अमेरिकास्थित नेपाली दूतावासको आग्रह: अमेरिकामा रहेका नेपालीहरू सचेत रहन अनुरोध

अमेरिकास्थित नेपाली दूतावासको आग्रह: अमेरिकामा रहेका नेपालीहरू सचेत रहन अनुरोध

संयुक्त राज्य अमेरिकामा अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय, परिवार वा आफन्त भेटघाट लगायत विभिन्न उद्देश्यले रहनुभएका तथा भविष्यमा अमेरिका जान चाहने नेपाली नागरिकहरूलाई अमेरिकास्थित नेपाली दूतावासले विशेष रूपमा सचेत रहन आग्रह गरेको छ।

नेपाली दूतावासका अनुसार अमेरिकामा रहँदा कुनै विदेशी नागरिकले अवैधानिक तरिकाले बसोबास गर्ने, गलत सूचना वा विवरण पेश गर्ने, वा अमेरिकी सरकारले आफ्ना नागरिकहरूका लागि उपलब्ध गराउने सहुलियतपूर्ण स्वास्थ्य उपचार, आवास सुविधा, पारिवारिक सहायता, शैक्षिक सहायता जस्ता सरकारी सुविधा तथा सहयोगमा अनुचित रूपमा निर्भर हुने गरेको पाइएमा त्यस्ता व्यक्तिको भिसा स्टाटस वा ग्रिनकार्डमा प्रत्यक्ष असर पर्ने र आवश्यक परे रद्दसमेत हुन सक्ने अमेरिकी अधिकारीहरूबाट दूतावासले जानकारी प्राप्त गरेको छ।

दूतावासले पछिल्लो समय पर्यटक तथा भ्रमण भिसा (बी–१/बी–२) मा अमेरिका गएका केही नेपाली नागरिकहरू तोकिएको समयभन्दा बढी अमेरिका बस्ने (ओभरस्टे) तथा भिसाको उद्देश्यभन्दा फरक गतिविधि र रोजगारीमा संलग्न भएको घटनाहरू बढिरहेको जनाएको छ। यसै सन्दर्भमा सन् २०२४ मा अमेरिका पुगेका केही नेपाली नागरिकहरू अमेरिकी सरकारका सहुलियतपूर्ण सेवा तथा सहयोगमा अत्यधिक निर्भर भएको तथ्यांकसमेत अमेरिकी पक्षले सार्वजनिक गरेको दूतावासले जानकारी दिएको छ।

यही अवस्थालाई मध्यनजर गर्दै अमेरिकी सरकारले भिसा नीतिमा थप कडाइ गरेको छ। त्यसअनुसार बी–१ (व्यापार) तथा बी–२ (पर्यटन/भ्रमण) भिसामा अमेरिका जान चाहने आवेदकहरूका लागि २१ जनवरी २०२६ देखि लागू हुने गरी अमेरिकी डलर ५,००० देखि १५,००० सम्मको धरौटी (Visa Bond) राख्नुपर्ने व्यवस्था लागू गरिएको जानकारी अमेरिकी दूतावास, काठमांडूले समेत दिएको छ।

नेपाली दूतावासले यस्ता गतिविधिले नेपालप्रति अमेरिकी सरकारको समग्र भिसा नीतिमा नकारात्मक प्रभाव पर्न सक्ने, भविष्यमा अमेरिका जान चाहने नेपाली नागरिकहरूका लागि भिसा प्राप्ति झनै कठिन बन्ने तथा देशको अन्तर्राष्ट्रिय प्रतिष्ठामा गम्भीर असर पर्न सक्नेप्रति चिन्ता व्यक्त गरेको छ।

यसै कारण अमेरिकास्थित नेपाली दूतावासले अमेरिकामा रहेका तथा अमेरिका जान चाहने सम्पूर्ण नेपाली नागरिकलाई अमेरिकाको कानुन, भिसा नियम र शर्तको पूर्ण पालना गर्न, गलत सूचना वा कागजात पेश नगर्न, गैरकानूनी रूपमा कुनै पनि सरकारी सहुलियत वा सहयोगमा निर्भर नहुन तथा विशेषगरी बी–१/बी–२ भिसाको दुरुपयोग नगर्न हार्दिक अनुरोध गरेको छ।

दूतावासले समयमै सचेत भई नियमको पालना गरेमा व्यक्तिगत भविष्य सुरक्षित हुनुका साथै नेपाल र नेपालीको अन्तर्राष्ट्रिय छवि जोगिन मद्दत पुग्ने स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *