डिसेम्बर १२ , २०१७ को मलाया खबरमा प्रकाशित समाचार अनुसार पोल्यान्डमा दुई वर्षमा ७ हजार भन्दा बढी नेपालीहरुले श्रम स्वीक्रिती लिएका छन् ।
स्मरण रहोस् अहिले पोल्यान्डमा दक्षिण एशियाकै नागरिक लक्षित गरेर दर्जनौ एजेन्सीहरु खुलेरहेका छन् । खुल्ने क्रम जारी छन् ।
वैदेशिक रोजगारीका लागि पोल्याल्ड जाने कामदारसँग म्यानपावर व्यवसायीले मनपरी रकम असुल्ने गरेका छन् । म्यानपावर कम्पनीहरूले कामदारसँग संस्थागत नभई व्यक्तिगत श्रम स्वीकृति लिएर धेरै रकम लिने गरेको तथ्य खुलेको छ । सरकारले पोल्याल्डका लागि संस्थागत श्रम स्वीकृति जारी गर्दैन । रोजगारीका लागि पोल्याल्ड जाने कामदार प्रायः व्यक्तिगत श्रम स्वीकृतिमा म्यानपावरले पठाउने गरेका छन् ।
पोल्याल्डको रोजगारीका विषयमा सरकारले हालसम्म कुनै मापदण्ड बनाएको बनाएको छैन । जसको फाइदा व्यवसायीले उठाइरहेका छ । इलाम फिक्कलका दिनेश घिमिरेले ४ महिनाअघि कतारबाट फर्किएर आउँदा रोजगारीका लागि पोल्याल्ड जान सिनामंगलको एउटा म्यानपावर कम्पनीमा राहदानी र ५० हजार रुपैयाँ बुझाए । ४ महिनापछि भिसा त आयो तर अहिले म्यानपावरले पोल्याल्ड जान ८ लाख ५० हजार लाग्ने बताउन थालेको छ । उनले भने, ‘राहदानी पेस गर्दा ३ देखि ५ लाखमात्र लाग्छ भनेको थियो तर भिसा आएपछि यति धेरै रकम मागिरहेको छ । अब गएन भने ५० हजार फिर्ता हुँदैन भनेको छ ।’ काम मासु प्याकिङमा र मासिक कमाई ६० हजारसम्म हुन्छ भनेको उनले बताए । त्यस्तै दाङका जीवन कार्कीले पनि पोल्याल्डका लागि ७ लाखभन्दा बढी रकम म्यानपावरलाई तिरेर जान लागेको बताए । कार्कीले म्यानपावरको नाम बताएनन् । धदिङका राम पाण्डेले पनि सिनामंगलको शिखर इन्टरनेसनल प्रालिबाट रोजगारीका लागि पोल्यान्ड जाने तयारीमा भएको बताए । पाण्डेलाई पनि पोल्यान्ड जान म्यानपावरले ८ लाख लाग्छ भनेको छ । म्यानपावरले कम्पनीहरूले घिमिर र पाण्डे जस्तै धेरै कामदारलाई पोल्यान्ड पठाउने नाममा ठूलो रकम उठाइरहेका छन् ।
म्यानपावरका नाममा डिमान्ड ल्याएर व्यक्तिगत श्रम स्वीकृति गराई ठूलो रकम असुले पनि सम्बन्धित निकायले खासै चासो देखाएको छैन । व्यवसायीले पोल्याल्ड जाने कामदारसँग धेरै रकम लिए पनि भरपाई भने कम रकम लिएको दिने गरेको कामदार बताउँछन् । पोल्यान्ड कामदार पठाउने डिमान्ड म्यानपावर कम्पनीले नै ल्याउने गरेका छन् । डिमान्ड ल्याएपछि म्यानपावरले व्यक्तिगत श्रम स्वीकृति निकाल्ने गरेको पाइन्छ । श्रम स्वीकृति सरकारबाट लिँदा न्यून लागतको प्रमाण पेश गरी श्रम अनुमति लिने र अनुमतिपछि कामदारसँग ७ देखि ९ लाखसम्म लिने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागमा पोल्यान्ड पठाउने भनेर धेरै व्यक्तिगत ठगीका मुद्दा