१ अक्टोबर, वार्सावा । हिन्दु नेपालीहरुको महान चाड पर्व दशैं तथा तिहारमा परदेशलाई आफ्नो कर्म क्षेत्र बनाउन बाध्य
गज़लकार धनेश्वर चौधरीको आफु घर जान नपाउँदा गज़ल मार्फत यसरी आफ्नो पिडा पोख्छन्
गज़ल १
दशैँ अनि तिहारमा, आउन पाईन आमा ।
जमरा, टीका, फुलमाला लाउन पाईन आमा ।
सबै साथीभाई घुम्दै, फिर्दै, रमाउँदै होला
मत परदेशी यतै, रमाउन पाईन आमा ।
के दसैं, के तिहार परदेशीको जीवन यहाँ
न साथी, न आफन्तसँग रमाउन पाईन आमा ।
तिमीले पकाएको मिठो मसिनो खानासँगै,
हजुरको आशिष मैले, समाउन पाईन आमा।
गज़ल २
के दशैैँ के तिहार, परदेशमा बस्नेलाई ।
जीवन लाग्छ बेकार, परदेशमा बस्नेलाई ।
अतितको हाम्रो, तस्वीरहरुको झझल्को
चोट पर्छ लगातार, परदेशमा बस्नेलाई ।
चाड वाड आउँदा घरपरिवारको सम्झनामा
याद नै बाच्ने आधार परदेशमा बस्नेलाई ।
समयलाई जित्छु भन्दै, पैसाको पछि लाग्ने
न कहिले जीत न हार,परदेशमा बस्नेलाई ।
घाम पानी नभन्दै दिन रात खट्दैछु यहाँ,
नत कुनै प्यारो संसार, परदेशमा बस्नेलाई ।
धनेश्वर चौधरी
रत्ननगर-६, चितवन
हाल: साउदी अरेबिया