२७ नोभेम्बेर, वार्सावा । पोल्याण्डमा रही विभिन्न संचार माध्यमहरुमा कार्यरत संचारकर्मीहरुद्वारा “नेपाल पत्रकार समिति पोल्याण्ड” गठन गरिएको छ। हिजो हिमालयन यति रेस्टुरेन्ट वार्सवामा बसेको बैठकले अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका उपाध्यक्ष एवं गैर नेपाली आवासीय संघ पोल्याण्डका सल्लाहाकार मित्रलाल पार्दे संरक्षक रहने गरी आठ सदस्यीय कार्य समिति गठन गरिएको छ । जसमा पोल्याण्डनेपाल डटकमका सम्पादक तथा गुल्मी समाज पोल्याण्डका सचिव कलश खरेल अध्यक्षमा चुनिएका छन् ।
त्यस्तै उपाध्यक्षमा युके नेपाली डट कम पोल्याण्ड प्रतिनिधी ऋषिराम ढकाललाई चुन्दै, सचिवमा युवा संचारकर्मी तथा कवि सुशन परियारलाई सर्वसहमतिले चयन गरिएको छ । त्यसैगरी समितिका अन्य कार्यसमितिमा सह-सचिव पोल्याण्डनेपाल डटकमका संवाददाता नुमनाथ न्यौपाने साथै कोषाध्यक्षमा पोल्याण्डनेपाल कै कार्यकारी सम्पादक तथा कवि शिवधर महतोलाई सर्वसहमतिले चयन गरिएको छ । अन्य सदस्यहरुमा ऋषि तिवारी तथा झकेन्द्र सापाकोटालाई चयन गरिएको छ ।
पोल्याण्ड छरिएर रहेका संचारकर्मीहरुलाई एकताबद्द गर्ने उद्देश्यले समितिको गठन अपरिहार्य रहेको कुरामा सबैले महशुस गरेका थिए । अध्यक्षमा चुनिएपछि खरेलले एक-एक गरि छरिएर बस्नु भन्दा सबैलाई समेटिएर लान सकेमा अझ प्रभावकारी हुने भएकोले नेपाल पत्रकार समिति पोल्याण्ड गठन गर्नु आवश्यक थियो र आगामी दिनमा सत्य तथ्य सूचना एवं समाचारहरु आम जनमानसमा पुर्याउन सबै संचारकर्मीहरु एक ढिक्का भएर अगाडी बढ्नु पर्ने कुरामा जोड दिएका थिए । त्यस्तै कोषाध्यक्ष महतोले एकले अर्कोको गल्ति औल्याउदै खुट्टा तान्नु भन्दा सबैले एक अर्कालाई सहयोग गरेमा आगामी दिनमा भई परी आउने कठिनाईमा सहयोग गर्न संगठनले मुख्य भूमिका खेल्नेमा कुनै दुई मत नरहेको बताए । त्यसैगरी इनास ग्लोबल उपाध्यक्ष तथा पानी अभियानकर्ता पार्देले आफु संरक्षकको नाताले पूर्ण रुपमा समितिलाई अभिभावकत्वको भूमिका निर्वाह गर्ने प्रतिबद्दता गर्दै पदाधिकारीहरुलाई कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।