दीर्घराज उपाध्याय, धनगढी, ११ साउन ।
सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको दीपायल सिलगढी नगरपालिका—१ सिलगाउँमा कहलिएका ज्योतिष थिए, पण्डित उमाकान्त भट्ट । उनी संस्कृतका प्रकाण्ड बिद्धान थिए । स्वामी प्रपन्नाचार्य, योगी नरहरीनाथ लगायतका प्रख्यात अध्यात्मिक व्यक्तित्वहरु उनको घरमा आईरहन्थे । पण्डित उमाकान्त र अध्यात्मिक स्वामीहरुका बीचमा जीवन र जगतका विषयमा चर्चा हुन्थ्यो । धर्म र अध्यात्मका कुरा हुन्थ्यो । र त्योसंगै ब्रह्माण्ड, भूगोल, नक्षत्र, ताराका कुरा पनि हुन्थे ।
बिज्ञानको कुरा हुन्थ्यो । संसारको रचनाका बिषयमा कुरा हुन्थ्यो । मानव जीवन र बिज्ञानको अन्तरसम्बन्धको चर्चा हुन्थ्यो । यी सबै कुरा एक बालक चुपचाप सुनिरहन्थ्यो । तिनै कुरा सुनेर विस्तारै त्यो बालकको लगाव र रुचि अध्यात्मसंगै ब्र्रह्माण्डको उत्पतिका विषयमा हुन थाल्यो ।
ती बालक थिए, पण्डित उमाकान्त भट्टका नाती गोपाल भट्ट । नारायण प्रसाद भट्ट र जानकीदेवी भट्टको सात थिए । दुई छोरा । पाँच छोरी । वि.स.२०३० साल कार्तिक १३ गते जन्मिएका गोपाल दोस्रो सन्तान थिए । उनी अघि दिदी थिईन । बाँकी उनीपछि । उनका बुवा अंग्रेजीका प्राध्यापक थिए । उनमा छाप भने बुवा भन्दा बाजेको बढि परेको थियो ।
बाजेले ग्रहण लाग्ने समय पहिले नै बताउदा उनी चकित पर्थे । सूर्यमा ग्रहण लाग्ने कुरा बाजेले कसरी पत्ता लगाउनुहुन्छ होला ? उनी आश्चर्य मान्थे । बाजेले ब्रह्माण्डको चर्चा गर्दा उनीभित्र थुप्रै जिज्ञासाहरु हुन्थे । संसार कहिले बन्यो होला ? कसरी बन्यो होला ? कसले बनायो होला ? ताराहरु कति होलान ? पृथ्वीसम्म तातो पुग्ने सूर्य कति टाढा छ ? किन दिन र रात हुन्छ होला ? उज्यालो भएपछि तारा कहाँ जान्छन होलान ? यस्तै तमाम कौतुहलता र प्र्रश्नहरु बालसुलभ मस्तिष्कमा भरिदै गएका थिए । यद्दपि ती प्र्र्रश्नको जवाफ थिएन । निरुत्तर थिए ।
थाहै नपाई ती प्र्र्रश्नहरुको उत्तरको खोजी उनको जीवनको लक्ष्य थियो । त्यही लक्ष्य पछाउदै उनी धनगढी पुगे । उनी खगोल जान्न चाहन्थे । त्यसका लागि ऐच्छिक विषय गणित लिएर उनी पढ्न चाहन्थे । ऐच्छिक विषयमा गणित नभएपछि उनी सिलगढीमा रहेको पद्म पब्लिक हाईस्कुलबाट ८ कक्षा पास गरेपछि उनी धनगढी झरेका थिए ।
धनगढीको चर्को गर्मी झेल्न नसकेपछि उनी केही महिनामै काठमाण्डौं पढ्न हिडे । रत्नराज्य स्कुलमा भर्ना भए । नौ कक्षाको परीक्षा दिए । पास भए । एसएलसी पनि प्रथम श्रेणीमा त्यहीबाट पास भए । देशमा प्रजातन्त्रका लागि आन्दोलन चलिरहदा उनी एसएलसी दिदै थिए ।
आईएस्सीमा त्रिचन्द्र कलेज भर्ना भए । फिजिक्समा आईएस्सी गरे । स्नातक पनि त्यही विषयमा प्रथम श्रेणीमा पास भए । त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी सके । उनले एमएस्सीमा प्रख्यात ब्रह्माण्डशास्त्री प्रा.डा. उदयराज खनालसंग ब्ल्याक होलका विषयमा सोध गर्ने अवसर पाए । यसले उनलाई खगोलशास्त्री बन्न हौसला दियो । प्रेरित ग¥यो । सन २००३ देखि काठमाण्डौंकै जेभियर कलेजमा पढाउन थाले । सिलगढीबाट धनगढी पुगेर नथामिएका उनका पाईला काठमाण्डौंमा रोकिनेवाला थिएनन । किनकी उनकै गन्तव्य अर्कै थियो । लक्ष्य अर्कै थियो । जुन लक्ष्य र गन्तव्य काठमाण्डौंमा बसेर पुरा हुन सक्ने अवस्था थिएन । चार वर्ष काठमाण्डौंमा पढाएपछि २००७ मा उनी पूर्ण छात्रबृति पाएर अमेरिका पुगे ।
