“टुकी” उपन्यास एक समिक्षा

विजय विश्वकर्मा

९ सेप्टेम्बर, दुनियाँ पहिचानको रोइलो रोइरहेको छ यतिबेला । ‘पहिचान’ प्रमुख मुद्दा बनेको छ पोलिटिक्सको पनि । तमुवान, लिम्बुवान, थरुहट, मगरात आदि इत्यादिमा विभाजित हुन उद्दत छ समाज । साहित्यमा पनि ‘पहिचानवादी’ भनेर एउटा अलग धारको नै सृजना भएको छ । पहिचानको आवाज उग्र हुँदै गइरहेको यो परिवेशमा चितवनको शुक्रनगरमा जन्मी हुर्किएका मनोज अज्ञातले एउटा समावेशी, साधारण र समयसापेक्ष उपन्यास लिएर आएका छन्- टुकी । उनको वास्तविक नाम मनोज चौधरी हो ।

‘टुकी’ को सहाराले मनोजले आफ्नो (थारु) समुदायको इतिहास, संस्कृति र बर्तमान अवस्थामाथि प्रकाश पार्ने प्रयास गरेका छन् । र उनको यो प्रयास सार्थक पनि भएको छ । समयको मागलाई असाध्यै सुन्दर तवरले सम्बोधन गरेका छन् उनले ‘टुकी’ मा । अनेक बहानामा विभाजित हुन खोज्ने समाजलाई मनोजले मानवताको कसिमा बाँधिन पहल गरेका छन् । समदृष्टीबाट मात्रै सहअस्तित्व संभव हुने सन्देश ‘टुकी’ ले दिएको छ । यसर्थ मनोज अज्ञातद्वारा लिखित ‘टुकी’ प्रेमको पुलिन्दा पनि हो ।

मनोज आधुनिक युवा हुन् । पेशाले शिक्षक उनी प्यासनले रेडियो पत्रकार हुन् । उनले बजार व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका छन् । यद्यपि आफ्नो मौलिक संस्कृतिप्रतिको उनको ज्ञान र लगावभने लोभलाग्दो छ । उनले उपन्यासमा आफ्नो इतिहास र संस्कृतिलाई लिपिबद्ध गरेका छन् । पश्चिम चितवनमा बसोबास गर्ने थारुहरुको साझा कहानी हो ‘टुकी’ । थारु समुदायको इतिहासको अभिलेखिकरण पनि हो यो । थारु समुदायको इतिहास र संस्कृति अब अमर रहनेछ । यहि कृतिका कारण मनोज पनि अमर रहनेछन् ।

8EA72B49-13D7-4717-BB39-2C07831A8C6Fलेख्नका लागी थारु समुदायसँग सम्बन्धित प्रशस्त मुद्दाहरु उपलब्ध थिए मनोजसित । चाहेको भए उनले कमलरी प्रथाका बारेमा, जिमिदारी प्रथाको बारेमा लेख्न सक्थे ! या फेरि थारुहरुलाई राज्यले गरेको उपेक्षाका बारेमा ! यद्यपि मनोजले आफ्नो पहिलो कृतिका लागी रोजेको विषय हो- आफ्नो समुदायको इतिहास र संस्कृति । पश्चिम चितवनमा थारुहरुको बस्ती कसरी बस्यो ? आजभन्दा एक शताब्दी अघि पश्चिम चितवनको स्वरुप र परिवेश कस्तो थियो ? कस्तो थियो बसाइँ सरी आएका पहाडिया र थारुहरुबिचको सम्बन्ध ? यी तमाम प्रश्नहरुको जवाफ मनोजले ‘टुकी’ को उज्यालोमा पोखेका छन् । के यो पहिचानको लडाइँ होईन ? के यो आफ्नो पहिचानको सुदृढीकरण अथवा प्रवर्द्धन होईन ? तरवारले होईन कलमले लडिएको यति सालिन एवं शिर्जनशील लडाइँलाई मेरो स्यालुट छ ।

उपन्यासमा थारुहरुले वर्षभरि मनाउने चाँडपर्वको फेहरिस्त प्रस्तुत गरिएको छ । जितिया पर्वमा सुनिने मस्वासी बुढीको कथादेखी लिएर यमोषा पितृ औशीको विस्तारमा वर्णन गरिएको छ । थारुहरुले शक्तिशाली देवताका रुपमा पुज्ने विक्रमबाबाको प्रसङ्गपनि उपन्यासमा समेटिएको छ । थारुहरुको नयाँ वर्ष खिचरा, होलिमा नाँचिने लाठी नाँच, तिहार अर्थात सोहराईमा गाइने लोला गीतको प्रसङ्ग पनि छ । भैलिमा नाँचिने झुमरा नाँच, रोपाइँमा गाइने असारे गीतका साथै थारु समुदायको विवाहविशेष गीत एवं दुलहीलाई गृह प्रवेश गराउँदा पुर्‍याउने विधीको पनि मिहिनरुपमा वर्णन गरिएको छ । त्यस्तै थारु समुदायका खाद्य परिकारको पनि विशेष चर्चा उपन्यासमा छ । पर्व अनुसारका खाद्य परिकार जस्तै चिचर, ढेमना, सोझुवा, ढिक्रीरोटी, बगिया, नकगर लगायतका परिकारहरु क्रमबद्ध रुपमा प्रस्तुत गर्न मनोज सफल देखिएका छन् । थारुहरुको कथा होस् र माछा र घुँघीको प्रसङ्ग नहोस् ! त्यो हुनै सक्दैन । पटकपटक दोहरिरहने माछा र घुँघीको प्रसङ्गले पनि उपन्यासमा स्वाद थपेको छ ।

‘टुकी’ मार्फत मनोजले बिक्रमियाको कथा कहेका छन् । बिक्रमिया पश्चिम चितवनको थारु समुदायलाई प्रतिनिधित्व गर्ने नारी पात्र हुन् । यसर्थ ‘टुकी’ नारी प्रधान उपन्यास हो । उपन्यास एउटा दुर्घटनाबाट शुरु हुन्छ । उपन्यासको पहिलो पृष्ठ मै प्रमुख पात्र बिक्रमिया एउटा मोटरसाइकलसँग दुर्घटनामा पर्छिन् । त्यो दुर्घटनाले बिक्रमियाको डेस्टिनी र डेस्टिनेसन दुवै फेरिदिन्छ । उनी अस्पताल पुग्छिन् । अस्पतालबाट मोटरसाइकल चालकको घर पुग्छिन् किनभने बिक्रमियाले आफ्ना आफन्तका बारेमा केही बोल्दिनन् । निको नहुन्जेल बिक्रमियालाई आफूसँगै राख्ने जिम्मा मोटरसाइकल चालकले लिन्छन् । त्यो परिवारसँग आत्मीय सम्बन्ध स्थापित भइसकेपछि बिक्रमियाले आफ्नो आत्मकथा सुनाउँछिन् । उनले आफ्नो घर सम्झिन्छिन् । शोशीबजार सम्झिन्छिन् । आफ्ना बाआमा सम्झिन्छिन् । जिम्दार्नी आमालाई सम्झिन्छिन् । काम गरेर खान पुग्ने खेत छैन बिक्रमियाको बासँग । उनी सपरिवार गाउँकि जिम्दार्निकोमा हरूवा भएर बस्छन् । हातमुख जोर्नै धौधौ छ । जिम्दार्नीसँग जग्गा जमिन प्रशस्त छ । खानलाउनको पिरलो छैन । तर पनि ऊनी सुखी छैनिन् । बिक्रमियाले आफ्नो बाल्यकालका रमाइला किस्साहरु पनि सम्झिन्छिन् । गोठाला गएको, मछुवारी गएको, स्थानिय मेलामा रमाइलो गरेको, देउसीभैली खेलेको, भारतबाट आउने थिएटर हेर्न गएको आदि उनका सम्झनाहरुले उनलाई अहिले पनि खुसी बनाउँछन् । आफू हरूवा बसेको घरकै कान्छी बुहारी हुन पुग्छिन् उनी । जिम्दार्नी आमाकी कान्छी बुहारी बन्छिन् बिक्रमिया । विवाहले उनको जीवनमा बहार ल्याइदिन्छ । तर त्यो बहार एक निमेष मै बज्रपातमा परिणत हुन्छ । विवाह पछि उनको जीवनमा आएको परिवर्तनले नै उनको कथालाई पठनिय बनाएको छ । एकाएक गायब भएकी बिक्रमियाकी नन्दको कथाले पाठकलाई रोमाञ्चित पार्नेछ । यसरी मनोजले पश्चिम चितवनको क्यानभासमा एक आम थारु जीवनलाई चित्रमा उतारेका छन् ।

उपन्यासको रोचक पक्ष भनेको यसमा प्रयुक्त आञ्चलिकता पनि हो । थारु भाषाको प्रयोगले उपन्यासलाई कलरफुल बनाएको छ । पात्रहरुले थारु भाषामा संवाद गर्दा पाठकले थारु लवजको मिठासको अनुभुतीपनि प्राप्त गर्नेछन् । लेखनमा त्रुटि छैन । वर्षौंदेखि गजल र अन्य लेखरचना लेखेर माझिएको मनोजको कलम परिपक्व प्रतीत हुन्छ । त्रुटी टंकणमा छन् प्रशस्त । हिज्जेमा हदैसम्मको लापरबाही गरिएको छ । जसका कारण पढ्दै गर्दा पाठकलाई प्रत्येक गाँसमा ढुङ्गा लागेझैँ हुनेछ ।

समिक्षक विजय विश्वकर्माले गर्नु भएको यो समिक्षा हामीले हिजोको कायाकैरन दैनिकबाट लिएका हौँ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.