५ अगस्ट, रोम। गैरआवासीय नेपाली संघ (एनआरएन) को १२ औं युरोप क्षेत्रीय बैठक इटालीको राजधानी रोममा सम्पन्न भएको छ । १७ बुँदे इटाली घोषणापत्र जारी गर्दै बैठक सम्पन्न भएको छ ।
क्षेत्रीय संयोजक शिवकुमार बरुवालको संयोजकत्वमा शुक्रबार, शनिबार र आइतबार गरी तीन दिनसम्म चलेको बैठकले नयाँ संविधानले गैरआवासीय नेपालीका लागि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नागरिकता प्रदान गर्ने व्यवस्था गरेपनि गैरआवासीय नेपालीले सो अधिकार उपभोग गर्न नपाएको औंल्याउँदै संविधानले व्यवस्था गरेअनुसार तत्काल स्पष्ट कानुन बनाइ कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।साथै गैरआवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिको कानुनी रुपमा संरक्षण हुने व्यवस्थाका लागि समेत माग गरिएको छ । यसैगरी विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले नेपालको निर्वाचनमा भाग लिन पाउने अधिकार सुनिश्चित गर्न पनि माग गरिएको छ ।
वार्षिक २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित सुरु गरिएको ‘‘भिजिट नेपाल २०२०’’ कार्यक्रमप्रति ऐक्यवद्धता जनाउँदै सो अभियानमा होमिन सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई बैठकले आह्वान गरेको छ ।
एनआरएन युरोप बैठक : नेपालमा लगानी गर्न कानुनमन्त्री ढकालको आह्वान
बैठककै अवसरमा गैरआवासीय नेपाली संघ र नेपाल भ्रमण वर्ष २०२० बीच सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ भने गैरआवासीय नेपालीमाझ भिजिट नेपाल २०२० को औपचारिक सुरुवात भएको छ ।
नेपालको हवाई कम्पनीहरुलाई युरोपेली संघ (इयू) को कालोसूचीबाट हटाउन पहल गरी आफ्नो सेवा यूरोपसम्म विस्तार गर्ने वातावरण बनाउन पनि बैठकले सरकारसँग अनुरोध गरेको छ ।
यस्तै सरकारले वैदेशिक लगानी भित्र्याउन विशेष पहल गर्नुपर्नेमा पनि जोड दिइएको छ भने युरोप क्षेत्रीय बैठकमा मुना कृषि बजार, ठूलो खोला हाइड्रो जस्ता परियोजनाहरु प्रस्तुत गरिएको छ । यी परियाजनासहित कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधि जस्ता क्षेत्रमा सामूहिक लगानी गर्न बैठकले आह्वान गरेको छ।
बाढी पीडितको सहयोगको लागि प्रधानमन्त्री राहत कोषमा रु ५१ लाख रुपैयाँ सहयोग गर्ने तथा बेलायतस्थित भूपु गोर्खाहरुले उठाउँदै आएको मागप्रति ऐक्यबद्धता जाहेर गर्ने निर्णय पनि गरेको छ ।
इटालीमा एनआरएन नेताहरुको जमघट
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुुभक्त ढकाल, कांग्रेस नेता शेखर कोइराला, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष उपेन्द्र महतो, संरक्षकहरु जीवा लामिछाने, शेष घले, रामप्रताप थापा, युरोपस्थित नेपाली राजदूतहरु, संस्कृति पर्यटन र नागरिक उड्यन सचिव मोहनकृष्ण सापकोटा, प्रदेश १ का सांसद बसन्त बानियाँ, भिजिट नेपाल २०२० का संयोजक सुरज वैद्य, होटेल एशोसिएशन नेपालका अध्यक्ष सिर्जना राणा, उच्च अधिकारीहरु, जापान, अमेरिका, अष्ट्रेलिया, क्यानडा, हङकङ युएई, कतार, एवम् युरोपका २२ राष्ट्रिय समन्वय परिषद्का गरी ३५० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) १२ औं युरोप क्षेत्रीय बैठक–२०१९ का निर्णयहरु:
नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, कांग्रेस नेता शेखर कोइराला, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष उपेन्द्र महतो, संरक्षकहरु जीवा लामिछाने, शेष घले, रामप्रताप थापा, युरोपस्थित नेपाली राजदूतहरु, संस्कृति पर्यटन र नागरिक उड्यन सचिव मोहनकृष्ण सापकोटा, प्रदेश १ का सांसद बसन्त बानियाँ, भिजिट नेपाल २०२० का संयोजक सुरज वैद्य, होटेल एशोसिएशन नेपालका अध्यक्ष सिर्जना राणा, उच्च अधिकारीहरु, जापान, अमेरिका, अष्ट्रेलिया, क्यानडा, हङकङ युएई, कतार, एवम् युरोपका २२ राष्ट्रिय समन्वय परिषद्का गरी ३५० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको १२औंयुरोपियन बैठक युरोपियन क्षेत्रीय संयोजक शिव कुमार बरुवालको संयोजकत्वमा इटालीको रोममा सम्पन्न भएको छ । बैठकले निम्न निर्णय गर्दछः
१. नयाँ संविधानले गैरआवासीय नेपालीका लागि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नागरिकता प्रदान गर्ने व्यवस्था गरेपनि संविधान जारी भएको झन्डै ४ वर्षसम्म गैरआवासीय नेपालीले सो अधिकार उपभोग गर्न पाइरहेका छैनन् । संविधानले व्यवस्था गरेअनुसार तत्काल स्पष्ट कानुन बनाइ कार्यान्वयन गर्न यो बैठक नेपाल सरकार र नेपालका राजनीतिक दलहरुसमक्ष अनुरोध गर्दछ । साथै गैरआवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिको कानुनी रुपमा संरक्षण हुने व्यवस्थाका लागि समेत हामी माग गर्दछौँ । नागरिकतासम्बन्धी प्राप्त उपलब्धीलाई संस्थागत गर्दै कानुनमा स्पष्ट व्यवस्था र गैरआवासीय नेपालीलाई थप अधिकारका लागि पहल जारी राख्ने निर्णय यो बैठक गर्दछ ।
२. संविधानको धारा २९१ (१) ले काम विशेषले विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुको अधिकार कुन्ठित गरेको महसुश गरिएको छ । नेपाली नागरिकको मौलिक अधिकार हनन् नहुने गरी मौलिक अधिकारसँग बाझिएको यो व्यवस्था संशोधन गर्न बैठक नेपाल सरकार र राजनीतिक दलहरुमा आह्वान गर्दछ ।
३. विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले नेपालको निर्वाचनमा भाग लिन पाउने, मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न सम्मानित सर्वोच्च अदालतले समेत निर्देशनात्मक आदेश जारी गरिसकेको परिपेक्षमा तत्काल प्रक्रिया मिलाई विदेशमा बस्ने नेपालीहरुको मताधिकार सुनिश्चित गर्न यो बैठक नेपाल सरकारसँग माग गर्दछ । सबै गैरआवासीय नेपालीहरुलाई भावानात्मक रुपमा एकबद्ध गर्नका लागि गैरआवासीय नेपाली ऐनमा गैरआवासीय नेपाली संघसँग सहकार्य गरेर आवश्यक सुधार गर्न सरकारसँग यो बैठक आग्रह गर्दछ ।