४ असार, काठमाडौं । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) मा ५ बजेर ३५ मिनेटमा निधन भएको आजको अनलाइनखबर डट कममा समाचार प्रकाशित छ ।
तस्विर: अनलाइनखबर डट कम
अस्पतालले साँझ विज्ञप्ति जारी गरी देवकोटाको निधन भएको जानकारी दिएको हो । देवकोटाको अन्त्येष्टि मंगलबार गरिने र ७ दिनमा काजकिरिया सक्ने न्युरो अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको समाचारमा उल्लेख छ ।
पित्तथैलीको क्यान्सरको बेलायतमा उपचार गराएका डा. देवकोटा स्वदेशमा नै देहत्याग गर्ने इच्छा बमोजिम फर्किएका थिए । स्वदेश फर्किएदेखि उनी आफैले स्थापना गरेको उक्त अस्पतालमा उपचाररत थिए ।गत हप्ता डा. देवकोटाकै चाहना अनुसार उनलाई गृह जिल्ला गोरखा लगिएको थियो ।
अस्पतालको विज्ञप्ति
तस्विर: अनलाइनखबर डट कम
देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ देखि दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ ।
डा. देवकोटाको काजकिरिया उनकी पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने विज्ञप्तिमा जनाइएको छ । काजकिरिया सात दिनमा सम्पन्न गरिने पनि अस्पतालले जनाएको छ ।
उहाँको निधनले नेपालको चिकित्सा क्षेत्रमा अतुलनिय क्षति पुगेको छ, यस दु:खद घडीमा पोल्यान्ड नेपाल डट कम हार्दिक श्रद्दान्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना साथै शोकाकुल परिवारजन र मित्रजनमा हार्दिक समवेदना ब्यक्त गर्दछ ।
श्रोत : https://www.onlinekhabar.com