहरु बाल्यकालमा
धर्ती कहिल्यै टेकेनन्
जबकि साइकल (धर्ती )
मेरा बा को काध बनिदिन्थ्यो
मेरा बा का कान ,मेरो साइकलको हेन्डल
मेरा बा को शिर,साइकल अगाडिको बाकस
जहाँ मलाई खुसी पार्ने खजाना हुन्थे
हो त्यो बाकस
मेरो खजानाको बाकास लाग्थ्यो!!!!
मेरि आमा
ठाडो उकालोमा
पल्टने लाहुरेका आफुभन्दा गह्रौ बाकस
र बाकसमाथी मलाई बोक्थिन्
दोबाटाहरु आउथे
घुमाउरा बाटा आउथे
आमा घुम्थिन्,बाकस घुम्थ्यो,मलाई घुमाउथ्यो
तब ,त्यो बाकस
मलाई घुम्ने मेच लाग्थ्यो !!!!
उफ!
अब मेरो साइकल पुरानो भयो
मेरो घुम्ने मेच घुम्न छाड्यो
मेरो घुम्ने मेच बाकस
मेरो खजानाको बाकस
सबै -सबैको शेष घट्यो।
घरको धुरीले घाम नछेकेसी
यो पापी पेटले माम नभेटेसी
मेरा बा ले
किनिदिएका छन् बाकस
जुन बाकसमा म सपना देखिरहेछु
घरलाई धुरी किन्न
घामलाई उजुरी किन्न
बा र आमाको हासो किन्न
दौरा र फरिया किन्न।
उ त्यो सात समुन्द्र पारिबाट
यो बाकस
मेरो खुसी बोकेर आउने बाकस हो
मेरो सपनाको बाकस
बा आमाको सुखको बाकस!!!!
अहो!
सात समुन्द्र कट्यो पत्तै भएन
म यो चर्को घाममा
फुलबुट्टा भरेर राता,काला र सेता
बाकसहरु बनाइरहेछु
मेरो मखमली भन्दा ठूलो
मेरो साइकल भन्दा ठूलो
मेरो मेच भन्दा ठूलो
ठ्याक्कै भन्ने हो भने
म जत्रै
म जस्ताहरु जत्रै
निरन्तर सुर्य उदाउदा पनि अस्ताउदा पनि
बाकसमा फुलबुट्टा फनफनी घुमिरहेछन्
गन्तब्यहिन बनेर
मेरो मन जस्तै गरि
सायद
म
मेरो मृत्युको पुर्बतयारी गरिरहेछु
यी रंगीचंगी फुलबुट्टे बाकसहरुमा!!!!!!!!!!!!!!!!!!!
बिराश सुन्दाश
पर्बत ,नेपाल
मन पर्यो कविता
LikeLike