लाखौ लाख पशु बली चढाइने गढी माइ मेला कसरी शुरु भयो यस बारेमा रोचक किम्वदन्तीहरू छन् । । करीब आठसय वर्ष अघि अहिलेको बरियारपुर गा.वि.स.का भगवान चौधरीले गढीमाईको स्थापना गरेको भनाइ छ । एकरात भगवान चौधरीको घरमा चोरी भयो । त्यसपछि गाऊलेहरू जुटे र उनले चोरलाई समात्न सफल भए । त्यो गाऊलेको भिडले चोरलाई कुट्न सम्म कुटे त्यस्पछि त्यो कुटाइबाट चोर मर्यो । अनि चोरलाई मारेको दोष भगवान चौधरीलाई लाग्न गयो । उनलाई जेलमा हालियो जेलमा पनि सधैं भगवान् र देवीहरूको आस्था र विश्वासमा कमी भएन । जस्तो सुकै अप्ठ्यारोमा पनि भगवान् सम्झि रहे । जेलमा रहेको बेलामा उनले सपना देखे सपनामा गढीमाई आएर भन्छिन् -“कुन पापीले तिमीलाई जेलमा ल्याएर थुनेको छ ?” यतिकैमा “तपाईँ को हो ?” भनेर भगवान् चौधरीले प्रश्न गरे । तपाईँ जो भए पनि मेरो अगाडि आएर दर्शन दिनुपर्यो । त्यसपछि गढीमाईले साक्षात्रूपमा दर्शन दिँदै भगवान् चौधरीलाई भगवतीले भन्छिन्- “तिमी मलाई आफ्नो गाउँ लैजान सक्छौँ ?” त्यसपछि भगवान् चौधरीले भने “म जेलमा थुनिएको मानिस हजुरलाई कसरी आफ्नो गाउँ लान सक्छु ?” । गढीमाईले भनिन् – “पहिला तिमी मलाई आफ्नो गाउँ लैजाने प्रतिज्ञा गर त्यसपछि म तिमीलाई जेलबाट मुक्त गरिदिने छु । भगवतीको कुरा भगवान् चौधरीले सहर्ष स्वीकार गरे । त्यसपछि भगवतीको चमत्कार स्वरूपले जेलका सुरक्षार्थ खटिएका सिपाहीहरू आफैँ निदाए, जेलका ढोकाहरू आफैँ खुले अनि भगवान् चौधरी जेल मुक्त भए । त्यसपछि चौधरीले- ‘म हजुरलाई कसरी लैजाउँ’ भनी प्रश्न गरे । त्यसपछि भगवतीले तिमी मेरो पाउको धूलो आफ्नो पगरीमा बाँधी निधारमा राख र मन्दिरको त्रिशूल हातमा राखेर हिँड तिमी आफैँ बाटो पाउने छौँ । भगवान् चौधरीले देवीको आज्ञा बमोजिम त्यसैगरे । बाटोमा भगवान् चौधरी र गढीमाई बीच भएको विभिन्न कुराकानीको क्रममा भगवतीले आफ्नो पूजामा नरवलीको व्यवस्था हुनुपर्ने, प्रत्येक वर्ष मेला लाग्नुपर्ने प्रस्ताव भगवान् चौधरी समक्ष राखे तर भगवान् चौधरीले प्रत्येक साल मेलाको प्रस्तावलाई अस्वीकार गरी पाँच-पाँच वर्षमा मेला लगाउने, दैनिक रूपमा पूजाआजा गर्ने, पूजामा पञ्चवलीको रूपमा बोका, राँगा, जङ्गलीमुसा, सुँगुर हाँस, कुखुरा परेवा दिइने कुरामा भगवती र भगवान् चौधरी बीच सहमति भयो । यसरी भगवती र भगवान् चौधरीबीच कुराकानी हुँदै पासाहा नदीको किनारा हुँदै बरियापुर गाउँ नजिक रहेको बरको रूखमुनि आएर बसेको र सोही स्थान नै आजको गढीमाईको स्थापना भएको भन्ने विश्वास छ ।
गढीमाईका मेला प्रत्येक ५-५ वर्षमा मङ्सिर महिनाको शुक्लपक्षमा लाग्ने गर्दछ । गढीमाईको मेला लाग्ने सालको असारको सोही तिथीमा झाँक्रीले लक्ष्मण रेखा लगाई गढीमाईको सिमाना निर्धारण गर्दछ । सिमाना निर्धारणपछि यस क्षेत्रका चेलीबेटीहरू सो सीमानाभन्दा बाहिर जान पाउँदैनन् र बाहिरबाट सो सिमानामा प्रवेश गर्न पनि पाउँदैनन् । बली मेलापछिको पूणिर्माभित्रको कुनै दिन संसारी माईको मन्दिरमा रहेको बोकाको बली दिई सो सीमारेखा फुकाइन्छ । त्यसपछि चेलीबेटीहरू जान र आउनको लागि बाटो खुल्दछ ।
(श्रोत बिभिन्न पत्र पत्रिकाहरू )