यसरी भएको थियो सती प्रथा उन्मूलन

यसरी भएको थियो सती प्रथा उन्मूलन

प्रा. दिनेशराज पन्त

नरभुपाल शाहसँगै पुरुष समेत ‘सती’ गएका थिए महिला हिंसाको सबैभन्दा चरमरुप सतिप्रथा नेपालबाट औपचारिकरुपमा उल्मुलन भएको एक शताब्दि पनि भएको छैन । चन्द्रशम्शेरले आषाढ २५, १९७७ (८ जुलाई १९२०) मा यो क्रुर अमानविय कु-प्रथाको औपचारिक रुपमा अन्त्य गरेका थिए । तर महिला हिंसाको चरमरुप सतीप्रथाको अन्त्य गरिएको आषाढ २५ को दिनलाई औपचारिकरुपमा कसैले पनि सम्झिएको पाइँदैन । महिला हिंसा विभत्सभ रुप सतीप्रथाबारे ऐतिहासिक चर्चा गर्ने प्रयत्न गरेको छु,
पतिको मृत्यु भएपछि पत्नीहरुले सह-गमन गर्ने चलन यस भेगमा प्राचीनकालदेखि नै थियो । हाम्रा धर्मशास्त्रका ग्रन्थहरुले पतिको मृत्यु भएपछि कि सह-गमन गर्नु कि सतीव्रतमा रहनु भनी लेखेको पान्इछ ।
अभिलेखको आधारमा स्पष्टसँग भन्न सकिने नेपालको पहिलो प्रामाणिक काल लिच्छविकाल हो । लिच्छविकालका दुईसयभन्दा बढी अभिलेख पाइएका छन् । ती अभिलेखहरुमध्ये वि.सं. ५२२ को चाँगुनारायणको स्तम्भलेखको विशेष महत्व छ । वि.सं. १९३७ मा भारतको गुजरातमा भगवानलाल इन्द्रजीले नेपालका २३ वटा अभिलेख प्रकाश गर्दा त्यसमा १५ वटा अभिलेख लिच्छविकालका थिए । त्यसमा सबभन्दा पुरानो मानदेवको चाँगुको सोही अभिलेख थियो । करीब १०० वर्षसम्म सोही अभिलेख सबभन्दा पुरानो रहिरह्यो । त्यसभन्दा पछिचाहिँ लिच्छविकालका केही पुराना अभिलेख पनि पाइए । त्यसो भए तापनि त्यस अभिलेखका लिच्छविकालको इतिहासमा अत्यन्त महत्व रहिरह्यो । हाम्रो प्रकृत विषय सती प्रथा पनि त्यसमा गाँसिएको छ ।
मानदेवका बाबु धर्मदेवको अकस्मात् मृत्यु हुन्छ । पतिको मृत्यु भएपछि उनमी रानी राज्यवती सती जान खोज्छिन् । तर मानदेव आमालाई सती जान रोक्छन् र राज्यवती सती जानबाट रोकिन्छिन् । त्यसपछि राज्यवती पतिको सत्मा रही आजीवन धर्मकर्म गरेर बस्छिन् । यसबाट त्यसबेला सतीप्रथा थियो तर त्यो अनिवार्य थिएन भन्ने स्पष्ट हुन्छ । लिच्छविकालका प्रसिद्घ शासक भौमगुप्तकी आमा आभीरी पति अनुपरमको मृत्यु भएपछि सती नगई धर्मकर्म गरी बसिरहनु तथा लिच्छविकालका प्रसिद्घ राजा जयदेव (द्वीतीय) की आमा वत्सदेवी आफ्ना पति राजा शिवदेव (द्वितिय) को मृत्युपछि सती नगई धर्मकर्म गरि बसिरहनु यसका थप उदाहरण हुन् ।
राजा यक्ष मल्लले वि.सं. १५३३ मा राखेको शिलापत्रमा सती गएका नारीको उल्लेख पाइन्छ भने यक्ष मल्लकी रानी कीर्तिलक्ष्मीको वि.सं. १५४४ को शिलालेखबाट पतिको मृत्युपछि सती नगई सतीव्रतमा रहेको उल्लेख पाइन्छ । काठमाडौका राजा महेन्द्र मल्लको वि.सं. १६३१ मा मृत्यु हुँदा, भक्तपुरका राजा जगत्प्रकास मल्लको वि.सं. १७२९ मा मृत्युहुँदा, काठमाडौका राजा नृपेन्द्र मल्लको वि.सं. १७३७ मा मृत्यु हुँदा, पाटनका राजा योगनरेन्द्र मल्लको वि.सं. १७६२ मा मृत्यु हुँदा धेरै स्त्रीहरु सती गएको बयान पाइन्छ । वि.सं. १७४४ मा काठमाडौका राजा पार्थिवेन्द्र मल्ल विषप्रयोगद्वारा मारिँदा उनीसँग २४ वटी स्त्री सती गए । तर काजी लक्ष्मीनारायण जोशीसँग मिली पति पार्थिवेन्द्रलाई विषप्रयोग गर्ने काममा लागेकी रानी ऋद्घलिक्ष्मी भने सती गइनन् र पतिको मृत्यु भएको धेरै वर्षसम्म बाँचिरहिन् ।
