बिक्रम भावना अक्षयकोषबाट सुनपुर विद्यालयका विद्यार्थी सम्मानित
दाङ । सुनपुर म विद्यालयमा हालै सम्पन्न वार्षिकोत्सव कार्यक्रममा पोल्यान्डमा बसोबास गर्ने मित्रलाल पार्देको पहलमा बिक्रम महर्जनद्दारा स्थापना गरिएको “बिक्रम भावना अक्षयकोष” अन्तर्गत विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको छ। शारीरिक तथा आर्थिक रूपमा बिपन्न तर जेहेन्दार विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको यस अक्षयकोषले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा नयाँ उत्साह र आत्मविश्वास थपेको छ।
पोल्यान्डमा बसोबास गर्ने बिक्रम महर्जन द्वारा स्थापित रु एक लाखको अक्षयकोष बाट हरेक वर्ष प्रदान गरिने बिक्रम भावना पुरस्कार यस वर्ष पनि विद्यालय व्यवस्थापन समितिको संयोजनमा वितरण गरिएको हो। विद्यालयका अनुसार, यस अक्षयकोषको ब्याज रकमबाट विद्यार्थीहरूलाई सम्मान गर्दै शिक्षा निरन्तरतामा सहयोग पुर्याइँदै आएको छ।
विद्यालय अभिलेखमा रहेका विवरणअनुसार, यस वर्ष दिनेश सुनार, आकाश केसी, बालक पुन, लक्ष्मी चौधरी र सुशिला चौधरी लाई बिक्रम भावना पुरस्कार बाट सम्मान गरिएको छ। पुरस्कार वितरण कार्यक्रममा विद्यालय परिवार, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूले प्रवासमा रहेर पनि मातृभूमिको शिक्षा क्षेत्रमा योगदान दिने व्यक्तिहरूको खुलेर प्रशंसा गरे। उनीहरूले यस्तो अक्षयकोषले केवल आर्थिक सहयोग मात्र नभई विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व र सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने बताए।

स्मरण रहोस्

यसै विद्यालयमा सन् २०११ (वि.सं. २०६८) मा पोल्यान्डमा बसोबास गर्ने मित्र लाल पार्दे ले आफ्नो वैवाहिक जीवनको सुरुआतलाई सामाजिक सेवासँग जोड्दै रु २०,००० को अक्षयकोष स्थापना गरेका थिए। विवाहको अवसरमा भोज–भतेर र तडकभडक नगरी विद्यालयलाई सहयोग गर्ने उक्त कदमले राष्ट्रियस्तरमै चर्चा पाएको थियो। सोही विवाह र सामाजिक योगदान सम्बन्धी कान्तिपुर नेपाल समाचार लगायत राष्ट्रिय पत्रिकामा प्रकाशित भई नेपाली समाजमा उदाहरणीय कार्यका रूपमा स्थापित भएको थियो।