२०१३ मा उनले फ्लोरिडा ईन्टरनेशनल युनिभर्सिटीबाट खगोलशास्त्रमा विद्यावारिधी गरे । विद्यावारिधीपछि पनि उनको खोज सकिएन । खोजको भोक झनै बढ्यो । ब्रह्माण्डका विषयमा पत्ता नलागेका थुप्रै विषयको खोजीमा उनको रुचि बढ्दै गयो । त्यही रुचि र खोजीले उनलाई युरोप पु¥यायो । उनी अमेरिकाबाट पोल्याण्ड पुगे ।
डा. भट्ट विगत ६ वर्षदेखि पोल्याण्डको यागेलोलियन युनिभर्सिटीमा खगोलशास्त्र बिभागमा बरिष्ठ अनुसन्धानकर्ताका रुपमा कार्यरत छन् । कोपननिकस, जसले पृथ्वीले सूर्यको फन्को लगाउने गरेको तथ्य पत्ता लगाएका थिए, उनले अध्ययन गरेको युनिभर्सिटी हो, यागेलोलियन । सन १३६४ मा स्थापना भएको यो युनिभर्सिटी पोल्याण्डको पहिलो र केन्द्रीय युरोपको दोस्रो विश्व विद्यालय हो ।
डा. भट्टका ब्रह्माण्ड, ग्यालेक्सी, सुपर म्यासिभ ब्ल्याकहोल सम्बन्धि दर्जनौ खोज कार्यहरु अमेरिकाबाट प्रकाशित हुने द एष्ट्रोलोजिकल जर्नल जस्ता अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् । उनी एक्लैले पनि ब्रह्माण्डका विषयमा थुप्रै खोज गरेका छन् । कतिपय खोजमा उनीसंगै दर्जनौ बैज्ञानिक सहभागी भएका छन् । जसको नेतृत्व उनले गर्ने गरेका छन् ।
उनले अनुसन्धान गरेको जर्नलहरु अंग्रेजी, पोलिस, रसियन, ईटालियन, र स्पेनिश लगायतका भाषामा प्रकाशित छन् । चीनको सांघाईमा सन २०१९ मे मा सम्पन्न खगोलशास्त्री तथा बैज्ञानिकहरुको सम्मेलनमा आफ्ना खोजहरु प्रस्तुत गरेका डा.भट्टले अमेरिका, चीन,जर्मनी, भारत, नेपाल,स्पेन, ईटली, चेकोस्लोभिया मुलुकमा भएका बैज्ञानिकहरुको सम्मेलनमा समेत ब्रह्माण्ड, ग्यालेक्सी, सुपर म्यासिभ ब्ल्याकहोल सम्बन्धि आफूले गरेका खोजहरु बारेमा चर्चा गरेका थिए । युरोप खगोलशास्त्री समाजका सदस्य हुन्, उनी । उनी पोल्याण्डको खगोलशास्त्री समाजमा पनि सदस्य छन् । खगोलशास्त्री समाज अमेरिकाको एशोसियट मेम्बर छन् ।
युरोप र अमेरिकामा विज्ञानको विकास हुनुभन्दा धेरै पहिले नेपालमा विकास भएको डा.भट्टको दावी छ । भन्छन्, युरोप र अमेरिकामा विज्ञानको विकास भएको दुई हजार वर्ष भयो । नेपालमा विज्ञानको विकास भएको पाँच हजार वर्षभन्दा बढि भयो ।
उनी महाभारतका पात्र सञ्जयलाई टेलिभिजनका तत्कालीन रुप मान्छन । जसले घरमै बसेर धृतराष्ट्रलाई महाभारतको लडाई जस्ताको त्यस्तै सुनाएका थिए । ग्रहण कुन समयमा लाग्छ भन्ने यकिन जानकारी युरोप र अमेरिकाका बैज्ञानिकहरुले दिन थाल्नुभन्दा हजारौ वर्षपहिले यहाँका ज्योतिषहरुले त्यसको बारेमा जानकारी दिन्थे । उनी भन्छन्, अमेरिका र युरोपियनहरुले त्यसलाई उपयोग गरे । तर हामीले त्यसको उपयोग गरेनौ । त्यही कारण हामी पछि प¥यौ । उनी ज्योतिषीलाई हिन्दु धर्मको बिज्ञान मान्छन । ग्रहण लाग्नु अघि खगोलशास्त्रीहरुले दिएको त्यसको समय र ज्योतिषले दिएको समयमा अलिकति पनि तलमाथि हुदैन । यद्दपि ज्योतिषशास्त्र भित्रका केही नकारात्मक र पुरातन सोचलाई सुधार गर्न उनी आवश्यक ठान्छन । ज्योतिषशास्त्र बैज्ञानिक हुदाहुदैपनि समय सापेक्ष हुन नसक्दा पछि परेको उनको बुझाई छ ।
