कलश खरेल
१९ जुलाई । कुनै समय यस्तो थियो बहुलाए राँची जानु शान्तिका लागि बुद्धको देश नेपाल जानु, स्व राजा बिरेन्द्रको शासन पालामा देश नेपाललाई शान्तिको देश घोषणा गर्न राजाले अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्ताव राखेका पनि थिए तर केही राष्ट्रको बिरोधका कारण घोषणा हुन पाएन। सन्सारभर आज नेपाल शान्तिका अग्रज दुत बुद्धको देश भन्दै गर्दा गर्वले छाती चौडा बनाउने हामी नेपाली नै हो। बिदेश रहेर परिचय दिइरहदा बुद्ध जन्मेको देश नेपाल भन्दै बिदेशी सामु परिचयको बेलिबिस्तार लगाउदा गौरबको महशुस आम नेपालीले गरिरहेका छन् जुन स्वयं राष्ट्रकै शिर उचो भएको तथ्यमा पुष्टि हुन्छ। बुद्धको देश,शान्तिप्रिय देशको नामको धज्जी उडाएर शालिन धर्मका रचयिता माथी किन बर्बर आक्रमण भैराखेको छ। जुन अत्यन्त गम्भीर र बिडम्बनापूर्ण छ। कुनै धर्म विशेषलाई जोडेर समाजलाइ चिरा-चिरामा बिभाजित गर्नु भन्दा गौतम बुद्धका शान्तिका वाणिलाई अङ्गीकार गरेर रास्ट्रलाई स्वतन्त्र,निस्पक्ष र भयरहित बाताबरणमा विकासको मार्गमा अग्रसर गराउनुनै अहिलेको सर्बोपरी आवश्यकता हो।कुनै एक धर्मलाई उचालेर अर्को धर्मको निस्ठा,मर्यादामाथी आँच पुर्याउने कार्य गर्ने तर्फ उद्दत नहोउ। बुद्धको मुर्ती नै शान्तिको प्रतीक हो जसले इतिहासलाई दर्शाउछ। त्यही मुर्तिलाई आवेग र आक्रोशको दलिलमा करार नगरौ। देशको गौरब ईतिहास, सभ्य र शालिन समाजले निर्माण गर्ने हो नकि हिंसा र द्वन्दले कदापी भलो हुदैन। केही बर्षअघि रुपन्देहीको सिद्धार्थ राजमार्गमा तिलोत्तमा नगरपालिकाले शान्तिका दुत गौतम बुद्धको २२ वटा मुर्ती स्थापना गरेको थियो तर बिडम्बना ती मध्य ५ वटा मुर्तिलाई तोडफोड गरेर आधुनिक समाजको खिल्ली उडाइएको छ।
हेर्दा सामान्य लाग्ला तर यस्ले पार्ने दुरगामी प्रभाव निकै जटिल र महङ्गो साबित हुन सक्छ। बाहिरबाट हेर्दा केवल मुर्ति मात्रै तोडिएको देखिन्छ तर त्यसले विश्वभरि रहेका बौद्धमार्गी एवं बुद्दप्रति आस्था राख्ने सम्पूर्ण मानव जगतमाथिकै आस्था, विस्वासमाथि ठाडो हस्तक्षेप गरेको देखिन्छ । त्यति मात्र हैन यस प्रकारका क्रियाकलापले नेपाल देखि बिदेशमा धार्मिक आस्था राख्ने जो कोहीलाई आउदा दिनमा उनीहरुको आस्थाको धरोहरमाथि यस्ता हिंसात्मक गतिबिधि दोहोरिने हुन् हो कि भन्ने त्रास सृजना गरेको छ । मुर्ति तोडेर बुद्धको ईतिहास कदापी मेट्टिने छैन बरु थप शसक्त र मजबुत भएर बुद्धको बाटो समाउन मानिस लालायित हुने छन्। मुर्ति फोरेर धर्म र सहिष्णुता माथी धाबा बोल्ने हर्कत गरिएको छ जुन सरासर सँकुचित मानसिकताको पराकाष्ठा बाहेक केही हुन सक्दैन।नेपालीको शान देश प्रेमको बिरता हो जहाँ सबै जातजाति, धर्म, सस्कृती, बिबिधताको सङ्गालोले नेपाल आफैमा रंगशाला हो।पबित्र रङ्गशालालाई क्षणभरमै ध्वस्त बनाउने कुचेस्टा नगरौ। देश रहे त आफू रहने हो, देशनै नरहे के रहने हो।शान्तिका प्रतीक बुद्धको गरिमालाई थप समृद्ध र सबल बनाउन सम्पुर्ण नेपालिले हातेमालो गरौ।