(१)
न धनमा हुन्छ , न यौवनमा हुन्छ।
असली प्रेम त समर्पणमा हुन्छ।।
हराउछ घण्टौ मलाई नै नसोधी।
आखिर मन कसको निर्देशनमा हुन्छ।
मुस्कुराई दिनुहोस् दुश्मनसंग पनि।
मुस्कानको असर धड्कनमा हुन्छ।।
कसैलाई घाउ कसैलाई भने औषधि।
आखिर के त्यस्तो जादु बचनमा हुन्छ।
पैशामा सबथोक ओजन नगरिदिनुस।
जति नै धनी होस् मुर्दा कफनमा हुन्छ।।
(२)
गजल
– नयन अधिकारी
कसैको दुनिया बस्छ कोहि बेघर बन्छन्।
प्रेमले पत्थर ‘फूल’ र ‘फूल’ पत्थर बन्छन्।।
रत्नाकर लाई वाल्मीकि मात्र बनाउदैन।
प्रेममा कैयौं वाल्मीकि रत्नाकर बन्छन्।।
बेलाबेलामा यो सोचेर आँशु बगाउने गर्छु।
बगेन भने आँशु यी आँखा बगर बन्छन्।।
यो आधुनिक जमाना हो अभिभावक ज्यू।
प्रश्न नगर्नुस् प्रश्न भन्दा पहिले उत्तर बन्छन्।।
आज दिनभर हात समाएर शहर घुम्यौ भने।
फेरि मलाई दुनियाँले हेर्ने बेग्लै नजर बन्छन्।।
©नयन अधिकारी
भरतपुर , चितवन