बाजे उमाकान्तको सानिध्य र ज्योतिषी ज्ञानबाट प्रभावित भएर खगोलशास्त्री बनेका डा. गोपालले बाल्यकालमा मस्तिष्कमा रहेका थुप्रै जिज्ञासा र कौतुहलता आफ्नै खोजबाट मेटेका छन् । तिनै कौतुहलता र जिज्ञासा पछ्याउदै उनले थुप्रै नयाँ कुरा पत्ता लगाएका छन् । र यो क्रम अझै जारी छ ।
ब्रह्माण्ड, ग्यालेक्सी, सुपर म्यासिभ ब्ल्याकहोलका सम्बन्धमा उनले गरेका दुई दर्जन भन्दा बढि खोजहरु अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् । ग्यालेक्सीहरुको केन्द्रीय भागबाट निस्किने नियमित तरंगहरुका सम्बन्धमा उनले गरेको खोज अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएपछि त्यसले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा निकै चर्चा पाएको थियो ।
हाल उनी प्राचिन ब्रह्माण्डको गुरुत्वाकर्षण पत्ता लगाउन जुटेका छन् । उनले यो कुरा पत्ता लगाए ईतिहास रच्नेछन् । उनले फर्मी गामारी टेलिस्कोप, रेडियो टेलिस्कोप, एक्सरे टेलिस्कोप र अप्टिकल टेलिस्कोपको प्रयोगबाट सुक्ष्मतम ढंगले त्यसको अनुसन्धान गरिरहेका छन् ।
एक वर्षअघि ब्रह्माण्ड, ग्यालेक्सी र सुपर म्यासिभ ब्ल्याकहोलको शोधका लागि उनले तीन लाख डलर (करीव तीन करोड रुपैया) को ग्राण्ट पाएका छन् । तीन वर्षमा पुरा गर्नु पर्ने यो खोजको दोस्रो वर्षमा छन्, उनी ।
उनले ब्रह्माण्डको उत्पत्ती, त्यसको विकास क्रमका विषयमा पनि अनुसन्धान जारी राखेका छन् । १० हजार वर्ष पहिले उत्पत्ती भएको विश्वास गरिएको ब्रह्माण्ड कम उमेरमा कस्तो थियो ? विशाल व्ल्याकहोलहरु कसरी बन्न पुगे ? उनी यसको निरन्तर खोजमा छन् । उनी यो खोजमा सफल भए ब्रह्माण्डको विकास क्रमको बारेमा विश्वले थाह पाउनेछ ।
१३ वर्षअघि भारतको सिगांहीकी सुकृति उप्रेतीसंग मागी बिबाह गरेका डा. भट्टका दुई सन्तान छोरा ईशान(१०) र छोरी अश्लेषा(६) छन् । उनले छोरीको नाम नक्षत्रबाट राखेका छन् ।
शिव खेडाले भनेका छन्, जित्ने मान्छे केही अलग काम गर्दैन । उ त हरेक काम अलग ढंगले गर्छ । उनी काम गर्ने त्यही अलग तरिकाले युरोपमा छुट्टै छाप छोड्न सफल भएका छन् ।
मान्छे कहाँ जन्मियो ? त्यसले कुनै अर्थ राख्दैन । तर उसले त्यहाँ जन्मिएर समाज, राष्ट्र र संसारका लागि के काम ग¥यो ? त्यसले अर्थ राख्छ । डोटीमा जन्मिएका गोपालले विदेशमा नेपालको नाम मात्र राखेका छैनन । नेपालीको शीर मात्र उचो बनाएका छैनन ।
सुदूरपश्चिममा जन्मिएको मान्छेले संसारलाई नेतृत्व गर्न सक्छ भन्ने सन्देश पनि दिएका छन् । पोल्याण्डको यागेलोलियन युनिभर्सिटीमा खगोलशास्त्र बिभागमा बरिष्ठ अनुसन्धानकर्ताका रुपमा कार्यरत उनले ब्रह्माण्ड, ग्यालेक्सी, सुपर म्यासिभ ब्ल्याकहोलको अनुसन्धानका क्रममा सयौ बैज्ञानिकहरुको नेतृत्व गरिरहेका छन् । उनले जारी राखेको खोज र अनुसन्धान सफल भएमा उनी संसारकै लागि प्रेरणादायी बैज्ञानिक हुनेछन् । उनलाई त्यसमा सफलता मिलोस । यही शुभकामना ।
स्रोत : पश्चिम नेपाल टुडे
नेपालको सुदुर पश्चिमका यी डाक्टर भट्ट पोल्यान्डमा बसेर प्राध्यापन एवं अनुसन्धान जस्तो यो महान कार्यको लागि पोल्यान्ड नेपाल परिवार उहाँको उच्च सफलताको कामना गर्दछ ।