भाइ तिमीले जित्यौ
लक्ष्मी घिमिरे
समय तँ किन यति हतार गरेर कुदिरहेको हँ ? तँ यसरी वेगवान् गतिले नदौडिएको भए हाम्रा खुसीहरू लुटिने थिएनन् पक्कै । हिजोजस्तै लाग्छ तर आज पैँतालिस दिन भएछ । मैले आफू जन्मेको दिन अनि आफूभन्दा प्रिय भाइ गुमाएको कालो दिन । जन्मदिनको एकएक हिसाब राखेकी छु मैले । त्यस दिन सबै हिसाब चुक्ता भएको सम्झनेछु जुन दिन म सांसारिक बन्धनबाट मुक्त हुनेछु ।
मेरो जन्मदिन, राम्रीको नराम्रो षड्यन्त्र अनि मेरो प्यारो भाइ प्रदीप । म आँसुका भेल बगाउँदै सम्झिरहेकी छु त्यो कहालीलाग्दो दिन । कलम समाउँदा मेरा औंलाहरू थरथराइरहेका छन् । शरीर कामिरहेछ, मन भक्कानिरहेछ । मस्तिष्कभरि तिम्रै तस्बिर छाइरहेको छ । म बडो मुस्किलले दुईचार शब्द लेख्ने प्रयत्न गर्दैछु । म झलझली सम्झिरहेकी छु ती शब्दहरू अनि तिम्रोको हिसी परेको अनुहार । मेरो जन्मदिनमा तिमीले मेरा लागि अर्पण गरेका शब्दहरू जस्ताको तस्तै ः
‘तिमी सधैँ मेरो समीपमा उभियौ । मेरा हरेक उतारचढावमा साथ दियौ । तिम्रो माया र समर्थनले मेरो जीवन सार्थक भएको छ । तिमी मेरा लागि सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हौ । तिमीसँग गरेका लडाइँ र झगडालाई बच्चा सम्झेर माफी देऊ ल । कहिल्यै मलाई दिने मायामा, हेरविचारमा र समर्थनमा कमी नल्याए है । जन्मदिनको शुभकामना दिदी !’
भाइ ! यी शब्दहार मेरा अमूल्य सम्पत्ति भएका छन् अब । यी अक्षरअक्षरमा म तिमीलाई पाउँछु । धन्य भाइ ! म भाग्यमानी रहेछु । कमसेकम मलाई शब्द सौगात छाडेर गयौ । भाइ ! साँच्चै म आज अपूर्ण भएकी छु । एक्ली भएकी छु । कसलाई पोखूँ मेरा दुःख, तनाव, शोक र छटपटीहरू ? कसलाई सुनाऊँ मेरा हृदयका वेदनाहरू ? तिमीलाई मैले साथी सम्झेर हरेक कुरा साटासाट गर्थेँ । अब कहाँ पाऊँ मेरो त्यो भाइजस्तै आत्मीय साथी ? अभिभावकजस्तै सम्झेर सल्लाह माग्थेँ ।
अब कहाँ पाऊँ तिमीजस्तै पथप्रदर्शक ? भाइ साँच्चै आज मेरो हात भाँच्चिएको छ, मन छियाछिया भएको छ र दिमाग शून्य भएको छ ।
प्यारो भाइ ! तिम्रो अभावमा छटपटाइरहनुभएका आमा, बुबालाई सम्झाउने शब्द छैन बाबु मसँग । म आफैँ पीडाको यस आहालमा डुबेकी छु । म कुन शक्ति र सामथ्र्यले सम्झाऊँ बुबाआमालाई ? बाबु घरको श्री उडेको छ । हाम्रो खुसी लुटिएको छ । हामी बगरको बालुवामा फ्याँकिएका माछाजस्ता भएका छौँ । कसैको अनुहारमा हाँसो खिलखिलाउँदैन सानु ! आफन्त, इष्टमित्र कोसेली बोकेर घरमा आउँदा हामी असह्यै पीडाले मर्माहत हुन्छौँ । तिमीलाई गुमाउँदा गाउँघर, छरछिमेकी, साथीभाइ सबै उदास भएका छन् बाबु यतिबेला ।