जिउँदो मानिसले शवसँगै डढ्नुपर्ने हुनाले सतीहरु चिच्याउँदा सुनिने आवाजलाई मत्थर पार्न ठुलोठुलो स्वरमा बाजा बजाइन्थ्यो । आगोको राप सहन नसकेर सतीहरु भाग्ने पनि गर्थे । वि.सं. १७३७ मा चौतार चिकुटिका बाबु खोरतमको मृत्यु हुँदा सती पठाइएकी पत्नी चिताबाट भागिन् भन्ने वर्णन पाइन्छ । वि.सं. १८१७ मा पाटनका राजा विश्वजित् मल्लले आत्महत्या गर्दा उनकी आमा सती गएको वर्णन पाइन्छ ।
वि.सं. १७९९ मा गोरखाका राजा नरभुपाल शाहको मृत्यु हुँदा उनकी कान्छी रानी सुभद्रावती सती गइन् । नरभुपाल शाहसँग उनलाई स्याहारसुसार गर्ने एउटा केटो पनि सहगमन गरी सतु भयो । नरभुपाल शाहका अरु रानीहरु भने सती नगई सतीव्रतमा रहिरहे । श्री ५ पृथ्वीनारायणा शाहको वि.सं. १८३१ मा मृत्यु हुँदा उनकी महारानी नरेन्द्रलक्ष्मीसहित निकै स्त्रीहरु सती गए । श्री ५ प्रतापसिंह शाहको वि.सं १८३४ मा मृत्यु हुँदा आठवटी स्त्रीहरु सती गए तर उनकी महारानी राजेन्द्रलक्ष्मी सत गइनन् ।
स्वामीमहाराज रणबहादुर शाह आफ्ना सौतेने भाइ शेरबहादुर शाहको हातबाट वि.सं. १८६३ मा मारिँदा माहिली महारानी सुर्वणप्रभासहित निकै स्त्रीहरु सहगमन गरे । हेलम्बुम निकालिएकी रणबहादुरकी जेठी महारानी राजराजेश्वरीलाई त्यहाँबाट ल्याएर रणबहादुर शाहको मृत्यु भएको नवौँ दिनमा सती पठाइयो तर कान्छी महारानी ललितत्रिपुरसुन्दरीलाई सती पठाइएन ।
प्राचीनकालदेखिको सतीविषयक कुराको विचार गर्दा कोही सती जान्थे, कोही सतीधर्ममा रहन्थे भन्ने स्पष्ट हुन्छ । आफ्नो अनुकुल नभएकालाई खत्तम गर्न सतीप्रथाको प्रयोग हुन्थ्यो भन्ने कुरा पनि तात्कालिक घटनाको अनुगमन गर्दा स्पष्ट हुन्छ । प्रधानमन्त्री जङ्गबहादुर सतीप्रथाका विरोधी थिए । उनले आफुले बनाएको मुलुकी ऐनमा सतीप्रथालाई निरुत्साहित गर्न निकै कुरा लेखे तथा आफ्ना मानिसको मृत्यु हुँदा उनका पत्नीहरुलाई सती जानवाट रोके पनि । तर वि.सं. १९३३ मा श्री ३ जङ्गबहादुरको मृत्यु हुँदा उनका श्री ३ बडामहारानी हिरण्यगर्भदेवी आदि रानीहरु सती गए ।
श्री ५ त्रिभुवनवीरविक्रम शाहको राज्यकालमा श्री चन्द्रशम्शेरले वि.सं. १९७७ आसाढ २५ गतेदेखि लागु हुने गरी सतीप्रथा बन्द गरिदिएपछि कानूनीरुपमै यो प्रथा नेपालमा बन्द भयो । यसरी नारीले चितामा जिउँदै डढ्नुपर्ने जस्तो अमानवीय कार्यबाट उन्मुक्ति पाएको दिन आसाढ २५ गते हुन गएको छ । यसैले नेपालको परिप्रक्ष्यमा नारी उन्मुक्तिको दृष्टिले यस दिनको विशेष महत्व छ भन्ने स्पष्ट छ । यसकारण यस दिवसलाई विशेष रुपमा मनाउनेतिर सम्वद्ध सबैको ध्यान जाने कामना गर्नु अन्यथा ठहरिनेछैन ।
धन्यवाद l # सि ओ पि आइ इ डि .

Source: Onlinekhabar

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.