चित्रसेन बाबा र हरिबोधनी एकादशी मेला

शिवनारायण चौधरी

चित्रसेन बाबा (चितोनिया) थारु जातिको प्राचीनकालिन देवता हुन् । चितोनिया थारु समुदायले चित्रसेन बाबालाई श्रद्धापूर्वक पूजाआजा गर्ने गर्दछन् । थारुहरुको ईतिहास मौखिक रहने गरेको, दस्तावेजीकरण नभएकाले आम जनसमुदायमा चित्रसेन बाबाको बारेमा यथेष्ट जानकारी छैन् । थारुहरुको पुस्त्यौनी अन्तरसँगै ईतिहास पनि लोप हुने गरेको छ । यस आलेख मार्फत चित्रसेन बाबा र हरेक वर्ष हरिबोधनी एकादशीको दिन चित्रसेन बाबाको मन्दिर/थानको प्राङ्गढमा लाग्ने मेला बारे केहि जानकारी पस्किने जमर्को गरेको छु ।

चित्रसेन बाबाको चिनारी

चितोनिया थारु माझ “चार यार भाईक काथा” प्रचलित प्राचीनकालीन खण्डकाव्य हो । अलिखित यस खण्डकाव्यमा चित्रसेन बाबाको बारेमा जानकारी समेटिएको छ । थारु सँस्कृति अनुसार गुन (मन्त्र) सिक्ने सहपाठीहरुलाई यार भाई भन्ने गरिन्छ । चार यार भाईक काथामा वर्णन गरिए अनुसार चार यार भाई गुन (तान्त्रिक ज्ञान) सिक्न तल्लीन हुन्छन । उनीहरुको नाम चित्रसेन, बुद्धसेन, जसपाल र गुणपाल हो । यिनीहरु मध्ये एकजना राजाको छोरा, एकजना मन्त्रीको छोरा, एकजना पोतोल (हकपरवा/गाउँको पियन) को छोरा र एक जना महथा (मर्दनिया/हजाम) को छोरा हुन । यी चार जनाको भावानात्मक मित्रतालाई खण्डकाव्यमा अत्यन्तै मार्मिक किसिमले वर्णन गरिएको छ । गुन सिक्ने क्रममा चार यार भाईले दैविक शक्ति प्राप्त गरेका हुन । चार यार भाई मध्ये चित्रसेन बाबालाई चितोनिया थारुहरुले देवताको रुपमा पूजा गर्ने गर्दछन । चितवनको टाँडी बजारबाट ३ किमी दक्षिण तथा सौराहाबाट ३ किमी उत्तर, टाँडीबाट सौराहा जाने बाटोमा चित्रसारी भन्ने ठाँउमा चित्रसेन बाबा अन्र्तध्यान (छपित/विलिन) भएकोले सोहि ठाँउमा चित्रसेन बाबाको (देवता)थान बनाएर पूजा गर्ने प्रचलनमा आएको हो । सहरोती (थारु भाषामा एउटा रुखको नाम) को रुखमुनी रहेको देवताथानलाई पछि स्थानीयबासीहरुले मन्दिर निर्माण गरी संरक्षण गर्दै आईरहेका छन । थान (मन्दिर) मा थारु पुजारीले मन्दिरको नियमित नित्यकर्म सम्पन्न गर्ने गर्दछ । चित्रसेन बाबाले दुःख बिमार परेकालाई सुख शान्ति प्रदान गर्ने, मनोकामना पूरा गरिदिने, दाम्पत्य जीवन सुखमय बनाईदिने तथा सन्तान प्राप्त गराई दिने विश्वास गरिन्छ ।
सन्तानको मृत्यु भैरहनेहरुले सन्तानको रक्षाको लागि चित्रसेन बाबालाई भाकल गर्ने गर्दछन भने सन्तान प्राप्त नभईरहेकाहरुले सन्तान प्राप्तिको लागि भाकल गर्न गर्दछन । भाकल गरेमा सन्तान प्राप्त गर्ने यो विश्वास हाल पनि कायम छ । यसरी प्राप्त भएको सन्तान छोरा जन्मिएमा चित्रा वा चित्रसेन र छोरी जन्मिएमा चितरी नाम राखिदिने प्रचलन थारु समुदायमा रहेको छ । पहिला पहिला बस्तुभाउ चराउन लैजादा जंगलमा हराउदा १५–२० दिन खोज्दा पनि नभेटिएको अवस्थामा चित्रसेन बाबालाई भाकल गर्दा भोलि पर्सी नै भेटिने गरेको अनुभव अग्रजहरुले अहिले पनि सुनाउने गर्दछन । पहिला पहिला थारु समुदायको मात्र आस्था रहेकोमा अहिले आएर चित्रसेन बाबालाई सबै समुदायले उतिकै आस्थापूर्वक पूजा गर्ने गरेको छ । चित्रसेन बाबाको थान भएर दुलही भित्र्याउदा नव दुलहादुलहीले चित्रसेन बाबाको दर्शन गरी आशिर्वाद लिने प्रचलन थारु समुदायमा अहिले पनि विद्यमान छ ।

