वार्सावा । समूह एच अन्तर्गत अाइतबार भएकाे खेलमा कोलम्बियाले पोल्याण्डलाई पराजित गरेको छ । आइतबार राती रसिया स्थित कजान रङ्गशालामा सम्पन्न खेलमा कोलम्बियाले पोल्याण्डलाई तिन शुन्य गोल अन्तरले पराजित गरेको हो। जितसँगै कोलम्बियाको नकआउट चरण प्रवेसको ढोका खुलै रहेको छ भने पोल्याण्ड समुह चरणबाटै घर फर्कने भएको छ।
आइतबारको खेलमा कोलम्बियालाई जित दिलाउने क्रममा खेलको ४० औं मिनेटमा येरि मिनाले जेम्स रोड्रिगेजको पासलाई सदुपयोग गर्दै हेडिङ् मार्फत डि बक्स भित्रबाट सुन्दर गोल गरे। यस्तै ७० औं मिनेटमा राडामेल फाल्काओले आफ्नो टोलीकालागि दोश्रो गोल थपे। उनले जुवान क्विन्टेराको पासलाई सदुपयोग गर्दै बललाई गोलपोष्टको दिशा देखाए। फाल्काओले गोल गरेको ५ मिनेटपछिनै कोलम्बियाले पोल्याण्डको गोलपोष्टमा तेश्रो गोल गर्यो। खेलको ७५ औं मिनेटमा कोलम्बियाकालागि जुवान क्युयाडराडोले उत्कृष्ट गोल गरे। उनले जेम्स रोड्रिगेजको पासलाई खेलमैदानको करिब मध्यभागबाट एकल प्रयासमा ल्याइ गोलकिपरलाई छकाउँदै गोल गरे।
निर्धारित समय सकिन १५ मिनेट अघि तिन गोलले पछि परेपछि पोलयाण्डको खेलमा फर्कने सम्भावना लगभग समाप्त भएको थियो। त्यसपछि दुवै टोलिका तर्फबाट गोलकालागि भएका प्रयास सफल हुन नसक्दा कोलम्बियाले तिन शुन्य गोलअन्तरले नतिजा आफ्नो पक्षमा पार्यो। समुह चरण अन्तर्गत यो समुहमा अब जापान र पोल्याण्ड तथा अर्को खेलमा सेनेगल र कोलम्बियाबीच खेल हुन बाँकी रहेको छ।
पोल्याण्ड र कोलम्बियाको खेलसँगै समुह चरण अन्तर्गतको दोश्रो राउण्डका खेलहरु समेत समाप्त भएका छन्। सोमबारबाट समुह चरण अन्तर्गतका तेश्रो तथा अन्तिम राउण्डका खेलहरु सुरु हुनेछन् ।
स्रोत : https://worldcup.nagariknetwork.com