ताली र गाली सर्जकको अभिष्ट भोजन हो

भनिन्छ प्रत्येक मान्छेसँग केहि न केहि प्रतिभा लुकेको हुन्छ, मात्र हामीले त्यसलाई चिन्नु पर्छ र बाहिर उजागर गर्न सक्नु पर्छ । झन साहित्य मानव जीवनकै एउटा अभिन्न पाटो मानिन्छ । अझ भनौ साहित्यबिना मानिसको जीवन नै निरस जस्तो हुन्छ । मान्छेको सुख दु:खका कुण्ठित भावनाहरु पोख्ने या भुलाउने सबैभन्दा दरिलो माध्यम नै कला-साहित्य हो । नेपाली साहित्यको क्षेत्रमा अहिले एउटा आख्यान “टुकी”ले नेपाली पाठकहरुको ध्यान तानी रहेको छ र निकै लोकप्रिय बन्दै गईरहेको छ, जसका लेखक हुन् मनोज चौधरी (अज्ञात)। टुकी उनको प्रकाशित पहिले उपन्यास हो । पेशाले कम्प्युटर शिक्षक चौधरीले फोटोग्राफी र भिडियोग्राफी व्यवसायलाई पनि सँगसँगै चलाएका छन् । पेशा र जागिरबाट बचेको समयलाई साहित्य साधनामा लगाउने उनी गजल, कविता र आख्यान लेखनमा विशेष चाख राख्छन् । केही समयअघि बजारमा आएको ‘टुकी’ उपन्यासले यिनलाई आख्यान बजारमा स्थापित लेखकको रूपमा चिनाउन सक्ने सम्भावना प्रबल देखिएको छ । पश्चिम चितवनको थारु समुदायका यिनी आफ्नै परिवेशको कथालाई टुकीमा बुनेका छन् । थारु समुदायको एउटा पाटोलाई टुकी उपन्यासले मुल मुद्दा बनाएर पनि उठाएको छ । थारु समुदायमाझ टुकी लोकप्रिय उपन्यासका रूपमा पनि चिनिदै गएको छ । यसै सन्दर्भमा चितवनको कायाकैरन दैनिकले लेखराम सापकोटाको प्रस्तुतिमा तयार परेको संवाद स्वयम् चौधरीको अनुमतिमा यहाँ प्रकाशित गरेका छौँ ।Screenshot from 2018-11-01 17-14-31

१. टुकी कस्तो उपन्यास हो ?

चितवनमा बसोबास गर्ने थारु समुदायको पृष्ठभूमि बोकेको नितान्त सामाजिक उपन्यास हो टुकी । थारु समुदायभित्रका धर्म, संस्कृति, रितिरिवाज, परम्परा, भेषभूषा, चाडपर्व, सामाजिक परिवेश, क्रियाकलाप आदिलाई समेटी तयार पारिएको विविध कथाव्यथा, घटना परिघटनाहरुको संगालो हो टुकी । जुन एक शताब्दीदेखि हालसम्मको यथार्थपरक जीवन भोगाइ पनि हो ।

२. किताबको नाम कसरी टुकी रहन गयो ?

यो किताबमा टुकीको पालामा घटेका घटनाहरुलाई एकमुष्ट बाँधिएको छ । किताब लेखिरहँदा किताबको मुख्यपात्र आमोई र टुकी उस्ताउस्तै लाग्न थाल्यो । जसरी टुकी आफू डढेर आफ्ना वरपरकालाई उज्यालो छथ्र्यो, आमोईको चरित्र चित्रणपनि त्यस्तै लाग्थ्यो । त्यसैले यो किताबको नाम टुकी रहन गयो ।

३. हिजोआज प्रायः नेपाली किताबमा दूरदराजका सामाजिक कथालाई विषयवस्तु बनाएर लेखिएको पाइन्छ । किन होला ?

