एस डी अर्पण
३० मार्च, वार्सावा । परापुर्व कालदेखि चितवनका आदिवासी थारुहरुले पुजा आजा गर्दै आएका आस्था एवं विश्वासको धरोहर पबित्र धार्मिक स्थल बिक्रमबाबामा सदाको वर्ष झैँ यसपाली पनि चैतेदशैंको रौनकता छाउँदैछ । विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रीय निकुञ्ज भित्र अवस्थित विक्रमबाबालाई थारुहरुमाझ निकै प्रख्यात तथा निकै आस्थाको स्थलको रुपमा चिनिन्छ । बिशेष गरि नि:सन्तान दम्पतिहरुले सन्तान प्राप्तिका लागि पबित्र मनले पुजा आजा एवं भाकल गरि पुर्याए बिक्रमबाबाको कृपाले सन्तान प्राप्त हुने अझै दरिलो विश्वास छ । त्यसरी बिक्रमबाबाको पुजा गरि प्राप्त गरिएको सन्तानको नाम पनि छोरा भए ‘बिक्रम’ र छोरी भए ‘बिक्रमिया’ राख्ने प्रचलन अझै कायमै छ । त्यति मात्रै हैन थारुहरुले चैते दशैंलाई बिशेष रुपमा मनाउने गरेका छन् । यसमा पनि दशैंको जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाजा बज्ने गर्छन् । पछिल्लो वर्ष भाकल गरिएका परेवा, बोका वा फलफूलहरु पनि यस वर्ष चढाउने गर्दछन् । थारुहरु प्रकृति पुजक भएका कारणले त्यहाँ कुनै मन्दिरको स्थापना गरिएको छैन, खुल्ला ठाउँमा नै माटो, ढुंगा, काठ इत्यादिलाई पुजा पाठ गरिन्छ । मन्दिर स्थापनाको लागि धेरै चोटी प्रस्ताव गरिएपनि थारु बुद्दिजिवि, सामाजिक अगुवा तथा संस्कृतिविद्हरुको सल्लाह बमोजिम बिक्रमबाबालाई प्राकृतिक रुपमै राखिएको छ ।
यद्यपि चैते दशैं चितवनमा मात्र नभएर देशै भरि मनाउने गरिन्छ । नेपाली चाडपर्वमा चैते दशैंको पनि महत्वपूर्ण स्थान रहेको छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुई पटक मनाउने गर्दछन् । असोजमा मनाईंने दशैंलाई बडादशैको रुपमा मनाइन्छ भने चैत महिनाको शुक्ल अष्टमीमा मनाइने भएकोले यो दशैंलाई चैते दशैं वा रामनवमी भनेर चिनिन्छ । चैते दशै पर्वको अवसरमा देवीमन्दिर तथा घरघरमा दुर्गा सप्तशती, देवी भागवत कालिकापुराण लगायत देवी महिमायुक्त ग्रन्थको वाचन गर्ने गरिन्छ । एक वर्षमा चैत र असोज महिनामा गरी दुई पटक पुज्ने दुर्गा पूजाको हिन्दु धर्म शास्त्रहरुमा विशेष महत्व रहेको उल्लेख गरिएको छ । हिन्दु धर्मालम्वीहरुले चैते दशै मनाएर विशेष उत्सवको साथ राम नवमी पर्व मनाउने गरेका छन् । यसै दिन मर्यादा पुरूषोत्तम प्रभू श्री रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकाएर अयोध्या फर्किनु भएको र आफ्नी श्रीमती सीताको अस्मिता रक्षार्थ अनि पापी रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान श्री रामले रावणको वध गर्नुभएको थियो ।