चित्रसेन बाबासँग जोडिएको ऐतिहासिकता

चित्रसेन बाबाको नामबाट चितवन जिल्लाको नामाकरण गरिएको आम चितोनिया थारुको स्वीकारोक्ति रहेको छ । प्राचीनकालमा थारु समुदायमा आफ्नै मौलिक भौगोलिक विभाजन गरिएको थियो । चितवनको दक्षिणी भूभागलाई माडी, त्यसतै गरी पटिहानी क्षेत्रलाई बेलोध, शुक्रनगर–चनौली क्षेत्रलाई टार, मेघौली क्षेत्रलाई गहड्वार, रामपुर तलको हरैया–बनगाई क्षेत्रलाई कालाबन्जार तथा बरण्डाभार जंगल पूर्व र लोथर खोला पश्चिमको भूभागलाई चितोन भनेर विभाजन गरिएको थियो छ । जसरी काठमाडौं उपत्यकालाई मात्र पहिला नेपाल भन्ने गरिन्थ्यो । हालको पूर्वी चितवनलाई मात्र पहिला चितवन भन्ने गरिन्थ्यो । थारु अग्रजहरुको भनाईलाई आधार मान्दा चित्रसेन बाबाको थान कायम नहुँदा सम्म चितवनमा मानव बसोबासको प्रयास सफल भएको थिएन । त्यस अघि पूर्वी चितवन लोथरको बगरको रुपमा परिचित थियो । चित्रसेन बाबाले दैविक शक्ति हासिल गरी अन्र्तध्यान भए पछि उनको थान निर्माण भयो । र उनकै शक्तिले चितवन मानव बस्न सक्ने भएकोले यस भूगोलको नाम चितवन रहन गएको हो । चित्रसेन बाबाको थान बुढी राप्ती नदीको किनारमा अवस्थित छ । अग्रजहरुका अनुसार बुढी राप्तीमा बाढी आएर बाबाको थान कटानी गर्न खोज्दा चित्रसेन बाबाले तोप पड्काई बाढीको कटान भगाउने गरेका छन । बि.संं. २०५८ सालमा पक्की पुल नबनुञ्जेल बुढी राप्ती नदीले अन्यत्र क्षतविक्षत कटान गर्दा समेत नदी किनारैमा रहेको चित्रसेन बाबाको थान कटान नगर्नुले चित्रसेन बाबामा रहेको दैविक शक्तिलाई विश्वास गर्ने आधार प्रदान गर्दछ ।

हरिबोधनी एकादशी मेला

चित्रसेन बाबाको थानमा हरिबोधनी एकादशीको मेला किन र कहिले देखि शुरु भएको हो । त्यसको आधिकारिक जानकारी हालसम्म हुन सकेको छैन । यसको लागि अनुसन्धानको खाँचो छ । तथापि सबै समुदायको आस्थाको केन्द्र चित्रसेन बाबाको थानको प्राङ्गढमा बर्षेनी कार्तिक शुक्ल हरिबोधनी एकादशीका दिन मेला लागि श्रद्धापूर्वक पूजाआजा गर्न हजारौ श्रद्धालु भक्तजनको भीड लाग्ने गरेको छ । एकादशीको अघिल्लो बेलुका देखि एकादशीको साँझसम्म दर्शनार्थीको अत्यधिक घुईचो लाग्ने गरेको छ । सन्तान प्राप्तिको लागि भाकल गर्नेहरुले भने चैतलवमी (चैते दशैँको नवमी) को दिन कुखुरा, परेवा, बोका बली दिई भाकल पूरा गर्ने प्रचलन रहेको छ ।

प्रचार प्रसार र संरक्षणको खाँचो

थारु समुदायले देवताको रुपमा पूजा गर्न शुरु गरेको चित्रसेन बाबा अन्य समुदायको समेत आस्थाको केन्द्र बन्न सफल भएको छ । स्थानीय स्तरमा जसरी प्रचलित छ, उचित प्रचार प्रसार नहुँदा राष्टिय रुपमा भने चर्चामा आउन सकेका छैन । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहा जाने बाटोमा सौराहाको नाकै मुनी रहेको भएतापनि बत्ती मुनीको अध्याँरो जस्तै छाँयामा परेको छ । धार्मिक पर्यटनको अत्यधिक सम्भावना बोकेको चित्रसेन बाबा स्थानिय (सौराहाका) पर्यटन व्यवसायीका नजरमा पर्न सकेको छैन । चित्रसेन बाबाको उचित संरक्षण, संवद्धन र प्रचार प्रसार राज्य स्तरबाट नै हुनु अति जरुरी छ । सम्बन्धित निकाय पुरातात्विक विभागले संराक्षण, संवद्धन गर्नुपर्दछ । भने पर्यटन तथा सँस्कृति मन्त्रालयले प्रचार प्रसारको भूमिका निभाउनु पर्दछ । यसको लागि पहलकदमीको भूमिका थारु कल्याणकारिणी सभाले खेल्नु पर्दछ । नयाँ संविधानमा थारु आयोगको प्रस्ताव भए अनुसार चित्रसेन बाबा जस्तो धार्मिक र ऐतिहासिक महत्वको सम्पदा राज्यको संरक्षण अन्तर्गत ल्याईनु पर्दछ ।

( स्रोत व्यक्तिहरु स्थानीय: जोखा महतो, डकुवा महतो, मगना महतो, ठगाराम महतो र टिकाराम महतोे )

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.