मित्र लाल पार्दे
पोल्यान्ड
समयको घडी टिक टिक गर्दै समयसितै जिवनमा सम्बन्धका उतारचढाव हरु आउदा रहेछन् । समयले कतिसित भेट हुने अवसर जुरायो ।समयले सबैसित भेटेर सबैसितको सम्बन्ध नजिक बनाउन सकेन । भेट र संगतको दौडानमा मेरो भेट 2056 तिर अम्बापुर फूपू सरस्वता देबि भट्टराईको घरमा बसेर पढ्ने क्रममा एउटा पातलो व्यक्ति तर चिन्तनशील व्यक्तिसित सम्पर्क हुन पुग्छ ।
नया व्यक्तिसँग भेट भो भने आफ्नो कुरा अगाडि बढाइहाल्ने मेरो बानी अनि मेरो साहित्यिक अभिरुचिलाई चासो दिएर सुन्ने व्यक्ती प्राप्त गरेकोमा आफुलाई धन्यवान सम्झिए । उहाको नाम नित्यानन्द शर्मा महेन्द्र बहुमुखी क्याम्पस दाङको पुस्तकालय प्रमुख हुनुहुदोरहेछ । अब त मलाई झनै ढुङ्गा खोज्दा देउता मिले जस्तो भो । बसाई अम्बापुर पढाइ महेन्द्र बहुमुखी क्याम्पस दाङ । हाम्रो भेट हरेक दिन हुने । हरेक दिन साहित्यिक कुराहरु हुने वास्तवमा भन्ने हो भने उहाँको संगतको दिनलाई म स्वर्णिम दिनको रुपमा अर्थ्याएको छु । हरेक समयमा मेरो गतिविधिमा नियालिरहने सुझाव दिरहने आदरणीय दाइको संगतमा मैले धेरै साहित्यिक रचना गर्ने अवसर प्राप्त भयो ।
नाटक लेख्दा होस् कि कविता लेख्दा होस् संघ संस्थामा बस्दा होस् कि हरेक गतिविधिमा साथ दिने एक मात्र दाइ म नित्यानन्द शर्मालाई पाएको थिए । अझ भनौ पारिवारिक सम्बन्ध पनि बिस्तारै दरिलो बन्दै गयो । आफू पुस्तकालय प्रमुख हुदा उहाले लगाउनु भएको गुन कहिल्यै बिर्सदैन ।भाइ पैसा चोर्नुहुदैन तर किताब किन्ने पैसो छैन भने किताब चोरेर भएपनि पढ्नु त्यो कुनै अपराध होइन । पढ्न चाहने व्यक्तिहरुलाई किताब नपाएर पढ्न सकेन भन्ने अवस्था म हुन दिदैन भनेर मलाई धेरै राहत दिनु भएको थियो ।
एउटा बीस वर्षको ठिटो र आफ्नो बाबू सरहको व्यक्तिसँग संगत भनेको नै आदरणीय दाजु श्री नित्यानन्द शर्मा नै हुनुहुन्छ । रमाइलो गर्ने प्रसङ्ग कहिलेकाही रमाइलोको लागि म्यारिज खेल्दा पनि यो भाइलाई साथ छोड्नुभएन । हरेक कुरालाई उदार रुपमा लिने तर नशा बनाउन हुन्न भन्ने उहाँको विचारलाई आत्म साथ अहिले पनि गरेको छु। समाजको लागि हामी काम गर्नुपर्छ भन्ने सोचलाई आत्मसाथ अहिले पनि गरिरहेको छु ।
जब जब भेट हुन्थ्यो हाम्रो तबतब चिन्तनका कुरा हुन्थ्यो। हाम्रो भेट ३ दिनमा एक दिन भएन भने खल्लो लाग्थ्यो के के नपुगे जस्तो हुन्थ्यो । हरेक काम गर्दा सल्लाह लिने गर्दथे ।
जब जब माउन्ट भिउमा पढाउन शुरु गरे तब तब सङै बिहान र साझ यात्रा एकै समयमा हुन्थ्यो । बाटोभरी साहित्य अनि जीवन जगतको कुरा हुन्थे । हो उहाँको संगतले मलाई धेरै सिक्ने अवसर प्राप्त भएको थियो । काठमाडौमा आदरणीय दाजु अशेस मल्ल देखि विभिन्न आदरणीय व्यक्तित्वहरुसित सम्पर्क गराइदिने अवसर श्री नित्यानन्द शर्मा ज्यूले गर्नु भएको थियो ।
म हरेक समय उहासित सल्लाह लिने गर्दथे । उहाँले आफ्नै भाइ सरह मानेर सल्लाह सुझाव दिनुहुन्थ्यो । बिदेशमा बस्दा पनि समय समयमा कुरो गर्ने अवसर प्राप्त भएको थियो । जब पानी अभियान शुरु गरे त्यो बेला पनि फोन गरेर आशीर्वाद प्राप्त गरेको सस्मरण गराउन चाहन्छु । भाइ तिम्रो महान लक्ष्यमा हाम्रो शुभकामना र साथ रहनेछ भनेर दिएको प्रेरणा आशीर्वाद अहिले पनि यो मस्तिष्कमा चर्के पिङ झै घुमिरहेको छ ।
नवयुग नाट्य सान्स्कृतिक समुहमा रहदा होस कि दाङ बिध्यार्थी समिती त्रि वि किर्तिपुरमा रहदा होस कि रापती समाज काठमाडौमा रहदा होस् उहाको सुझाव अनि सल्लाहले मैले धेरै प्रगति गर्ने अवसर पाएको थिए । पोल्यान्ड आउदा पनि उहाबाट आशीर्वाद लिएर हिडेको थिए ।
आज जर्मनिको भुमिबाट आखाबाट आँसु झार्दै उहाको नाममा दुई शब्द लेखिरहेको छु। दुई वर्ष अघि उहासितको भौतिक रुपमा भेट भएको सम्झना याद आइरहेको छ । राप्ती साहित्य परिषदमा उहाको एकल रचना वाचन कार्यक्रम उहासितको जमघटनै अन्तिम अवसर रहेछ मेरा लागि । दाइ हाम्रो भेट हुन्छ नि भन्दै दशैको दिनमा फोन गर्दा बडो साहसले” भाइ चिन्ता नगर्नु सन्चो हुन्छ हाम्रो भेट हुन्छ । म ठिक हुनेछु बरु भाइको प्रगति के छ” भनेर फोनमा सोधेको आज जस्तो लाग्छ ।
केही दिन पछि उहाँको निधन भएको खबर सुन्दा मलाई बिदेशी भुमिमा त्यो दिन भर न त काम गर्न सके एकोहोरो सोचिरहे हे भगवान के सुन्नु पर्यो ।आखिर सत्य जतिसुकै क्रुर भएपनि सुन्नैपर्ने नियति ।
मर्ने जीवन हो तापनि दाइ तपाईं मर्नु भएको छैन ।तपाइले गरेका राम्रा कामहरुले समाजमा मार्गदर्शन दिरहेका छन् । स्वर्गीय दाइ तपाइको आत्माले शान्ती प्राप्त गरोस् भन्दै भगवान सित प्रार्थना गर्दछु । तपाइको सुझाव सल्लाह कहिल्यै खेर जान दिने छैन भनी प्रण गर्दछु ।
(प्रस्तुत संस्मरण आज दाङमा विमोचित
नित्यानन्द शर्मा स्मृतिग्रन्थ २०७४ बाट साभार गरिएको हो ।
मित्र लाल पार्दे
(पानी अभियानकर्ता)
पोल्यान्ड