आजकालका पाठकहरु जति नै आधुनिक देखिएपनि ‘टिपिकल’ कुराहरुको खोजीमा हुन्छन् जस्तो लाग्छ मलाई । किनकि फुस्केको माछा ठूलो हुन्छ । विगतमा छुटेका क्रियाकलाप सम्झन, पढ्न जति आनन्ददायी हुन्छ, त्यति आनन्द प्रत्यक्ष भोगिरहेको क्रियाकलापमा हुँदैन । प्रेमिल किताब पढ्ने युवापुस्ताले पनि आमपाठकले झै टिपिकल नयाँ स्वाद खोजिरहेका हुन्छन् । समाजमा व्याप्त परम्परागत चालचलन, संस्कृति, रितिरिवाज, भाषा–भेषभुषा र ठेट लवजमा बुनिएका कथा आम पाठकको रोजाइँ हो । आम पाठकको भावनालाई बुझेर सर्जकले रचना रच्नपनि जरुरी देखिन्छ । त्यसैले आजकाल सामाजिक कथावस्तुका किताबहरु पनि बजारमा प्रशस्त देखिन्छन् ।

४.बजारमा यौन छताछुल्ल भएका किताबको माग भइरहेको बेला तपाईं सामाजिक कथामा किताब लेख्दा डर लागेन ?

विल्कुलै डर लागेन । किनभने यौन बासनायुक्त किताब खहरे खोला जस्तै हो । वर्षायाममा मात्रै क्षणिक समयको लागि गड्गडाउँछ । यसले लामो समयसम्म प्रभाव पारिरहन सक्दैन । तर, सामाजिक कथा बोकेको किताब छङ्छङ् बगिरहने नदी हो । सदियौंसम्म निरन्तर बगिरहन्छ । र जसको प्रभावपनि सदियौंसम्म रहिरहन्छ, अमर बनेर । कृति अमर बनाउने चेष्टामा प्रायः स्रष्टाले आजकाल यसैलाई लेखनको विषयवस्तु बनाइरहेका छन् । त्यसभित्रको बबुरो लेखक म पनि हुँ भन्नमा डर मान्ने कुरै भएन ।

५. किताबमा यौनलाई अनिवार्य विषय बनाइनु पाठकको रोजाइँ हो कि लेखक स्वयंको ?

किताब लेखिरहँदा कथाले मागेका पात्रहरु आफसेआफ सिर्जना हुन्छन् । र ती पात्रहरुलाई चलाएमान बनाउँदा तिनका आचरण र कथाको वहाव अनुरुप कहिलेकाहि यौनजन्य सामाग्रीपनि कितावमा आफसेआफ समावेश हुनसक्छन् । किताबलाई यौनवासनायुक्त मात्रै बनाईनु सिमित पाठकको रोजाई होला तर सिमित पाठकका लागि मात्रै कुनैपनि लेखकले किताब लेख्छन् जस्तो लाग्दैन मलाई ।

६. पाठकबाट किताबको के–कस्तो प्रतिक्रिया बटुल्नुभयो ?

ताली र गाली कुनैपनि सर्जकको लागि अभिष्ट भोजन हो । यो विना सर्जक अघाउँदैन र श्रीवृद्धि पनि हुन सक्दैन । टुकीको उज्यालोमा धुमिलै भएपनि पाठकहरुले नियालेका छन् मलाई । सुरुआतमा थारु समुदायभित्रका साहित्यानुरागी पाठकहरुको कमि महसुस गरेको थिए मैले । तर, टुकीले यस समुदायभित्रका साहित्यानुरागीहरुलाई झक्झकाएको छ । अध्ययनशील वा पाठ्य बनाएको छ । आफ्नै परिवेशको कथा भएकोले धेरै पाठकबाट ताली र गाली, सुझाव सल्लाह पाएको छु । गैरथारु समुदायका साहित्यानुरागी पाठकले झनै बढी हौसला बढाइदिएका छन् । ताली र गाली तथा सुझाव–सल्लाहको ओइरो आइरहेकै छ सम्पूर्ण पाठकहरुबाट । यो पहिलो कृति भएपनि पाठकबाट सोचेभन्दा राम्रो ‘फिडब्याक’ पाइरहेको छु ।
७. अबको किताबमा लेखनको धार बदल्नुहुन्छ कि यस्तै सामाजिक कथामा लेख्नुहुन्छ ?