रावणको वध गर्नका लागि देवी दुर्गाले रामलाई मद्धत गर्नुभएको थियो भने नवमी कै दिन वहाँको १४ वर्षे वनवास सकेर राम सकुशल आगमन भएकोमा अयोध्यावासी लगायत सबैले असत्यमाथी सत्यको जितको रुपमा चैते दशैं मनाएका हुन् भन्ने सामाजिक मान्यता रहेका छन् । चैते दशैंको अवसरमा काठमाण्डौ उपत्यकाभित्र गुह्येश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, मैतिदेवी र संकटामा बिहानैदेखि दर्शनार्थीको ठुलो घुँइचो लाग्ने गर्दछ । त्यस्तै तलेजु भवानी, हनुमान ढोका दरवार स्क्वायर, भक्तपुर दरवार स्क्वायर लगायतका उपत्यकाका मन्दिरहरुमा वली दिईन्छ र यस्ता वली दिने कार्यक्रमहरुमा नेपाली सेनाको समेत सहभागीता रहन्छ । वलीका क्रियाकलापहरु पर्यटकहरुले सार्वनजिक रुपमा हेर्न पाउँछन्, पर्यटकिय रुपमा पनि चैते दशैं चाड उत्तिकै महत्पूर्ण छ । अर्कोतर्फ प्राचिन समय देखिनै उपत्यकाका यी देवालयहरुमा वली चढाउने क्रम निरन्तर चलिरहेको छ । उपत्यका बाहिर पनि भगवति मन्दिरहरु अनि शक्तिपीठहरुमा समेत दर्शनार्थीको घुँइचो हुने गर्दछ । कतिपय भगवती मन्दिर क्षेत्रमा भने भव्य मेला लाग्ने गर्दछ । चितवनको सन्दर्भमा पहिले थारुहरुले मात्रै पुजा आजा गर्ने बिक्रमबाबा तिर्थ स्थलमा अचेल अन्य अमुदायका मानिसहरुको पनि आस्थाको केन्द्र बन्दै गएको देखिन्छ । पछिल्लो समयमा बिक्रमबाबाको पुजा गर्न देशभर बाट हजारौ भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । त्यतिमात्र होइन छिमेकी मुलुक भारतबाट समेत बिक्रम बाबा दर्शनका लागि भक्तजन आउने गरेको छन् ।
विशेष गरी बडा दशैं त्यति महत्वका साथ नमनाउने थारु घरपरिवारहरुले पनि चैते दशैंलाई उच्च स्थानका साथ मनाउने गरेको पाईन्छ । सबै तिर वसन्त ऋतुको हरियाली छाई रहेको रमाइलो मौसममा मनाईने यस चार्डको अवसरमा थारुहरुले बिहेवारी गरि पराई घर गएका छोरी चेलीहरुलाई माईत बोलाएर मिठो मसिनो खुवाएमा पुण्य मिल्ने विश्वास छ । त्यसैगरि बिक्रमबाबामा भाकल गरि वली दिएको बोकाको टाउको बिक्रमबाबालाई नै चढाइञ्छ भने बोकाको बाँकि मासु घरमा ल्याएर आफन्तजन तथा छर छिमेकहरुलाई निम्ता गरेर खुवाउने प्रचलन छ । चैते दशैं मनाउने यस किसिमको संस्कारले थारुहरुमा टाढा रहेका छोरी चेली तथा आफन्तहरु भेट हुने अवसर मिलाउनुको साथै सामाजिक एकता कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने गरेको देखिन्छ । चितवनमा पहाडे समुदायको बसाइसराईको कारणले थारुहरुले मनाउने केहि चार्ड पर्वहरु ओझेलमा परे पनि यो चैते दशैं भने अन्य समुदायले पनि मनाउन थालेका छन् । नयाँ पुस्ताले पनि यस चार्डलाई हर्षोउल्लासका साथ मनाउने लालायित भएको देखिन्छ । यद्यपी चार्डको नाउँमा लागु तथा मादक पदार्थ सेवन गर्दा केहि दुख:द दुर्घटना सिकार हुदाँ अकालमै ज्यान गुमाई रहॆका छन्, त्यस्ता बिकृतिहरु नियन्त्रण गर्न सकेमा बिक्रमबाबा लगायत देश भारी मनाईने चैते दशैंमा अझै रौनकता थपिने थियो । चैते दशैंकै अवसरमा हरेक वर्ष झैँ यसपाली पनि चितवनको कसरामा विक्रम बाबा मेला चैत्र २२ गते देखि सुरु हुँदैछ जुन१५ दिन सम्म चल्ने छ ।