स्वर्गद्वारी महाप्रभूका बारे स्वर्गीय खडानन्द सुवेदीले केही वर्षअघि लेखेको लेख)
स्वर्गद्वारी महाप्रभूको जन्म रोल्पा जिल्ला अन्तर्गत जेदवाङ गाविसको रुन्ती भन्ने ठाउँमा पिता आसुधुर गौतम खत्री र आमा शान्तिकुमारीको कोखबाट वि.सं. १९१६ सालमा भएको थियो। महाप्रभूले श्रावण शुक्ल पक्षमा जन्म लिए पनि तिथि अज्ञात छ। बाल्यकालदेखि नै उनको व्यवहार असामान्य थियो। आमाको दूधसमेत यदाकदा मात्रै खान्थे। सात महिनादेखि बामे सर्न थालेलगत्तै उनी एकाएक घरबाट हराउन र केही समयपछि आफैं प्रकट हुन थाले। उनी एकान्तमै रमाउँथे। गाउँघरका समान उमेरका बालबालिकासँग कुनै चासो र लगाव थिएन।
महाप्रभूको लिलाको अनुमान कसले गर्न सक्थ्यो र? चार वर्ष पुग्दा उनको शरीरमा कुष्ठरोगको लक्षण देखा पर्यो। केही समयपछि नै प्रभूका गोडाका औंला गल्न थाले। यस्तो अवस्था देखेपछि छिमेकीले छिछि दुरदुर गर्न थाले। महाप्रभूको घरमा छिमेकीको आवतजावत बन्द भयो। परिवार समाजबाट बहिष्कृतझैं भयो। प्रभूलाई परिवारले आफूसँगै राख्न नसक्ने अवस्था सिर्जना भयो। यस्तो अवस्थामा आमाले प्रभूलाई स्नेहपूर्वक घरनगिचैको सानो ओढारमा राखी हेरचाह गर्न थालिन्। ओढारको एकान्त प्रभूलाई ‘के खोज्छस् कानो आँखा’ भनेझैं भयो। त्यही ओढार प्रभूको साधनास्थल बन्यो। त्यही स्थानमा उनले दैवी शक्ति र विभिन्न सिद्धि प्राप्त गरे।
प्रभू ओढारमा बसेको दुई वर्ष बितिसकेको थियो। ओढारनजिकै गौबाटो थियो। त्यही बाटो भएर गाई र ग्वालाहरू ओहोरदोहोर गर्थे। एक दिन गाई चराउने ग्वालालाई प्रभूले भने, ‘आज त्यो पल्लो वनमा गाईवस्तु केही नलैजाऊ, मध्याह्नमा ठूलो पहिरो जानेछ, नोक्सान हुनेछ।’ एक कुष्ठरोगी बालकको कुरा कसले पत्याउने? सबैले हाँसेर उडाए। गोठालाहरूले त्यही वनमा गाईवस्तु चराउन लगे। केही समयपछि अकस्मात वनमा ठूलो पहिरो गयो र गाईलगायत केही गोठालाको समेत मृत्यु भयो। ठूलो हल्लीखल्ली भयो। बचेका गोठालाले घर पुगेर कुष्ठरोगी बालकले वनमा नजान सुझाएको बताए। यस्तो सुनेपछि गाउँलेमा ठूलो तरंग आयो। गाउँलेको समूह ती बालकलाई भेट्न गुफातिर लाग्यो तर गुफामा उनी भेटिएनन्। गाउँलेले धेरै खोजतलास गर्दा केही पत्ता लगाउन सकेनन्। त्यही दिनदेखि गाउँलेले बालकलाई अलौकिक व्यक्तिका रूपमा विश्वास गर्न थाले र ईश्वरीय नामले विभूषित गरे। प्रभू झन्डै तीन कोस दुरीमा रहेको ओढारमा गई तपस्या गरिरहनुभएको पछिमात्र पत्ता लाग्यो।
बालकरूपी महाप्रभू अलप भएको लामो समय भइसकेको थियो। गाउँलेको स्मृतिबाट प्रभूको छवि हराइसकेको थियो। अलप भएको १२ वर्षपछि प्रभू अर्का महात्मा कपिल गिरीसँग एक्कासी देखा परे। अचम्म! उनको शरीरमा कुष्ठरोगको कुनै संकेतसम्म बाँकी थिएन। त्यसपछि उनी आमाको समिपमै एक चौरमा झुपडी बनाई बसे र आमाको सेवा गर्न थाले। प्रभूले त्यहाँ एउटा सुन्दर बगैचासमेत स्थापना गरेका थिए जहाँ थरिथरि जातका फलफूल थिए। एक दिन प्रभू आफ्ना गुरुभाइसँग तपस्या गरी बसिरहेकै बेला अस्वभाविक घटना भयो। एउटा मूर्ख रिसले चुर भई प्रभूको बगैचा काटीफाँडी गाईवस्तु हाली ध्वस्त बनाइदियो। यस घटनालाई ईश्वरको इच्छा बुझी प्रभूले तत्क्षण रुन्ती छाडे। रोल्पाअन्तर्गतकै सखी गाविसको गढीलेक गए।
