एनआरएनए एकता महाधिवेशन मार्चमा सदस्यता नवीकरण र मर्ज प्रक्रियामा निर्णय
गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता पश्चात् गठन भएको स्टेरिङ कमिटीको सातौँ बैठक सम्पन्न भएपछि १२ औँ महाधिवेशनको नयाँ मिति तय भएको छ। बैठकले फेब्रुअरीका लागि तय गरिएको महाधिवेशनलाई सारेर मार्च १४ देखि १६, २०२६ सम्म काठमाडौँस्थित होटल सोल्टीमा आयोजना गर्ने निर्णय गरेको हो।
सातौँ बैठक महासचिव गौरीराज जोशीको नेतृत्वमा सम्पन्न भएको थियो। बैठकले महाधिवेशनको मितिसँगै सदस्यता नवीकरण, मर्जर प्रक्रिया, र संघ व्यवस्थापनसँग सम्बन्धित अन्य महत्वपूर्ण निर्णयहरू पनि गरेको छ।
महाधिवेशन व्यवस्थापन र आयोजना
स्टेरिङ कमिटीले महाधिवेशन व्यवस्थापनको जिम्मेवारी पहिले नै टेन्डर प्रक्रियाबाट चयन भइसकेको ‘भोग एड एण्ड इभेन्ट म्यानेजमेन्ट’ कम्पनीलाई दिने निर्णय गरेको छ। नयाँ मितिका लागि होटल र इभेन्ट कम्पनीसँग सचिवालयमार्फत पुनः सम्झौता प्रक्रिया अघि बढाइनेछ।
सदस्यता नवीकरण र मर्ज प्रक्रिया
संघले नयाँ सदस्यता लिन चाहने वा छुटेका सदस्यहरूको आवेदन म्याद जनवरी २५, २०२६ सम्म विस्तार गरेको छ। यसैगरी, समानान्तर रूपमा रहेका एनसीसीहरूले अन्य पोर्टलमार्फत बनाएका सदस्य विवरण पनि सोही मितिभित्र बुझाइसक्नुपर्नेछ। यसको समन्वय महासचिव बी. आर. लामा र अध्यक्ष महेश कुमार श्रेष्ठले गर्नेछन्।
बैठकले मे २०२५ को एकता महाधिवेशनका सदस्य र नयाँ प्राप्त विवरणहरूलाई मर्ज गरी, डकुमेन्ट भेरिफिकेसनपछि जनवरी ३१ भित्र अन्तिम सदस्यता नामावली सार्वजनिक गर्ने योजना पनि बनाएको छ।
समानान्तर एनसीसी र एकता प्रयास
स्टेरिङ कमिटीले अझै पनि समानान्तर रूपमा रहेका एनसीसीहरूसँग सिधै संवाद गरी एकताको वातावरण निर्माण गर्ने निर्णय गरेको छ। संघले निर्वाचन प्रक्रियाका कानुनी जटिलता सुल्झाउन दुवै पक्षका कानुनी सल्लाहकारसहित परराष्ट्र मन्त्रालयसँग थप परामर्श गर्ने पनि जनाएको छ।
एनआरएनएको १२ औँ महाधिवेशन विश्वभरका गैरआवासीय नेपालीहरूलाई एकताबद्ध गर्ने, संघको नयाँ नेतृत्व चयन गर्ने, र सदस्यता व्यवस्थापनलाई सुदृढ बनाउने ऐतिहासिक कार्यक्रमको रूपमा रहेको छ।


