लेखक : नबराज पोख्रेल एन आर एन ए रोमानिया संस्थापक अध्यक्ष
चौतारी भाइबर ग्रुप संयोजक
नमस्कार। आजका चौतारीका अतिथिले चार वर्षमा एक चोटि आफ्नो जन्मदिन मनाउॅछन किनकी उनको जन्म फेब्रुअरी २९ तारिखमा भएको थियो। नेपालको दुर्गम गाउँ स्युजा, दाङ जिल्लामा पर्दछ। त्यहाँ जन्मिए, सुनपुरमा हुर्किए।
दुई बर्ष अघिको कुरा हो – Skype मा मलाई सम्पर्क गर्दै उनले भने – “ नवराज सर, तपाइको वेभ साईट नेपाल रोमानिया डट कममा कृपया मेरो एक पटकको नेपाली सधैको नेपाली भन्ने गीतलाई राखी दिन मिल्छ होला ?” त्यतिबेला मैले केहि सोचिन, हुन्छ भनेर सोहि गरें। अहिले सोच्छु, सर भन्ने शब्द त मलाई होईन, मैले उनलाई उनलाई भन्न सुहाउँदो छ।
उनका बारेमा लेख्दा आफ्नो जिउ नै सिरिङ्ग भयो। अरूलाई पढाई कमाएको पैसाले आफूले पढे। कति पढे त? १०-१२ क्लास ? होइन, एमए गरे। के बिषयमा? फेरि मेरो जीउ सिरिङ्ग भयो – अंग्रेजी साहित्यमा। हो, त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा उनले एम ए गरेका छन्।
आज, पोल्याण्डलाई आफ्नो कर्मभूमि बनाएका यी नेपाली हुन, मित्रलाल पार्दे। पानी अभियन्ता, त्रिशुली सुरक्षा अभियानका अभियन्ता; ईनास ग्लोबलका उपाध्यक्ष; एनआरएनए पोल्याण्डका पूर्ब उपाध्यक्ष, संस्थापक महासचिव एन आर एन ए पोल्यान्डका निवर्तमान वरिष्ठ उपाध्यक्ष हाल सल्लाहकार नेपाली युवाहरुबीच परिचित नाम हो।
युरोपमा २००७ मा पढाइकै सिल्सिलामा आए। एक वर्ष पोल्यान्डमा काम गर्न नपाउदा सारै दु:ख पाएको कुराहरू सुन्दा मेरा आखाँ आशुले भरिए। सारै गाह्रो भएपछि पार्दे बिदाको समयमा डेन्मार्क गए, त्यहा पनि काम पाउन सकेनन्। अनि बाटोमा फालिएका बियरका बोतलहरु टिपेर पसलमा गई बेच्ने र त्यो पैसाले कोठा भाडा तिर्न र खाना पु-याएको तितो अनुभब उनमा छ।
बिगत ९ बर्षदेखि पोल्यान्डको स्फिङ्स फूड कम्पनीमा काम गरे। अहिले उनले एउटा सानो आफ्नै कम्पनी खोलेका छन्। युरोपमा पढ्न आएको बेला पढ्नलाई दुई लाख पैसा चाहिने भो, घरबाट पैसा माग्ने स्थितिपनि थिएन। काम नपाइने भएकाले धेरै दु:ख गरे। युरोपमा पार्देका कोही नातेदार थिएनन्। युरोपको सर्टिफिकेटभन्दा त्रिभुवन विश्वविद्यालयको एम ए को सर्टिफिकेट पेश गर्छु भन्दै उनले काम खोजे। कसैसँग मेरो पीडा देखाउन चाहेनन्। बरु स्वाभिमानी भइ बाच्ने भनेर होटेलहरुमा भाडा पनि माजे। कहिल्यै पैसा कमाएर घर घडेरी जोड्ने सपना राखेनन्। पार्देको एक मात्र सपना हो – सामाजिक अभियान ।