परेपनि श्रम तथा रोजगार मन्त्रालयले चासो देखाएको छैन । पछिल्लो समय व्यक्तिगत श्रम स्वीकृति र वैधनिकीकरणका माध्यमबाट पोल्यान्ड जानेको संख्या बढेपछि यस कार्यमा सम्बन्धित निकायले कसरी श्रम स्वीकृति जारी गर्दैछ त भन्ने प्रश्न उठ्न थालेको पिपुल्स फोरमका सल्लाहकार सोम लुइँटेलले बताए । उनले भने, ‘पोल्यान्ड रोजगारीमा जाने कामदार समस्यामा परेको अवस्थामा त्यसको जिम्मा कसले लिन्छ । यस विषयमा सरकारले समयमै ध्यान दिनुपर्छ । व्यक्तिगत भिसाका राम्रा नराम्रा पक्ष हेरेरमात्र जारी गर्नुपर्छ ।’
म्यानपावरमार्फत पोल्यान्ड जाने कामदारको संख्या मासिकरूपमै बढ्दै गएपछि चासो बढ्न थालेको हो । मलेसिया र खाडीमा राम्रै काम छोडेर रोजगारीका लागि पोल्यान्ड जाने नेपाली कामदारको संख्या बढ्दै गएको विभागको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागमा गत महिना पोल्यान्ड पठाउने पानीपोखरीको युनिभर्सल इन्टरनेसनलका नाममा धेरै उजुरी परेपछि अनुगमन गर्दा ठूलो आर्थिक चलखेल भएको तथ्य विभागले फेला परेको थियो । जुन प्रमाणका आधारमा म्यानपावर सबै काम रोक्का गरिएको थियो । म्यानपावरले पूर्व श्रम स्वीकृति लिने तर पोल्यान्ड जस्तो आकर्षक मुलुकमा कामदार नपाइएको भन्दै धमाधम डिमान्ड रद्द गरेर व्यक्तिगत श्रम स्वीकृति लिएर कामदार ठग्ने गरेको वैदेशिक रोजगार श्रम कार्यालय काठमाडौंका एक कर्मचारीले बताए ।
संस्थागतरूपमा ठगियो भन्ने कानुनीरूपमा अप्ठयारो पर्ने भएकाले व्यक्तिगत श्रम स्वीकृति लिएर म्यानपावरले ठग्ने गरेको ती कर्मचारीको भनाइ छ । व्यक्तिगत भिसामा पोल्यान्ड गएका कामदार समस्यामा परेर फर्किए भने कानुनी झमेला नहोस् भनेर म्यानपावरले चलाखी गरेको पाइन्छ । व्यक्तिगत श्रम स्वीकृति लिँदा पनिसम्बन्धी निकायका कर्मचारी र व्यवसायीबीच आर्थिक चलखेल हुने गरेको छ । खाडी र मलेसिया व्यक्तिगत भिसामा जाँदा कुनै पनि व्यक्तिले १७ सय अमेरिकी डलर र के कामका लागि जाने हो तथा कति समय बस्ने भनेर कारणसहितको प्रमाण अध्यागमनमा पेस गर्नुपर्छ । पोल्यान्डमा व्यक्तिगत श्रम स्वीकृति लिएर गइरहेको विषयमा सरकारले पनि अध्ययन गरिरहेको वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले बताए । श्रम कार्यालयमा प्रक्रिया पु¥याएर कसैले व्यक्तिगत भिसा माग्छ भने रोक्न नमिल्ने उनको भनाइ छ ।
विभागमा पोल्यान्ड पठाउँछु भनेर ठगी गर्ने म्यानपावरका नाममा धेरै उजुरी पर्ने गरेका छन् । पीडितले म्यानपावरका नाममा उजुरी गरेपनि मुद्दा भने व्यक्तिका नाम पर्ने गरेको विभागले जनाएको छ । विगत दुई वर्षमा सरकाबाट श्रम स्वीकृति लिएर ७ हजारभन्दा बढी नेपाली रोजगारीका लागि पोल्यान्ड पुगेको विभागको तथ्यांक छ ।