गढीलेकमा अर्का पूज्यगुरु बालतपस्वी रघुनाथ गिरी पहिलेदेखि नै बसेका थिए। रोल्पाकै खुङ्ग्रीमा जन्मेका बालतपस्वी गिरीले माण्डवी (माडी), स्वर्णावती (लुङ्ग्री) र घोराखोलाको त्रिवेणी तटवर्ती स्थान खुङ्ग्री गाविस अन्तर्गतको चतुर्भुजमा साधना गरी सिद्धि प्राप्त गरेका थिए। त्यस ठाउँमा खुङ्ग्रीकै सेनवंशी राजाबाट निर्मित झिङ्गटी छाना भएका तीन मन्दिर र एक धर्मशाला थिए जसलाई १९९० सालको महाभूकम्पले ध्वस्त पार्यो।
रघुनाथ गिरी भने उक्त भूकम्पभन्दा ४० वर्षअघि नै अर्थात सम्वत १९५० मा नै चतुर्भुज छाडी गढीलेक गएका थिए। गढीलेकमै स्वर्गद्वारी प्रभूले रघुनाथ गिरीलाई गुरु थापी दीक्षा लिएको भनाइ छ। रघुनाथ गिरीको बसाइकै क्रममा एक दिन महाप्रभूलाई प्युठानमा पर्ने स्वर्गद्वारी लेक परापूर्वक कालमा पूण्यभूमि रहेको जानकारीसहित त्यहाँ जान र होमयज्ञ चलाई बस्न गुरुआज्ञा भयो। गुरुआज्ञा शिरोधार्य गर्दै महाप्रभू वि.सं. १९५१ सालको व्यास पूर्णिमामा दिनको तेस्रो प्रहरमा एउटी गाईमात्र लिएर स्वर्गद्वारी गए।
स्वर्गद्वारी लेकमा महाप्रभूको पहिलो भेट अनन्तराम भन्ने एक बालकसँग भयो। भेटका बखत बर्खे गोठाला कृष्णलालको छोरा अनन्तराम जंगली जनावर तर्साउन टिन ठटाइरहेका थिए। उनलाई महाप्रभूबाट तेरा बाबा खोई भनी सोधनी भयो। बालकले उत्तरमा भैसी ग्वाला भने। केही बेरमै कृष्णलाल गाईभैंसी लिएर गोठमा आइपुगे। महाप्रभूलाई कृष्णले दुधदहीले सत्कार गरे। प्रभूबाट आज्ञा भयो, ‘बाबु, तिम्रो गोठको स्थानमा, हामीलाई यज्ञशाला हवनकुण्ड बनाई यज्ञ गर्ने इच्छा छ। तिमीले यज्ञको रेखदेख, सुरक्षा हुने गरी तल छेडामा गोठ सार।’ प्रभूको यस्तो कुरा सुनेपछि धार्मिक प्रकृतिका कृष्णले आज्ञा मानी गोठ सारे। कृष्णले गोठ सारेको स्थान अहिले भैंसेखाडाका नामले चिनिन्छ।
घनघोर जंगल भएको स्वर्गद्वारीको लेकमा अविछिन्न यज्ञको विजारोपण गर्न प्रभूले बालविद्वान ब्राह्मणको खोजी गर्न थाले। खोजीकै क्रममा गुरुभाइ रुकुम मुसीकोट जन्मेका कपिल गिरीले शुद्ध ब्राह्मणका रूपमा टीकाराम गौतमको नाम प्रस्ताव गरे। उनले बालब्रह्मचारी टीकाराम गौतमको विवरणसमेत दिए। सम्वत् १९२९ मा रुकुम जिल्लाको रुकुमकोटमा जन्मेका टीकाराम गौतमको जीवन पनि अलौकिक थियो। ५ वर्षको उमेरमा एकाएक अलप भएका टिकाराम १२ वर्षपछि सोही ठाउँमा पुनः प्रकट भए। उनलाई न जाडो, गर्मी, भोक, प्यासको कुनै प्रभाव पर्थ्यो, न भेल, पहिरो, आँधीहुरीले नै रोक्न-छेक्न सक्थ्यो। उनी कहिले हिमालय सिद्ध शंकरका साथ रम्थे त, कहिले मशानघाटमा मशानादिसाथ खेल्थे।
कपिल बाबाबाट प्रभूले बालब्रह्मचारी ब्राह्मण टिकाराम गौतमको जानकारी पाएपछि प्रभूबाट उनलाई स्वर्गद्वारी ल्याउन आज्ञा भयो। आज्ञानुसार ब्राह्मणलाई निमन्त्रणा गर्न कपिल बाबा आफंै गई निम्तो दिई स्वर्गद्वारी ल्याए।