गाउँमा पानी नभएको, त्यहाका बासिन्दाहरु सधै ‘पानी पानी’ भनेर तड्पिएको देख्दा केही गर्न पाए हुन्थ्यो भन्ने उनलाई लाग्थ्यो। गाउँको १ किलोमिटर पूर्व रामपुरमा पानी प्रशस्त छ, तर उनको गाँऊ सुख्खा, सधै सुख्खा। कुनै महान काम गर्नलाई ठूलै मान्छे मात्र लाग्नु पर्ने भन्ने छैन भनि मित्रलाल पार्देले विदेशमा बस्ने साधारण नेपालीले पनि विशेष योगदान दिन सक्छन भन्ने उदाहरण देखाउन गाउँमा पानी पुगोस् भन्ने भावना जगाए।
उनको भनाई छ – सरकार भनेको टाठाबाठाहरुको समूह हो,त्यहाँ धेरै चाप्लुसी गर्नुपर्छ, धेरै नमस्ते गर्नुपर्छ अनि आश्वासन त पाइन्छ, तर काम त हुँदैन। बिकास निर्माणको लागि सधै अरुको मुख ताकिरहनु भन्दा हामी शुरु गरौं, बरु हामीले शुरु गरेको अभियानमा सरकार मिसिनेछ। आशा छ, सरकारले यो अभियानको आवाज सुन्नेछ। सुनेन भने पनि मलाई कसैलाई गाली गर्नु छैन। काम सफल पार्नुछ किनकि गाली गरेर देश बन्दैन। यो एउटा नमूना बन्नेछ कि विदेश आएका साधारण मान्छेले पनि समाजमा परिवर्तन ल्याउन सक्नेछन्।
पैसा भएर होइन उनले बैंकबाट ऋण लिएर यो अभियान शुरु गरे। लामो समयसम्म काम गर्ने मौका मिलेन, परिवारमा बिरामी भएर महिना दिन अस्पताल भर्ना हुनुपर्यो। विदेशको ठाँऊ, उनले हार मानेनन्, समाजको लागि केहि गर्नुपर्छ भनेर जन्म दिनको अवसर पारेर यो अभियान शुरु गरेका गरे।
मित्रलाल विश्वास राख्छन – दाताहरु सबै सार्वजनिक भैरहेका छन। प्रतिवद्धता धेरै आइरहेका छन्। बैकमा प्राप्त भएको रकम सार्वजनिक छ। यस कार्यको लागि हरेक ठाउबाट सदभाव, प्रेरणा आइरहेको छ। घर परिवार सबैबाट साथ छ।
महेन्द्र बहुमुखी क्याम्पसमा हुदा साहित्यिक भित्ते पत्रिका ‘प्रकृति’को सम्पादक थिए। ‘नवयुग नाट्य सांस्कृतिक समूह दाङ’को संस्थापक सदस्य हुन। बिभिन्न ठाउंहरुमा उनका नाटक प्रदर्शन गरिएको छ।
२०५७ मा मित्रलाल पार्देका ‘शान्तिको खोजी‘ नाटक उत्कृष्ट भएर नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा र महेन्द्र नगरमा प्रदर्शन गरियो। दुई वटा उपन्यास प्रकाशित भए।१७ वर्षको उमेरमा ‘प्रेम भित्रको युद्ध’सानो लघु उपन्यास र २५ बर्षको उमेरमा ‘तड्पाइएका मनहरु’ प्रकाशित भयो। विभिन्न पत्रिकाहरुमा लेख, कविता,नाटक प्रकाशित छन्। राष्ट्रिय गीत “हिमाल पहाड तराइ, कोहि छैन पराइ” गीतको रचनाकार , एक पटकको नेपाली सधैको नेपाली एन आर एन गीतको रचनाकार र विश्वव्यापी संस्था ‘इनास’को संस्थापक ग्लोबल महासचिब, हाल उपाध्यक्ष एवं बिभिन्न संघ संस्थाको सल्लाहकार रहेका पार्दे इमान्दारिता, परिश्रम र सेवाको परिणाम समाजलाई बुझाउनु पर्ने आशा गर्दछन र भन्छन – “मानव सेवा गर्न जन्मिएका सहयोगी हातहरुले तिर्खाले छटपटाएकाहरुलाई शीतल जलले रमाउने अवसर जुटाइ दिनेछन।”
नेपाली युबा मित्रलाल पार्देलाई मेरो व्यक्तिगतरुपमा सफलताको हार्दिक शुभेच्छा सहित –
तपाईहरुकै –
नवराज पोखरेल
रोमानिया