आमा भक्कानिँदै भित्रबाहिर गर्नुहुन्छ । सडकमा हुइँकिएका मोटरसाइकल हेरेर बरबर आँसु झार्नुहुन्छ । हरेक गाँसमा तिम्रै छाया देख्नुहुन्छ । भक्कानिएर तलमाथि गर्दै तिम्रो बैकुण्ठबासको कामना गर्नुहुन्छ । धूप, बत्ती र दियो बालेर आफूले उल्टो कार्य गर्नुपरेकामा असाध्यै दुःखी हुनुहुन्छ । पूर्वजको कमाइ र पाप सम्झेर आफूलाई धिक्कार्नुहुन्छ । बाबु ! मैले कसरी सम्झाऊँ उहाँलाई ? बुबाको अवस्था पनि उस्तै छ सानु ! बुढ्यौलीसँगै छोराको लाडप्यारमा जीवन बिताउने उहाँको चाहना अधुरो रह्यो कान्छु ।
उहाँ भित्रभित्र पीडा दबाएर आफ्नो जिम्मेवारीमा डटिरहनुभएको छ । हाम्रा अगाडि दबिएको उहाँको रोदन, उहाँको मुखाकृति प्रस्टै भेटिन्छ । बनावटी हाँसो देखाएर बस्नुभएको बुबालाई सहानुभूति दिने शब्द सामथ्र्य छैन बाबु ! तिम्रा दाजु, भाउजू र भिनाजुको पनि उस्तै हालत छ सानु ! भान्जाभान्जी निरीह जस्तै भएका छन् । भर्खर तातेताते गर्न थालेको तिम्रो भतिजले सबैलाई रुवाउँछ । ऊ बिस्तारै चियाउँदै तिम्रो कोठामा प्रवेश गर्छ । ढोकामा लुक्छ । तिम्रो खाटसम्म पुग्छ । यताउता हेर्छ र घरक्क पार्दै ट्वाइलेटको ढोका खोल्छ ।
ऊ साँझ बिहान तिमीलाई खोजिरहेको हुन्छ । तिमीलाई भेट्टाउने आसले यो क्रम दोहो¥याइरहन्छ । उसका यी क्रियाकलाप हेरेर हामी अझ मर्माहत हुन्छौँ । तिम्री भान्जी केही बोल्दिन, अर्कोतिर फर्केर बरबर आँसु खसाल्छे । तिम्रो भान्जालाई मेरो मलीन अनुहार देख्नै हुँदैन । ‘मामु रुनुभयो ? नरुनुस् ल’ भन्दै अँध्यारो मुख लगाउँछ । उसले मलाई सान्त्वना दिँदै भन्छ, ‘मामु कैलाश मामा हुनुहुन्छ नि ।’ अनि उसले मामा जति सम्झने कोसिस गर्दै भन्छ, ‘कैलाश मामा, विकास मामा, मिलन मामा, सौरभ मामा, राजु मामा, नारान आदि आदि ।’ प्रिय भाइ प्रदीप ! उसको कुराले म झन् भक्कानिन्छु । तिम्रो यो अभाव कसैले सक्दैनन् सानु ! कसैगरी यो घाउ पुरिँदैन कान्छु !
बाबु ! तिमीले मेरो जन्मदिनमा लेखिछाडेका तिनै स्वर्णाक्षरहरु मेरो जीवनको अमूल्य सम्पत्ति बनेका छन् । भाइ तिमीले जित्यौ । जित्ने व्यक्तिले सधैँं उच्चासन प्राप्त गर्दछ । घिमिरे परिवार मात्र हैन, तिम्रा सहकर्मीहरू, साथीभाइहरू, शुभेच्छुकहरू र प्यारा विद्यार्थी भाइबहिनीहरू शोकमा छन् बाबु, खाऊँ खाऊँ लाऊँ लाऊँ भन्ने बेलैमा तिम्रो महाप्रस्थानले गर्दा ।
तिमी माथि बसेर हेरिरहनु है हामीलाई । भाइ, मेरा सुखदुःखलाई नियालिरहनु है । दिदीको न्यास्रो लाग्दैन कान्छु ? प्लिज सपनीमा भए पनि आइदेऊ ल ।
राम्रीमा लीन भएका तिमी, तिम्रा सहकर्मी, भविष्य समुन्नत पार्न हिँडेका कलिला विद्यार्थी भाइबहिनीहरू र तिमीहरूलाई गन्तव्यमा पु¥याउन लागिपरेका ती दुई मजदुरसहित सबैमा हार्दिक श्रद्धासुमन ।
(लेखिका दाङको राम्री दुर्घटनामा निधन भएका शिक्षक प्रदीप घिमिरेकी दिदी हुन् ।
साभार : गणतन्त्र दैनिक