बालब्रह्मचारी टिकाराम र बालतपस्वी १०८ महाप्रभू वक्ताकर्ता जस्ता भई वि.सं. १९५२ साल वैशाख बौद्ध पूर्णिमादेखि होमयज्ञ सुरु गरे। यस क्रममा हवन कुण्डमा वैदिक विधि अनुसार समिधा चाँजी, सात दिन-सात रातसम्म नखाई-नसुती अविछिन्न वेद मन्त्रोच्चारण गर्दा समिधामा अग्नि उत्पन्न भयो। र, होमादि यज्ञ चल्यो। उक्त यज्ञको अग्नि अहिले पनि छँदैछ।
बाल ब्रह्मचारी टिकाराम अलौकिक सूक्ष्म शरीरधारी, वेदादिभ्यासी हुँदा दीर्घ यज्ञ सञ्चालक भएनन्। त्यसैले पूर्वतिरका अधिकारी विद्वान ब्राह्मण झिकाई यज्ञकर्ता खजाञ्ची बनाइयो अनि एक महन्तलाई निमित्त राखी महाप्रभूद्वारा नै यज्ञ सञ्चालन भयो। अखण्ड यज्ञमा दैनिक प्रसादिमा धेरै गौदुग्धको आवश्यक पर्ने हुँदा महाप्रभूलाई गाईपालनको इच्छा भयो। प्रभूले गाईखोजीमा गुरुभाइ कपिल गिरी बाबालाई पठाए। बाबा भारत लखनउबाट रक्तवर्णकी पद्मिनी नामकी गाई ल्याई स्वर्गद्वारी आए। ती गाईले १७ बेत दिइन्। उनको सन्तान फैलियो। गाईको वृद्धि हुँदा दूध, घ्यू, चरुको हवन, यज्ञ प्रसादी, अतिथि सत्कार, दर्शक-कार्यकर्ता आदिको भोजनादिका लागि कुनै समस्या भएन।
गाईलाई विभिन्न गौशालामा राखिएको थियो। गौशालामध्ये श्रीय गोठ, लाईना, बकेर, ठाटा, वृद्धा, बसाहा, नाठा प्रसिद्ध थिए। भैंसीगोठ धरमपानीमा थिए। यस्तै गौचरन भुपुले, ओख्रेनी, दुम्की, झरी लगायत थिए। प्रभू प्रत्येक गोठमा पालैपालो गरी ग्वाला जान्थे। एकदिन प्रभू ग्वाला गएका बेला एउटा बसाहाले उनलाई सिङले उचालेर पछार्यो। प्रभूलाई घाउचोट पनि लाग्यो। प्रभूको यस्तो अवस्था देखेपछि सँगै रहेको गोठालालाई निकै रिस उठ्यो। उसले बसाहालाई पिट्न लाग्यो। प्रभूले बसाहालाई पिट्न दिएनन्। उनले भने, ‘मैले अघिल्लो जन्ममा खुब पिटेको थिएँ, त्यही बदला लिएको हो।’ महाप्रभू देवरूपी महापुरुष थिए। दयाकारी र क्षमाकारी थिए।
प्रभूका धेरै आर्श्चयजनक लिला थिए। उनको छायाँ कहिले पनि पर्दैनथ्यो, चाहे जतिसुकै चर्को घाम लागेको किन नहोस्। त्यसैगरी प्रभूको जति फोटो खिचे पनि धुलाउँदा केही पनि आउँदैनथ्यो। प्रभू आफ्नो कुटिमा काठको फलियामा मात्रै ध्यान गर्थे। उनी सुतेको, नुहाएको, खाएको थाहा हुँदैनथ्यो। त्यसैगरी प्रभू अविछिन्न यज्ञको पुष्पाञ्जलिमा जहाँबाट भए पनि उपस्थित हुन्थे। उनले घमण्डी धनीमान्छेको सेखी झार्न त्यस्ता धनीलाई साथ लिई वनमा गई रुख हल्लाएर सुनका असर्फीको वर्षा गराइदिन्थे। अनि सूर्यग्रहणका बेला माण्डवी, स्वर्णावती र घोराखोलाको संगमस्थल चतुर्भुज नुहाउन जान्थे। सामान्य व्यक्तिलाई चतुर्भुजबाट स्वर्गद्वारी पुग्न झन्डै छ घण्टा लाग्छ। प्रभूका यस्ता लिला अनेक छन्।
प्रभूले १९९७ साल फागुन महिनामा भौतिक शरीर त्यागे। जीवनकालमा प्रभूले जीवनचरित्रको वर्णन कहिँ पनि गरेनन्। म प्रभूका समिपमा बसेको हुँदा प्रभूलाई इच्छा लागेको बेलामा केही संक्षेपमा सुनाउँथे। यो लेखको आधार महाप्रभूका तिनै वाणी हुन्। त्यसबाहेक आफूले जानीसुनी आएका सन्दर्भसमेत जोडिएको छ।