काठमाडौँ — सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको पोल्यान्ड भ्रमण स्वीकृत गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४ औं सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
नेपाल सन् १९९२ मा उक्त महासन्धिमा हस्ताक्षर गरेर सदस्य बनेको हो। अहिले वन तथा वातावरण यसको फोकल मन्त्रालय हो। सम्मेलनमा नेपालबाट वन तथा वातावरण मन्त्रालयबाट मन्त्री र जलवायु परिवर्तन हेर्ने फोकल व्यक्ति, जलवायु वार्तामा सहभागी हुने विशेषज्ञलगायत सहभागी हुने गरेका छन्।
यूएनएफसीसीसीको आयोजनामा हरेक वर्ष महासन्धिका पक्ष मुलुकको सम्मेलन (कोप) हुने गरेको छ। त्यसमा जलवायु परिवर्तनका विविध पक्षमा छलफल हुनेछ। सन् १९९२ पछि यूएनएफसीसीसीको आयोजनामा २३ वटा सम्मेलन भएका छन्।
सन् २०१५ मा डेनमार्ककको कोपनहेगनमा भएको १५ औं सम्मेलन (कोप १५) मा नेपालको नेतृत्व गर्दै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल सहभागी भएका थिए। त्यसपछिका सम्मेलनमा उच्चस्तरीय सहभागिता हुन सकेको थिएन। जलवायु सम्मेलनमा राष्ट्रप्रमुख सहभागी हुन लागेको यो पहिलो पटक हो।
नेपालले जलवायु परिवर्तनबाट अतिप्रभावित भएका अन्य मुलुक र अतिकम विकसित मुलुक (एलडीसी) लगायतसाग मिलेर जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याबारे अन्तर्रा्ष्टि्रय समुदायमाझ आवाज उठाउने गरेको छ। नेपाललगायत अतिकम विकसित मुलुकको समूह (एलडीसी) ले जलवायुजन्य जोखिम न्यूनीकरणका लागि विकसित मुलुकले आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिने गरेका छन्।