सर्जकले सकेसम्म जस्तोपनि रचना गर्न जान्नुपर्छ । मनमा खेलेका कुराहरु पानामा छताछुल्ल पार्नु मात्रै सर्जकीय होइन । मनका भावनारुपी अनेक तरंगहरु एउटै विधाका नहुन पनि सक्छन् । बस ती तरंगहरुलाई संयोजन गरी उत्कृष्ट प्रस्तुतिसहित मूर्तरुप दिनसक्नु नै सर्जकीय क्षमता हो । मेरा अबका कृति अझ परिस्कृत र फरक स्वादको बनाउने चेष्टामा हरदम लागिपर्ने छु । उक्त स्वादको पहिचान पाठक स्वयंले गर्नेछन् ।

८. एउटा लेखकको नाताले नेपालको पुस्तक बजार कस्तो छ जस्तो लाग्छ ?

नेपाली बजारमा नेपाली पुस्तकको व्यापकता कायम भइरहेको अवस्थामा आजकाल रहरै रहरले पाठकहरुको संख्याभन्दा लेखकको संख्यामा वृद्धि भएको हो कि भन्ने लाग्छ । यो प्रवृत्तिले नेपाली साहित्यलाई कुन दिशातर्फ लैजाँदैछ भन्ने कुरामा ढ्याब्रे प्रश्नचिन्ह खडा हुन्छ । प्रकाशकहरु पूर्णतयाः व्यावसायिक भएका छन् । पाठकहरु अन्यौलमा छन् । फलस्वरुप त्यही दौरानका नयाँ लेखकका राम्रा किताबमाथि पनि त्योभन्दा ठूलो ढ्याब्रे प्रश्नचिन्ह खडा भएको छ । यही कारणले नयाँ लेखकलाई पाठकहरुले पत्याउँदैनन् । ओझेलमा हुन्छन् ती किताब जतिबेला नाम चलेका लेखकको किताब बजारमा छिर्छन् । अझैपनि पाठकका आँखाहरुले नयाँ तथा राम्रा लेखकका राम्रा पुस्तक छनौट गर्न हिचकिचाउँछन् ।

९. टुकी पाठकको हातमा पुगिसकेपछि तपाईं एउटा लेखकको रुपमा गनिनुभएको छ । आफूलाई कत्तिको जिम्मेवार महसुुस हुँदोरहेछ ?

टुकी पाठकको हातमा नपुग्दासम्म म फुक्काफाल बोल्थें । अनेक फेसबुके स्टाटस लेख्थें, अनेक फोटा अपलोड गर्थें । जीवन सिंगो आफ्नो मात्रै लाग्थ्यो । जब टुकी पाठकको हातहातमा पुग्यो जीवन सिंगोबाट झुत्तामा परिणत भयो । जीन्दगी आफ्नो मात्रै नभई टुकीको भयो । वा म टुकी झैं भएँ । अरुको लागि उज्यालो प्रदान गर्ने खालका वाक्य फुटाउनुपर्ने, आफ्नै हाउभाउ, क्रियाकलापमा धरी सतर्क रहनुपर्ने । जसले मलाई थप जिम्मेवार बनाएको छ । सर्जकका लागि पाठक भगवान हुन् । भगवानको पूजाअर्चनाका लागि मेरा लेखरचना अर्पण गरिरहने छु ।

१०. अन्त्यमा पाठकहरुलाई के भन्नुहुन्छ ?

सर्वप्रथम सम्पूर्ण पाठकप्रति नमन अर्पण गर्दछु । टुकीलाई पाठकहरुबाट भरपुर माया र विविध प्रतिक्रिया प्राप्त भएको छ । जसबाट लेखनलाई अझ बढी तिखार्ने खुराक पाएको छु मैले । यसप्रकारका सुझाव सल्लाह ताली–गालीको भोको छु म । अझै टुकी पढ्न भ्याउनुभएको छैन भने एकपटक पढेर सुझाव सल्लाह प्रदान गर्नुहुनेछ भन्ने आशा लिएको छु ।
अन्त्यमा, देश विदेशमा फैलिएर रहेका सम्पूर्ण नेपाली पाठक, सर्जक, साहित्यिक मनमा नमनसहित विजयादशमी, दीपावली तथा छठपर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । जय साहित्य । धन्यवाद ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.